‘उद्योग, व्यवसाय प्रवद्र्धनविना देश उभो लाग्दैन’

समाधान संवाददाता २०८२ साउन १७ गते १९:२९

पोखरा ।
पोखरा चेम्बर अफ कमर्स कास्कीको छैटौं साधारण सभा शनिबार भएको छ । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष २०८२ (७५ वर्ष) को सन्दर्भमा पोखरा चेम्बरले दीघार्यु अस्पतालसँगको सहकार्यमा स्वास्थ्य शिविरसमेत गरेको छ ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले साधारणसभाको उद्घाटन गरे । मन्त्री बस्यालले चेम्बरका हीरक जयन्ती महोत्सवको लोगोसमेत अनावरण गरे । स्थापनाको ७५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बरले हीरक जयन्ती समारोह समिति गठन गरेर महोत्सवका गतिविधि अगाडि बढाएको छ । पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष उमराज बास्तोलाले ७५ वर्षे गौरवशाली यात्राको क्रममा उद्योग व्यवसायको प्रवद्र्वनको लागि चेम्बर मेला, फुटसल, उद्योगी व्यवसायीसँग अन्तर्क्रिया गर्ने जानकारी दिए ।
मन्त्री बस्यालले उद्योग व्यवसायको प्रवद्र्वन विना देश उभो लाग्न नसक्ने बताए । वर्तमान आर्थिक मन्दिको सामना गर्नको लागि उद्योगी, व्यवसायीलाई सहुलियत तथा ब्याज मिनाह गर्न सरकार तयार रहेको उनले उल्लेख गरे । ‘अहिलेको असहज परिवेश कसैको रहरले आएको होइन,’ मन्त्री बस्यालले भने, ‘असहज अवस्था पार लगाउन सरकार र निजी क्षेत्र लगायत सबैले सहकार्य गर्न आवश्यक छ ।’

उनले आयातलाई प्रतिस्थापन गर्न स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवद्र्धनका लागि प्रोत्साहन गरेको जानकारी दिए । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले खाली गाउँ र बाँझो जमिनमा साना तथा मझौला उद्योग नखोले अर्थतन्त्रमा सुधार गर्न नसकिने तर्क गरे । उनले तीन तहको सरकार मिलेर उद्योग व्यवसायको प्रवद्र्वन गर्नुपर्ने बताए ।

Advertisement

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उद्योगमैत्री वातावरण निर्माण गर्न र निजी क्षेत्रलाई शान्ति सुरक्षा प्रदान गर्न स्थानीय प्रशासन तयार रहेको बताइन् । श्रम र सीप तथा स्थानीय कच्चा पदार्थको प्रयोग गरी वस्तु उत्पादनमा ध्यान दिन आग्रह गर्दै उनले प्रतिस्पर्धी क्षमताको विकास गरी सबै जिल्लाको लागि नमुना काम गर्न सुझाव दिइन् ।

गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले उद्योग, व्यवसायको प्रवद्र्वनको लागि ठोस नीति निर्माण गर्न आवश्यक रहेको बताए । राज्यका निकायले उद्योग व्यवसायको प्रवद्र्वनमा ध्यान दिन पर्ने चर्चा गर्दै उनले नीति तथा कानुन निर्माणमा निजी क्षेत्रले सहजीकरण गर्ने जानकारी दिए ।

Advertisement

कार्यक्रममा युवा उद्यमी शक्ति पाण्डे, संस्थाका निवर्तमान अध्यक्ष यमनाथ पौडेल, कार्य सम्पादनमा उत्कृष्ट पदाधिकारी सहकोषाध्यक्ष बोधराज सुवेदी, कार्यसमिति सदस्य मध्ये श्रीराम गौतम, संस्थाको आर्थिक उन्नयनमा योगदान गर्ने परमेश्वर दवाडी, सबै समिति, उपसमिति र विभाग मध्येबाट महिला चेम्बर, इकाईको तर्फबाट फेवा इकाइलाई सम्मान गरिएको छ । आजिवन, साधारण, कर्पोरेट, औद्योगिक सदस्य मध्येबाट नानुमाया तिमिल्सिना र दीर्घायु अस्पतालका कार्यकारी निर्देशक राधाकृष्ण पोखरेललाई सम्मान गरिएको संस्थाका महासचिव गोकर्ण अधिकारीले जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेश उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष सञ्जीव कोइराला, पोखरा महानगरपालिका आर्थिक महाशाखाका निर्देशक मनोहर कडरीया, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, स्याङजा चेम्बर अफ कमर्सका अध्यक्ष लोकनाथ रेग्मी, निवर्तमान अध्यक्ष, पौडेल वरिष्ठ उपाध्यक्ष प्रेमप्रसाद सुवेदी, सचिव सरिता सुवेदी, महिला उद्यमी मञ्च कास्कीका अध्यक्ष सरु बराल लगायतले आर्थिक क्षेत्रको समस्याको बारेका बोलेका थिए ।

साधारण सभाले महासचिव अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२को वार्षिक प्रतिवेदन र कोषाध्यक्ष जीवन ढुंगानाकोतर्फबाट सहकोषाध्यक्ष सुवेदीले पेश गरेको आर्थिक प्रतिवेदन सुधार सहित पारित गरेको छ ।

तपाईको प्रतिक्रिया