बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा

समाधान संवाददाता २०८२ साउन १८ गते १९:१४

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन् । पार्टीको संसदीय दलको नेतामा पराजित भएपछि सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार उनले आइतबार राजीनामा दिएका हुन् ।

आफूले नियुक्त गरेका तीन मन्त्रीलाई नयाँ बन्ने सरकारमा पनि निरन्तरता दिने शर्तमा लामा राजीनामा दिन सहमत भएका हुन् । उनले साउन १४ गते नियुक्त गरेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई नयाँ सरकारमा शपथ खुवाउने सभापति देउवासँग सहमति जुटेपछि उनले पद छाडेको बताइएको छ ।

मुख्यमन्त्री लामाले पार्टीका प्रदेश सभापति इन्द्रबहादुर बानियाँसँग दलको नेतामा निर्वाचन हुनुअघि तीन जनालाई मन्त्री नियुक्त गरेका थिए । तर, उनी सोही दिन भएको निर्वाचनमा बानियाँसँग पराजित भए । लामाले नियुक्त गरेका मन्त्रीहरुको शपथ सत्ता साझेदार नेकपा एमालेले रोकेको थियो ।

Advertisement

दलको नेतामा पराजित भएपछि राजीनामाका लागि बढेको दबाब र सत्ता साझेदार दलको असहमतिका बीच सभापति देउवाले हस्तक्षेप गरेका थिए । देउवाले शनिबार मुख्यमन्त्री लामा, नवनिर्वाचित दलका नेता बानियाँ र लामा पक्षका सांसदहरुलाई बूढानीलकण्ठमा राखेर सहमतिको खाका तयार पारेका थिए, जसअनुसार लामाले आइतबार राजीनामा दिए ।

२०८१ साउन ८ गते मुख्यमन्त्री बनेका लामाले एक वर्ष नौ दिन सरकारको नेतृत्व गरे । आइतबार साँझ पत्रकार सम्मेलन गर्दै उनले आफ्नो कार्यकालको प्रगति विवरण सुनाएका थिए । आफ्नै दलभित्रको प्रपञ्चका कारण सरकार छाड्नुपरेको गुनासो गर्दै उनले आफ्नो कार्यकालमा इमान्दारपूर्वक काम गरेको बताए । लामा बागमती प्रदेशमा तामाङ समुदायबाट मुख्यमन्त्री बन्ने पहिलो नेता हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया