आर यू फेस्टः फोहोरलाई ‘फ्युचर’ बनाउने दृश्य–प्रदर्शन

समाधान संवाददाता २०८२ साउन १७ गते १९:३९

पोखरा ।

पोखरामा २ दिनसम्म सञ्चालित ‘आरयू फेस्ट’ शनिबार सम्पन्न भएको छ । फोहोर व्यवस्थापनलाई सिर्जनशीलता, नवप्रवर्तन, हरित रोजगारी र उद्यमशीलताको माध्यम बनाउँदै सञ्चालन गरिएको फेस्टले फोहोरलाई अवसरमा बदल्न सकिने सन्देश मात्र दिएको छैन, यसले दिगो विकास र चक्रीय अर्थतन्त्रतर्फ लाग्ने प्रयासलाई थप गहिरो बनाएको छ ।
पोखरा वडा नम्बर ६ बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा आयोजना गरिएको यो फेस्ट कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा सञ्चालन भएको ‘हरित रोजगारी सिर्जना परियोजना’ अन्तर्गत आयोजना गरिएको हो ।

शनिबार संघीय सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने फेस्टमा हेर्न आएकी थिइन् । फेस्टमा कागज, बोतल, लत्ताकपडा, टायर र अन्य अवशेष फोहोरबाट बनेका नयाँ उत्पादनहरू प्रदर्शन गरिएको थियो । दर्जनभन्दा बढी कम्पनीहरूले आफ्नो सिर्जना पस्केका थिए—कसैले पुराना जिन्स पाइन्टबाट झोला बनाएका थिए, कसैले प्लास्टिकबाट वाल डेकोरेशन, गमला, टेबलजस्ता सामग्री बनाएका थिए ।

Advertisement

फेस्टमा ‘रिसाइक्लिङ’ (पुनःप्रयोग) र ‘अपसाइक्लिङ’ (नवप्रयोग) गरेर बनाइएका सामग्रीहरूको प्रदर्शनी मात्रै नभई ती वस्तु कसरी बनाइन्छ भन्ने प्रक्रियासमेत प्रत्यक्ष रूपमा देखाइएको थियो । केही स्टलहरूमा दर्शकहरूले आफैंले पुराना कपडाबाट नयाँ झोला बनाउने कार्यमा सहभागिता जनाउन पाए ।

फेस्ट स्थलमै प्लास्टिक बोतलबाट बनाइएको ठूलो माछाको आकृति प्रमुख आकर्षण बन्यो । उक्त कलात्मक संरचनासँग फोटो खिचाउनेको भीड दिनभरि लागिरह्यो ।

Advertisement

फेस्टको अर्को विशेषता विषयगत छलफल र अन्तरक्रियात्मक कार्यक्रमहरू रहे । फोहोरको वैज्ञानिक व्यवस्थापन, प्लास्टिक टु रोड प्रविधि, जलवायु परिवर्तनमा फोहोरको असर, विस्तारित उत्पादक जिम्मेवारी हरित उद्यमशीलता, बजार पहुँच, र दिगो पर्यटन विकासमा फोहोरको भूमिका जस्ता विषयमा विज्ञ, उद्यमी, युवा र नीति निर्माता बीच गहिरो संवाद भयो । परियोजनाका फोकल पर्सन नेत्रप्रसाद तिमिल्सिनाका अनुसार कार्यक्रममा दक्षिण कोरियाको चक्रिय अर्थतन्त्रमा आधारित सफल अभ्यास र नेपालको मौलिक सीपबीच अनुभव आदानप्रदान भयो ‘नेपालको सन्दर्भमा पनि सस्तो स्रोत, सिपयुक्त जनशक्ति र स्थानीय ज्ञानको संयोजन गरेर हरित रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण यो फेस्टले दिएको छ,’ उनले भने ।

फेस्टले उद्योगी तथा कम्पनी सञ्चालकहरूसँग गरिएका छलफलहरूमा कुनै पनि वस्तुको खोल, प्याकेजिङ वा प्रयोगपछि बाँकी रहने फोहोरको व्यवस्थापनको जिम्मेवारी समेत उत्पादनकर्ता वा कम्पनीले लिनुपर्ने सैद्धान्तिक समझदारीबारे चर्चा गरिएको थियो ।
फेस्टको समापन समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फोहोरलाई समस्या होइन, सम्भावना र अवसरका रूपमा हेर्नुपर्ने बताए । ‘फोहोरलाई मोहरमा रूपान्तरण गर्न सकिन्छ भन्ने यो फेस्टले पुष्टि गरिदिएको छ’, उनले भने, ‘युवाहरूलाई सिर्जनशील उद्यममा प्रवेश गराउने साझा मञ्चका रूपमा यो कार्यक्रम ऐतिहासिक बन्यो ।’
मेयर आचार्यका अनुसार हरित रोजगारी सिर्जना परियोजनामार्फत करिब १ अर्ब ४४ करोड रुपैयाँको लगानीमा पोखरामा ‘जिभिजेड सेन्टर’ स्थापना गरिएको छ। यस केन्द्रबाट फोहोरको वैज्ञानिक प्रशोधन र वस्तु उत्पादन भइरहेको छ । यस परियोजना ५ वर्षसम्म कोइका र युएनडिपीले नै सञ्चालन गर्नेछ भने त्यसपछि पोखरा महानगरलाई हस्तान्तरण गर्ने मेयर आचार्यले जानकारी दिए ।

परियोजनामा हालसम्म ३ हजार ३ सयभन्दा बढी व्यक्ति संलग्न भइसकेका छन् । महानगरका ३३ वटै वडामा १३६ वटा सामुदायिक समूहहरू गठन गरिएका छन्, जसमा विशेष गरी सिमान्तकृत समुदायलाई प्राथमिकतामा राखिएको छ । आगामी दुई वर्षभित्रमा ३ हजार जनालाई स्थायी रोजगारी दिने लक्ष्य रहेको मेयर आचार्यले जानकारी दिए । आरयू फेस्ट केवल एक प्रदर्शनी होइन, यसले जलवायु संकट, वातावरण संरक्षण, महिला र युवाको सहभागिता, सामाजिक समावेशिता, नीति संवाद र बजार विस्तारजस्ता बहुआयामिक मुद्धालाई समाधान गर्ने जनाइएको छ ।

फेस्टमा सार्वजनिक कला प्रदर्शनी, सहभागीमूलक गतिविधिहरू, विशेष संवाद सत्रहरू तथा दक्षिण कोरियाको सफल अभ्यासमाथि प्रस्तुतिकरणहरू गरिएको थियो ।

तपाईको प्रतिक्रिया