तनहुँका राजनीतिक तथा सामाजिक नेता स्व. तारापति भट्टराईको स्मृति ग्रन्थ लोकार्पण

काठमाडौँ । पूर्व राष्ट्रपति रामवरण यादवले तनहुँको राजनीतिक तथा सामाजिक नेता स्व. तारापति भट्टराईको ‘म र मेरो भन्दा माथि नेपाल आमा तथा नेपाली सन्तान’ भन्ने राजनीतिक आदर्श अहिले राजनीतिक शिक्षामा अपरिहार्य भएको बताएका छन् ।
शनिबार काठमाडौँमा तारापति स्मृति प्रतिष्ठानले आयोजना गरेको भट्टराईको स्मृति ग्रन्थ लोकार्पण गर्दै उनले, युवा पुस्तामा निष्ठा र आदर्शको राजनीति सिकाउन अग्रजहरुको योगदान अभिलेखन र पुस्तान्तरण गर्नु पर्ने बताए । ‘संसारले अभ्यास गरेको उन्नत लोकतान्त्रिक अभ्यास देशले उपयोग गरिरहेको छ । यसमा केही राम्रा अभ्यास भएका छन् ।
केही विकृति पनि देखिएका छन् । अहिले राम्रा काम र प्राप्त उपलब्धिका विषयमा कुरा नै हुँदैन । खाली नराम्रा कुरा मात्र गरिन्छन् । यसकारण राम्रा कुराको प्रवर्धन गर्दै विकृतिलाई सच्याउँदै जानु पर्ने आवश्यकतालाई अग्रजले देखाएको निष्ठालाई सिकाइ बनाउन सकिन्छ ।’ उनको भनाइ थियो । उनले, स्व. भट्टराईले आफू पाउन नभइ जनतालाई दिन गरेको योगदान, पुस्तान्तरणका लागि उपयुक्त सिकाइ भएको उल्लेख गरे ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, राष्ट्रिय सभा सदस्य पदम परियार, गण्डकी प्रदेश सभा सदस्यहरु अशोक श्रेष्ठ र जितप्रकाश आले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, शुक्ला गण्डकी नगरका प्रमुख कृष्णराज पण्डितसहितका वक्ताहरुले जनताको माझमा बसेर प्रजातन्त्र प्राप्त गर्ने अभियानका कुशल पथ प्रदर्शकका रुपमा चर्चा गरे । यस्तै पूर्वमन्त्रीहरु अर्जुननरसिंह केसी, शंकर भण्डारी, डा. रामचन्द्र अधिकारी, नरहरि आचार्य, संविधान सभा सदस्य रामचन्द्र पाखरेललगायत वक्ताले तनहुँलाई आधुनिक विकासको पथमा लैजान भट्टराईको योजना आधार भएको उल्लेख गरे । राजनीतिमा निष्ठा र आदर्शको प्रवर्धनका लागि तारापतिजस्ता अगुवाका बारेमा स्थानीय सरकारले जनताको इतिहासका रुपमा अभिलेखन गर्नु पर्ने उनीहरुको सुझाव थियो ।
कार्यक्रममा उनका समकालीनहरु गोपीबहादुर गुरुङसहितका वक्ताहरुले भट्टराईको राजनीतिक, सामाजिक र आध्यात्मिक जीवनका बारेमा चर्चा गरेका थिए । यसरी बोल्ने वक्ताहरुले तनहुँ जिल्लाको सदरमुकाम बन्दीपुरबाट दमौलीमा सार्न, जिल्लामा सडक, ढल निकास र खानेपानीको सुविधाका लागि पूर्वाधार निर्माण गर्न, शैक्षिक सुधार गर्न तथा पञ्चायत शासनमा बसेर लोकतान्त्रिक अभियान सञ्चालन गर्न उनले गरेका क्रियाकलापका विषयमा चर्चा गरेका थिए ।
स्मृति ग्रन्थमा समकालीन राजनीतिक र सामाजिक क्षेत्रका ४० जना लेखकले भट्टराईसँग सम्बन्धित घटना र विषयसँग सम्बन्धित लेख समावेश छन् ।
प्रतिष्ठानका अध्यक्ष महेश्वर भट्टराईले विभेदरहित समाजको कल्पनामा तारापतिले देखाएको बाटो वर्तमान राजनीतिक अवस्था सुधारका लागि सान्दर्भिक भएको धारणा राखे ।
स्व. नेता भट्टराईको संक्षिप्त चिनारी
१९८९ चैत १ गते जन्मिएका तारापति भट्टराई नेपाली कांग्रेसका सरल र सादगी नेता थिए । २०६१ साल असार २१ गते परमधाम भएका भट्टराईले जीवनभर प्रजातन्त्रमार्फत नागरिक स्वतन्त्रता र सरल जीवनयापनका लागि राजनीतिक तथा सामाजिक नेतृत्व गरे । ‘म र मेरो भन्दा माथि नेपाल आमा तथा नेपाली सन्तान’ भन्ने राजनीतिक दर्शन उनको जीवनको अनुकरणीय पक्ष हो ।
यसका लागि उनले रुपान्तरणका लागि अभियान र कार्यक्रम सञ्चालन गरे । २००७ सालदेखि राजनीतिक नेतृत्वमा उनको महत्वपूर्ण भूमिका छ । शासन व्यवस्था परिवर्तनका अनेक आयाममा नेतृत्व गरेका भट्टराईले पञ्चायत कालमा पदीय दायित्व ग्रहण गर्दै प्रजातन्त्र र नागरिक स्वतन्त्रताका पक्षमा काम गरे । नेपाली कांग्रेसले सञ्चालन गरेको भद्र अवज्ञा आन्दोलनलगायत अभियानमा उनको अग्रणी भूमिका थियो ।
२०१५ सालमा राजा महेन्द्र पश्चिमाञ्चल क्षेत्रका लागि पैदल भ्रमण गएका बेला सदरमुकाम बन्दीपुर थियो । सदरमुकाम जान आउन ढोर, रिसिङ, घिरिङलगायत पश्चिम तनहुँका जनतालाई ३/४ दिन हिँड्नुपर्ने नदीनाला, अनगिन्ती खोला पार गर्नु परेकोले मर्का परेको जनाउँदै उनले दमौली वा खैरेनीटारमा सदरमुकाम सार्न निवेदन गरेका थिए ।
२०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता भट्टराई २०१७ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सरकार विघटन, संसदीय व्यवस्था माथि प्रतिबन्ध र राजनेताहरूको गिरफ्तारी गर्ने राजा महेन्द्रको कदम विरुद्ध अभियान सञ्चालन गर्दा कष्टपूर्ण जेल जीवन बिताउनु परेको थियो । २०१८ सालमा जनताको पक्षमा कार्य गर्ने उद्देश्यले पञ्चायतको चुनावमा सरिक भए । तनहुँको तत्कालीन राईपुर गाउँ पञ्चायतबाट प्रधानपञ्चमा निर्वाचित भए । उनको सक्रियता र अभियानको समर्थन गर्दै तनहुँबासीले २०२० सालमा उनलाई जिल्ला पञ्चायत सदस्यमा निर्वाचित गरे ।
तनहुँको सदरमुकाम बन्दीपुरबाट जिल्लाको केन्द्र भाग दमौलीमा सार्ने, दमौलीमा सदरमुकाम सार्ने क्रममा सहादत प्राप्त गरेका निर्मल रानाभाटको स्मृतिमा दमौलीमा निर्मल माध्यमिक विद्यालय स्थापना गर्ने, दमौलीमा एकीकृत र योजनाबद्ध बस्ती निर्माणमा उनको नेतृत्वदायी भूमिका थियो ।
जिल्ला पञ्चायत तनहुँका सभापति भएको समयमा राजा महेन्द्रबाट संविधान सुधार गर्न सुझाव माग हुँदा जिल्ला पञ्चायतबाट प्रजातन्त्रको बहाली, बालिग मताधिकार, मानव अधिकारलगायत जनताका पक्षमा संविधान बन्नुपर्छ भन्ने प्रस्ताव पारित गराएका थिए । २०२८ सालमा जिल्ला पञ्चायत सभापति निर्वाचित भएको केही दिनमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई गण्डकी अञ्चलको भ्रमण गर्ने क्रममा प्रतिबन्धित दलको नेतालाई स्वागत गर्दै सरकारी निवासमा राखेका थिए । उनले सभापतिको सरकारी क्वाटर (निजी निवास)मा तत्कालीन अवस्थामा प्रतिबन्ध लगाइएका सशस्त्र क्रान्तिका पर्चा, पम्प्लेट, तरुण पत्रिकालगायत क्रान्तिलाई सहयोग पुग्ने सामग्री लुकाई छिपाई राखेर रातको समयमा वितरण गराउँथे ।
२०३६ सालको विद्यार्थी आन्दोलनपछि भएको जनमत संग्रहमा उनको नेतृत्वमा प्रजातन्त्रवादी पञ्चहरुले सामूहिक राजीनामा दिएर बहुदलको पक्षमा खुला प्रचार गरेका थिए ।








डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
५ वर्षमा पनि बनेन सेती नदीमा पुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया