जोर्ज जोन शिक्षा प्रतिष्ठानद्वारा ५ शिक्षासेवी सम्मानित

समाधान संवाददाता २०८२ साउन १८ गते १९:२०

पोखरा । जोर्ज जोन शिक्षा प्रतिष्ठानले आफ्नो २९ औँ वार्षिकोत्सवका अवसरमा शनिबार पोखरामा आयोजित एक कार्यक्रममा ५ जना शिक्षासेवीलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचन, पृथ्वीनारायण क्याम्पसका प्राडा लेखनाथ भट्टराई, प्राडा यादव गौडेल, शिक्षासेवी छविलाल आचार्य र स्वास्थ्यकर्मी शकुन सिंह छन् । उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मानपत्र, दोसल्ला र नगद पुरस्कारसहित सम्मान गरे ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले शिक्षा क्षेत्रमा निरन्तर सेवा गर्ने व्यक्तित्वहरु समुदायकै प्रेरणाको स्रोत भएको बताए । प्रतिष्ठानका संस्थापक डा. जोर्ज जोनले शिक्षा क्षेत्रको विकास नै समग्र विकासको मूल आधार भएकोमा जोड दिए । कार्यक्रममा सम्मानित व्यक्तित्वहरु, प्रतिष्ठानका पदाधिकारी र विद्यार्थीका तर्फबाट वक्ताहरुले प्रतिष्ठानले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

Advertisement

सोही अवसरमा पृथ्वीनारायण क्याम्पसका विभिन्न संकायमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । विज्ञान संकायकी कृति भट्टराई, व्यवस्थापनका विजय सुवेदी, मानविकीका विवेक तिवारी र शिक्षा संकायका अमृत पौडेललाई सम्मान तथा पुरस्कार प्रदान गरियो ।

प्रतिष्ठानले विगत ३० वर्षदेखि पोखरामा शैक्षिक विकासका लागि काम गर्दै आएको छ । यसले शिक्षामा योगदान दिनेहरुको सम्मान, क्षमता विकास, जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया