मुस्ताङमा यार्तुङको तयारी
यसपालिको यार्तुङमा घोडा दौड प्रतियोगिता र कदम घोडा दौड प्रतियोगिता मुख्य आकर्षण

जोमसोम ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ स्थित मुक्तिनाथ पुराङ रानीपौवामा बर्सेनि मनाइने यार्तुङ मेलाको तयारी थालिएको छ । जनप्रिय युवा क्लबले ‘यार्तुङ’ मेला २०८२ बारे जानकारी दिने उद्देश्यले आइतबार पत्रकार सम्मेलन आयोजना गर्यो ।
कार्यक्रममा क्लब अध्यक्ष कैसाङ ठोक्या ठकुरीले सदियौंदेखि चल्दै आएको हिमाली संस्कृति यार्तुङलाई मेलाको रुपमा सञ्चालन डेढ दशकदेखि जनप्रिय क्लब सक्रिय रहेको जनाए । यार्तुङलाई भव्य बनाउन विभिन्न समिति र उपसमिति गठन भइसकेका छन् ।
पछिल्लो समय यहाँका युवा विदेश पलायन भएकाले परम्परा, संस्कृति धान्नसमेत चुनौती भएको छ । संस्कृति जीवित रहेमात्रै हिमाली क्षेत्रको मौलिकता संरक्षण हुने र यहाँको संस्कृति र पहिचान जोगाउन सकिने अध्यक्ष ठकुरीको भनाइ छ । कार्यक्रममा अध्यक्ष ठकुरीले यार्तुङ पर्वलाई मेलाका रुपमा अपनाउँदै यहाँको संस्कृति संरक्षण तथा पर्यटन विकासमा योगदान गर्दै आएको जनाए ।
यसपालिको यार्तुङ मेलामा घोडा दौड प्रतियोगिता र कदम घोडा दौड प्रतियोगिता मुख्य आकर्षण रहेको अध्यक्ष ठुकुरीले सुनाए । यार्तुङ घोडा दौड प्रतियोगितामा छिमेकी जिल्ला मनाङ, डोल्पादेखि उपल्लो मुस्ताङ र तल्लो मुस्ताङका घोडा राइडरले सहभागिता जनाउने क्लब अध्यक्ष ठकुरीले बताए ।
अध्यक्ष ठकुरीले मुक्तिनाथको यार्तुङ मेलामा झन्डै १ सयभन्दा बढी घोडा राइडरहरुले प्रतियोगितामा भाग लिने बताए । मेलामा प्रथम हुने कदम घोडा राइडरलाई नगद १ लाख ५० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । कदम घोडा दौड प्रतियोगितामा दोस्रो हुनेलाई नगद ८० हजार र तेस्रो हुने घोडा राइडरलाई नगद ५० हजारसहित प्रमाण पत्र प्रदान गरिनेछ ।
घोडा दौड प्रतियोगिता अन्तर्गत घोडाको उत्कृष्ट साजसज्जातर्फ २५ हजार, घोडा राइडरको उत्कृष्ट मौलिक भेषभूषातर्फ २५ हजार, घोडा चढेर उत्कृष्ट धनुषवाण प्रहार गर्नेलाई २५ हजार र घोडा चढेर सबैभन्दा धेरै जमिनमा राखिएको खाता टिप्ने राइडरलाई २५ हजार पुरस्कार र प्रमाणपत्रले सम्मान गरिने क्लबले जनाएको छ ।
लामो दूरीको यार्तुङ घोडा दौडको अर्को इभेन्टमा प्रथम हुने घोडा राइडरले नगद ७० हजार, दोस्रो हुने घोडा राइडरले नगद ४० हजार र तेस्रो हुनेले नगद ३० हजार पुरस्कारसहित प्रमाणपत्र पाउने छन् । मेलामा स्थानीय भेषभूषा प्रर्दशन, स्थानीय सांस्कृतिक नृत्य स्याब्रो लगायत धार्मिक संस्कृति र मौलिकता समावेश रहने क्लव अध्यक्ष ठकुरीले बताए ।
यार्तुङ मेलामा सेभेन ए साइड फुटबल र तारा खेल प्रतियोगिता हुने छन् । यार्तुङ मेलाको दौरानमा नेपालका ख्याति प्राप्त कलाकारद्वारा सांगीतिक प्रस्तुति रहनेछ । यार्तुङ मेलामा तिब्बतीय सांस्कृतिक नृत्य देखाउने योजना छ । वारागुङ मुक्तिक्षेत्र १ वडाध्यक्ष प्रमेश गुरुङले यस पालिकाको मुक्तिनाथ ग्रान्ड यार्तुङ मेलालाई संरक्षण, संम्वद्धन र प्रर्वद्धन गर्न वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले ५ लाख र मुक्तिनाथ विकास समितिले ३ लाख रुपैयाँ सहयोग गरेका छन् । यस वर्ष प्रत्येक १२ वर्षमा एक पटक आउने मुक्तिनाथ ‘ने’ परेकाले छिमेकी जिल्ला डोल्पा र मनाङबाट उल्लेख सर्वसाधारण मुक्तिनाथ आउने छन् ।
यार्तुङ बर्खा याम समाप्तिपछि मनाइने एक प्रकारको सांस्कृतिक पर्व भएको वडाध्यक्ष प्रमेश गुरुङको भनाइ छ । यारको अर्थ बर्खा र तुङको अर्थ समाप्ति हुन्छ । खेतीपातीका कामकाज सकेर मनाइने यस प्रकारको पर्वलाई यार्तुङ भन्ने गरिएको उनी बताउँछन । यहाँको धर्म, संस्कृति र मौलिकतालाई संरक्षण गर्न सकेमात्रै पर्यटन प्रर्वद्धनमा योगदान पुर्याउन वडाध्यक्ष गुरुङले बताए ।
गाउँ मुखिया ग्याल्चेन गुरुङले यहाँको यार्तुङ पर्वको तयारीका लागि सरसफाइ र साजसज्जामा जोड दिएको जनाए । गाउँ मुखिया गुरुङले गाउँमा भएका युवा वैदेशिक रोजगारमा पलायन भएकाले परम्परा धान्न मुस्किल परेको उल्लेख गरे । मुक्तिनाथमा मनाइने यार्तुङ जिल्लाकै ठूलो यार्तुङ भएकाले यसको महत्व बढी भएको उनको भनाइ छ । क्लबले यार्तुङ अवधिभर शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा लगायतका प्रबन्ध गरिसकिएको जनाएको छ ।









‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
हिसान कास्की स्पोर्ट्सको उपाधि प्रतिभालाई
स्वाधीन संयुक्त सरकार माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया