संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि पोखरामा ‘तायाःमचा नृत्य प्रतियोगिता’, ३५ समूहले प्रतिस्पर्धा गर्ने

पोखरा।
नेवाः संस्कृति र परम्पराको संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्ने तथा कलामार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखरामा जिल्ला स्तरीय ‘तायाःमचा नृत्य प्रतियोगिता-२०८२’ आयोजना हुने भएको छ। नेवाः खल कास्कीको आह्वान तथा शिशुवा नेवाः खलको स्थानीय आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा कास्की जिल्लाभरका ३५ वटा समूह (खलः) ले आफ्नो सांस्कृतिक प्रस्तुति दिनेछन्।
बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा “कला संस्कृतिको संरक्षण-भावी पुस्तालाई हस्तान्तरण” भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिइयो। नेवाः खल कास्कीका अध्यक्ष श्री अशोक पालिखेले विश्वव्यापीकरणले रैथाने संस्कृति, रीतिरिवाज र भेषभूषा ओझेलमा पर्दै गएको अवस्थामा यस्ता कार्यक्रमले मौलिक पहिचान जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो संस्कृति हेर्न र अध्ययन गर्नकै लागि बर्सेनि लाखौं पर्यटक आउँछन्। यही कला र संस्कृतिको माध्यमबाट देशको आर्थिक एवं पर्यटन प्रवर्द्धन गर्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौं।” कार्यक्रम सम्पन्न गर्न करिब २२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको र सो रकम पोखरा महानगरपालिका, वडा कार्यालय, प्रदेश सरकार, विभिन्न संघसंस्था तथा दाताहरूबाट जुटाइने अध्यक्ष पालिखेले जानकारी दिनुभयो।
यस्तै, कार्यक्रमका मूल संयोजक अर्जुन कुमार ताम्राकारले २१० वर्ष पुरानो इतिहास बोकेको गाईजात्रा पर्वलाई सामाजिक सद्भाव, माया र भाइचाराको सन्देश दिने सांस्कृतिक महोत्सवको रूपमा विकास गर्न लागिएको बताउनुभयो। उहाँका अनुसार, यो कार्यक्रमले नेवाः समुदायलाई मात्र नभई सबै जातजाति र धर्म-संस्कृतिका लागि साझा उत्सवको वातावरण बनाउँदै यसलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गर्न सहयोग पुग्नेछ।
आयोजकका अनुसार, प्रतियोगिता आगामी श्रावण ३१ गते शनिबार, कृष्ण जन्माष्टमीका दिन पोखरा-३०, शिशुवा बजारमा आयोजना हुनेछ। सो दिन बिहान ८:०० बजे कार्यक्रमको औपचारिक उद्घाटन गरिनेछ भने बिहान ९:०० बजेदेखि प्रतियोगिताका रोचक प्रतिस्पर्धा सुरु हुनेछन्। आयोजकले कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण कास्कीवासी आमाबुबा, दाजुभाइ, दिदीबहिनी, पत्रकार तथा कला-संस्कृतिप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई शोभा बढाइदिन हार्दिक अनुरोध गरेको छ।









पोखरामा अन्तर्राष्ट्रिय जुनियर टेनिसको रौनक: दोस्रो सर्किट सुरु, विदेशी खेलाडीको वर्चस्व
पोखरामा मानवअधिकार महाभेला सुरु
प्रतिनिधि सभाका लागि कास्की–२ मा कांग्रेसबाट प्रत्यक्षमा १३ र समानुपातिकमा ५ जनाको दाबी
लेकसिटी कलेजमा ‘कार्निभल’ को तयारी
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया