पोखरामा जन्मे हुर्केको तायाः मचाः

धनबहादुर गुरुङ २०८२ साउन १८ गते ८:१३

पोखरा ।


पोखरामा नेवारहरुको बस्ती सुरु भएदेखि नै गाइजात्राको सुरुआत भयो । नेवार समुदायले गाईजात्रालाई ‘साँपारु’ पनि भन्छन् । नेवारी भाषामा ‘साँ’ को अर्थ ‘गाई’ र ‘पारु’ को अर्थ ‘परेवा तिथि’ हो जुन पूर्णिमा भोलिपल्ट हुन्छ । हरेक वर्ष जनैपूर्णिमा भोलिपल्ट देखाइने साँपारुलाई मृतकको प्रतीकात्मक यात्राका रुपमा लिइन्छ ।

उहिल्यैदेखि भक्तपुरका नेवाःहरूले साँपारू (गाईजात्रा) का साथमा मनोरञ्जनका लागि घिन्ता घिसी, माक प्याख, हनुमान नाच प्रदर्शन गर्दथे । त्यसैको सिको गर्दै पोखरामा १९४० को दशकबाट तायाः मचाः समावेश गरिएको पोखराको नेवाः समुदायको इतिहासका जानकार सुनिल उलकले बताए । ‘त्यसबेलाका नामुद संगीतकार रत्नकुमार बिजुक्छेले एउटा नृत्य नाटक प्रदर्शन गरेका थिए रे,’ उनले सुनाए, ‘दही लीला नाम दिइएको नाटकमा चार गोपीनीहरु दहीले भरिएको घडा लिएर नाच्दै कृष्णलाई जिस्काउँथे । कृष्ण सो दही खोसेर खान खोज्दथ्यो । यसरी गोपिनीहरू र कृष्णबीचको यो रमाइलो नृत्य कृष्ण जन्माष्टमीको केही दिन अगाडि हुने हुँदा यसको आकर्षण अझ बढी हुन्थ्यो ।’

Advertisement

उनका अनुसार त्यो बेला नेवाःहरुले आफ्नो व्यापार व्यावसाय वृद्धिका लागि पनि विभिन्न जात्रा गरिरहन्थे । यस नाच मन पराएपछि गाउँबाट नाच हेर्न आउनेको संख्या अचानक बढ्दा अप्रत्यक्ष रूपमा ब्यापार पनि बढ्न थालेपछि यो नाच बर्सेनि देखाउन थालियो । ‘रत्नकुमार बिजुक्छेपछि शुकराम बैद्य (पदम बैद्यका बाबु) ले यस नाचलाई अझ सुधार गर्दै तेर्सापट्टीबाट पनि देखाउन थाले । बिस्तारै दही लीलाबाट दहीको घडा हटाइयो तर नाम भने दही लीला नै रह्यो । पछि यो नाच अन्यले पनि अनुशरण गर्न थाले,’ उलकले भने । पछि दहि लिलालाई नै ताहः मचाः हुदैं तायाः मचाः भन्न थालिएको उनले जानकारी दिए ।

यसरी निस्कने नाच भीमसेन मन्दिरको नासःद्यः को दर्शन गराउन लग्ने गरिएको उनले सम्झिए । यहीक्रममा मोहरिया टोलबाट नाचमा केही परिवर्तन भयो । नाचमा नाच्ने गोपिनीलाई पखेटा तथा शिरमा ताज लगाइदिएर परी बनाइयो । यसरी पोखरामा साँपारू (गाईजात्रा) का साथमा तायाः मचाःले पनि स्थान पाएको उलक सुनाउँछन् । नितान्त मनोरञ्जनसँग जोडिएको ताया मचाःसँग कुनै धार्मिक तथा सांस्कृतिक पक्ष नरहेको उनको भनाइ छ । तर, नेवाः समुदायले सुरुवात गरेकाले यसलाई नेवाःहरुकै संस्कृतिका रुपमा लिइएको उनले बताए ।

Advertisement

‘साँपारु’ को अवसरमा देखाइने तायाः मचाः २०२५ सालदेखि सामूहिक रुपमा देखाउन थालिएको उलकले बताए । उनका अनुसार त्यस वर्ष रानी रत्नको जन्म दिन र कन्या स्कुलको वार्षिकोत्सव मनाउने क्रममा कन्या स्कुल प्रांगणमा अनौपचारिक रुपमा तायाः मचाः प्रतियोगिता आयोजना गरिएको थियो । २०३८ सालमा पहिलो पटक पोखराको युनेस्को क्लबबाट प्रतियोगिताको आयोजना भयो ।

त्यसको ३ वर्षपछि पोखरा सांस्कृतिक परिवारले आयोजनाको जिम्मेवारी लिएर त्यसलाई अघि बढाएको उनले सम्झिए । २०४३ पछि महेन्द्रपुल क्लबले आयोजनाको जिम्मा लिएर कार्यक्रम गरेपछि । नियमित हुन सकेन । २०५० मा सिद्धार्थ क्लबले जमर्को गरेर पूरा पनि गर्‍यो । २०५२/५३ तिर सिमलचौरले नाच प्रतियोगिता आयोजना गरेको उलकले बताए ।

०५६ देखि नेवाः खलः कास्कीले निरन्तर ‘साँपारु’ को अवसरमा तायाः मचाः प्रतियोगिता नै गर्दै आएको छ । २०५० मा नै नेवाः खलः कास्कीले नेवाः समुदायको संस्कृति बचाउदै पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्दै आएको नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।

पोखरा र आसपासमा मात्र नाचिने नाच भएकाले तायाः मचाःलाई पोखराको नेवा समुदायमा जन्मे हुर्केको संस्कृति भन्न सकिने उलकले दावी गरे । यो नाच गाइजात्राका अवसरमा विशुद्ध मनोरञ्जनका लागि मात्र देखाइने नाच भएपनि अहिले नेवारहरुको संस्कृति भएको उनले सुनाए । विस्तारै यो अन्य समुदायले पनि ग्रहण गरिरहेको उनको भनाइ छ । ॅयो किसिमको तायाः मचाः मा परी बनेर पोखरामा मात्र नााचिन्छ,’ उनले भने, ॅपोखरा र आसपासको नेवाः बस्तीसहित कास्कीमा मात्र सिमित छ ।’

यो वर्षको तायाः मचाः शिशुवामा
पोखरामा मात्र आयोजना हुने तायाः मचाः प्रतियोगिता नेवाः खलः कास्की नेवाः खलः कास्कीको आह्वान र शिशुवा नेवाः खलःको आयोजनामा शिशुवामा हुने भएको छ ।
नेवाः संस्कृति र परम्पराको संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्ने तथा कलामार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरामा जिल्ला स्तरीय ‘तायाःमचा नृत्य प्रतियोगिता–२०८२’ आयोजना हुने भएको हो । प्रतियोगितामा कास्की जिल्लाभरका ३५ वटा समूह (खलः) ले आफ्नो सांस्कृतिक प्रस्तुति दिनेछन् ।

आयोजकका अनुसार, प्रतियोगिता आगामी श्रावण ३१ गते शनिबार, कृष्ण जन्माष्टमीका दिन पोखरा–३०, शिशुवा बजारमा आयोजना हुनेछ । सो दिन बिहान ८ः०० बजे कार्यक्रमको औपचारिक उद्घाटन गरिनेछ भने बिहान ९ः०० बजेदेखि प्रतियोगिताका रोचक प्रतिस्पर्धा सुरु हुनेछन् ।

प्रतियोगिता महिला र पुरुष छुट्टाछुट्टै विधामा आयोजना हुनेछ । जसमा पुरुषतर्फको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष पालिखेले जानकारी दिए । द्वितियले ७७ हजार ७ सय ७७, तृतियले ५५ हजार ५ सय ५५ रुपैयाँ र चौथो हुने समूहले २५ हजार ५ सय २५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने उनले बताए । महिलातर्फ प्रथम, द्वितिय, तृतिय र चौथो हुनेले क्रमशः ४०, ३०, २५ र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने उनले सुनाए । यस्तै सहभागी टिमलाई प्रोत्साहन स्वरुप १५/१५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले विश्वव्यापीकरणले रैथाने संस्कृति, रीतिरिवाज र भेषभूषा ओझेलमा पर्दै गएको अवस्थामा यस्ता कार्यक्रमले मौलिक पहिचान जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रम सम्पन्न गर्न करिब २२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको र सो रकम पोखरा महानगरपालिका, वडा कार्यालय, प्रदेश सरकार, विभिन्न संघसंस्था तथा दाताहरूबाट जुटाइने अध्यक्ष पालिखेले जानकारी दिए ।

यस्तै, कार्यक्रमका मूल संयोजक अर्जुनकुमार ताम्राकारले २५० वर्ष पुरानो इतिहास बोकेको गाईजात्रा पर्वलाई सामाजिक सद्भाव, माया र भाइचाराको सन्देश दिने सांस्कृतिक महोत्सवको रूपमा विकास गर्न लागिएको बताए । उनका अनुसार, यो कार्यक्रमले नेवाः समुदायलाई मात्र नभई सबै जातजाति र धर्म–संस्कृतिका लागि साझा उत्सवको वातावरण बनाउँदै यसलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गर्न सहयोग पुग्नेछ ।

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया