दैनिक चार शव बाकसमा : वैदेशिक रोजगारीमा मृत्युको संख्या भयावह

समाधान संवाददाता २०८२ साउन १८ गते ११:४५

पोखरा ।

Advertisement

वैदेशिक रोजगारीका लागि कतार पुगेका नुवाकोटका ३४ वर्षीय निश्चल तामाङको निदाएकै अवस्थामा ज्यान गयो । गत वर्ष भदौमा भएको उक्त घटनामा, दिनभरिको काम सकेर खाना खाई सुतेका निश्चल भोलिपल्ट नउठेको कुरा उनका साथीले परिवारलाई जानकारी गराए । निश्चलसँगै बस्ने उनका साथीहरु विकास तामाङ र किशोर थापाका अनुसार दिनभरिको अत्यधिक कामको चाप, मानसिक तनाव र असन्तुलित खानपान नै उनको मृत्युको कारण बन्यो । निश्चलले चर्को घाममा कठिन परिश्रम गर्नुपर्थ्यो ।

उनका परिवारका अनुसार, निश्चलले सुरुवाती तीन महिनासम्म काम गरेबापतको तलबसमेत पाएका थिएनन् र लामो संघर्षपछि मात्र तलब पाउन थालेका थिए । उनकी श्रीमती नीलम तामाङले साथीहरु किशोर र विकासलाई उद्धृत गर्दै भनिन्, ‘तलब पाउन थाले पनि सम्झौतामा तोकिएबमोजिम थिएन, जसले गर्दा कामको भारी, विदेश जाँदा लागेको ऋण र परिवारबाट टाढा हुनुको पीडाले उनी सधैँ चिन्तित रहने गर्थे ।’ निश्चल यस्ता दुखद घटनाका एक प्रतिनिधि पात्र मात्र हुन् ।

Advertisement

वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा ज्यान गुमाउने नेपालीको संख्या निकै ठुलो छ । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१/८२ मा रोजगारीका लागि विदेश गएका १,५१७ जनाको मृत्यु भएको छ । यो संख्या बोर्डबाट आर्थिक सहायता लिने, श्रम स्वीकृति भएका मृतकका परिवारको निवेदनका आधारमा तयार पारिएको हो । श्रम स्वीकृति नलिई वा करार अवधि सकिएपछि विदेशमा मृत्यु हुनेहरुको आँकडा जोड्ने हो भने वास्तविक अवस्था अझै डरलाग्दो देखिन्छ, तर यसको आधिकारिक तथ्यांक सरकारसँग उपलब्ध छैन ।

बोर्डले उपलब्ध गराएको जानकारीमा नेपालीहरुले मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, बहराइन, रोमानिया र दक्षिण कोरियाजस्ता मुलुकमा विविध कारणले ज्यान गुमाएको देखिन्छ । युवाहरुमा पर्याप्त सिप र तालिमको अभाव हुनुका साथै गन्तव्य देशमा सुरक्षाको प्रत्याभूतिबिना काममा लगाइँदा ठुलो संख्यामा नेपालीले ज्यान गुमाइरहेका छन् ।

Advertisement

वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेको संख्या निरन्तर बढ्दो क्रममा छ । बोर्डका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १,३४६ वटा शव नेपाल ल्याइएको थियो भने गत आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर १,५१७ पुग्यो । यो संख्या अघिल्लो वर्षको तुलनामा १७१ ले बढी हो ।

बोर्डका निर्देशक एवम् सूचना अधिकारी गुरुदत्त सुवेदीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि वृद्धि भएको जानकारी दिए । वैदेशिक रोजगारीका क्रममा विदेशमा आफन्त गुमाउने परिवारका सदस्यले बोर्डको सचिवालयमार्फत १० लाख रुपियाँ आर्थिक सहायता पाउँदै आएका छन् ।

बोर्डको तथ्यांकमा आर्थिक वर्ष २०६५/६६ देखि आजसम्ममा वैदेशिक रोजगारीमा मृत्यु भएका १४ हजार ८६२ जनाका परिवारलाई पाँच अर्ब ९७ करोड ६४ लाख रुपियाँभन्दा बढी आर्थिक सहायता उपलब्ध गराइएको उल्लेख छ ।

वैदेशिक रोजगार विभागका अनुसार, बितेको आर्थिक वर्ष २०८१/८२ मा आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका थिए । यो तथ्यांक हेर्दा, दैनिक औसतमा दुई हजार २०३ जना श्रम स्वीकृत लिएर विदेशिँदा चारवटा शव काठको बाकसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने गरेको देखिन्छ ।

यसअघिको आर्थिक वर्ष २०८०/८१ मा सात लाख ४३ हजार ५९५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । उक्त अवधिमा मृत्यु भएका १,३४६ जनाका परिवारले बोर्डबाट आर्थिक सहायता लिएका थिए ।

बोर्डले गत आर्थिक वर्षमा रोजगारीका क्रममा बिरामी तथा अंगभंग भएका ८६७ जनालाई २४ करोड ९९ लाख रुपियाँ आर्थिक सहायता उपलब्ध गराएको छ । अघिल्लो आर्थिक वर्षमा ६५३ जनालाई १९ करोड ४६ लाख ८५ हजार रुपियाँ यस्तो सहायता दिइएको थियो । त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा अंगभंग तथा गम्भीर बिरामी भएका ३८९ जनालाई नौ करोड ९७ लाख आठ हजार रुपियाँ आर्थिक सहायता प्रदान गरिएको थियो ।

मृतक श्रमिकका परिवारलाई दिइने आर्थिक सहायताका लागि स्थानीय तहमै निवेदन दिएर अनलाइन प्रणालीबाट कागजात जाँच गर्ने प्रविधिको विकास गरिएपछि सेवाग्राहीको संख्या बढेको बोर्डको दाबी छ । बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीका अनुसार, वैदेशिक रोजगार कल्याणकारी कोषको रकम पहिले विदेशमा मृत्यु हुँदा मात्र पाइने व्यवस्था थियो । तर ऐन संशोधन भएपछि श्रम स्वीकृतिको अवधिभित्र नेपालमा रहँदा मृत्यु भए पनि १० लाख रुपियाँ पाउने निर्णयले गर्दा सहायता लिनेको संख्या बढेको हो ।

वैदेशिक रोजगारीमा धेरैजसो मृत्यु कार्यस्थल र सडक दुर्घटनाका कारण हुने गरेको छ । कतिपय नेपालीको भने सुतेकै अवस्थामा विभिन्न कारणले ज्यान जाने गरेको छ । मृत्युका प्रमुख कारणहरुमा सडक दुर्घटना, प्राकृतिक मृत्यु र आत्महत्याको संख्या ठुलो रहेको पाइन्छ ।

वैदेशिक रोजगार विज्ञ रामेश्वर नेपालले विदेश जाने युवालाई बढी अपेक्षा देखाउने तर पर्याप्त सूचना नदिने तथा धोकापूर्ण भर्ना प्रक्रिया नै वैदेशिक रोजगारीमा मृत्युको प्रमुख कारण रहेको बताए । उनले भने, ‘वैदेशिक रोजगारीमा जाने युवालाई आधारभूत विषयमा समयमै पर्याप्त सूचना दिएर पठाउन सकेमा विदेशमा हुने मृत्युका घटनालाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ, तर यसतर्फ सरकारी निकायको ध्यान गएको छैन ।’

तपाईको प्रतिक्रिया