जितु गुरुङको अध्यक्षतामा युवा उद्यमी महासंघ गण्डकी समिति गठन

समाधान संवाददाता २०८२ साउन १७ गते १८:५१

पोखरा।

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको गण्डकी प्रदेश समिति गठन भएको छ। पोखराको लेकसाइडस्थित वरपिपल रिसोर्टका सञ्चालक एवं उद्यमी जितु गुरुङको अध्यक्षतामा शनिबार १९ सदस्यीय प्रदेश समिति सर्वसम्मत रूपमा गठन गरिएको हो।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ति श्रेष्ठ, सचिवमा चिरञ्जीवी गौतम, सहसचिवमा राजकुमार सुनार, कोषाध्यक्षमा कोषराज पौडेल र सहकोषाध्यक्षमा रुद्र रेग्मी चयन भएका छन्। यसैगरी, टान गण्डकीका अध्यक्ष एवं कार्यक्रमका संयोजक कृष्णप्रसाद आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ। अध्यक्षमा निर्वाचित गुरुङले युवा उद्यमीहरूलाई संगठित गर्दै आफ्नो कार्यकाललाई सम्झनलायक बनाउने प्रतिबद्धता व्यक्त गरे।

Advertisement

समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनिर्वाचित समितिलाई बधाई दिँदै प्रदेश सरकार युवा उद्यमीहरूसँग सहकार्य गर्न तयार रहेको बताए। उनले प्रदेशमा छिट्टै पर्यटन र कृषिलाई लक्षित गरी लगानी सम्मेलन आयोजना गरिने जानकारी दिए।

मुख्यमन्त्री पाण्डेले प्रदेशको आर्थिक विकासका लागि केही महत्त्वपूर्ण कानुनी सुधार गर्न लागिएको खुलासा गरे। उनले बाँझो जमिनको सदुपयोग गर्दै गाँजा (भाङ) खेतीलाई व्यावसायिक रूपमा अघि बढाउन र स्थानीय मदिरालाई ब्रान्डिङ गर्न कानुनी मान्यता दिइने बताए। ‘गाँजाको औषधीय गुणलाई सदुपयोग गर्दै विदेश निर्यात गर्न सकिन्छ,’ उनले भने, ‘दुरुपयोग रोक्न कडा कानुनी व्यवस्था गरिनेछ।’

Advertisement

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सातै प्रदेशमा आकर्षक पर्यटकीय गन्तव्य विकास गरेर पर्यटकको बसाइ अवधि २० दिन पुर्‍याउन सकिने बताए। उनले आफ्नो लगानी रहेको कम्पनीबाट १० अर्ब लगानी भइसकेको र आवश्यक परेमा व्यवसाय प्रवर्द्धनका लागि थप लगानी गर्न तयार रहेको प्रतिबद्धता जनाए।

उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले नेपालमा ६ हजार ४६० वटा व्यवसाय वैदेशिक लगानीमा सञ्चालनमा रहेको र करिब ६ अर्ब लगानी भित्रिएको जानकारी दिए। उनले लगानी सहजीकरणका लागि आवश्यक कानुनी व्यवस्था गर्न सहयोग गर्ने बताए।

कार्यक्रमका संयोजक कृष्णप्रसाद आचार्यले सम्मेलनले नेपालमा रहेका सम्भावनाको उजागर गर्दै लगानी भित्र्याउन थप उत्साह प्रदान गरेको बताए। सनराइज बैंक र होप आईभीएफ लगायतका संस्थाले कार्यक्रममा सहकार्य गरेका थिए।

तपाईको प्रतिक्रिया