पश्चिमाञ्चल माविमा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

समाधान संवाददाता २०८२ साउन १७ गते १८:२५

पोखरा । पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि शनिबार स्वागत तथा अभिमुखीकरण आयोजना गरेको छ ।


विद्यालयमा कक्षा १२ का विद्यार्थीको संयोजनमा भएको कार्यक्रममा डा आरसी लामिछानेले विद्यार्थीका लागि उत्प्रेरणमूलक मन्तव्य राखे । विद्यार्थीलाई आत्मबल बलियो बनाएर अध्ययन गरेमा हरेक क्षेत्रमा सफल भइने लामिछानेले बताए ।

पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले आत्मविश्वासका साथ अघि बढेको खण्डमा हरेक क्षेत्रमा सफल भइने बताए । उनले विद्यार्थीका सपना पूरा गर्नका लागि विद्यालय सधैं लागिपर्ने बताए ।

Advertisement

विद्यालयका प्राचार्य सरोज कोइरालाले विद्यार्थीलाई सुझाउँदै उकालो लाग्दा नआत्तिन र ओरालो पाउँदा नदौड्न विद्यार्थीलाई सुझाव दिए । ‘विद्यार्थी सहज हुँदा दौड्ने र अप्ठेरो हुँदा आत्तिने गर्छन् । त्यसो गर्दा असफल हुन पनि सकिन्छ । त्यसैले आत्तिन र मात्तिनु हुँदैन,’ कोइरालाले भने, ‘हरेक कदमलाई सकारात्मक रुपमा लिने हो भने सफल भइन्छ ।’

विद्यालयका प्लस टु इन्चार्ज देव क्षेत्रीले विद्यार्थीका लागि कक्षा ११ र १२ पुलमात्र भएको बताए । उनले विद्यालय तहमा २ वर्षको अवधि रहँदा केही नयाँ सिकाई पक्का हुने बताए । ‘विद्यार्थी आफैंमा लगाव चाहिन्छ । हामीले त गाइडमात्र गर्ने हो । मेहनत विद्यार्थीले नै गर्नुपर्छ,’ क्षेत्रीले भने ।

Advertisement

कार्यक्रममा कलाकार चोलेन्द्र पौडेलले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । उनले विद्यार्थीलाई गीतमार्फत् नै अप्ठेरो परेको अवस्थमा भने धैर्य नगुमाउन र लगनशील बन्न सुझाए । त्यसबाहेक विद्यार्थीहरु पनि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम देखाए । पश्चिमाञ्चल माविमा विज्ञान, मानविकी, व्यवस्थापन, होटल व्यवस्थापन, कानुन विषय अध्यापन हुन्छ ।

तपाईको प्रतिक्रिया