हरिहर मन्दिरमा भक्तजनको आकर्षण

समाधान संवाददाता २०८२ साउन २० गते ११:५३

पोखरा ।
साउनको तेस्रो सोमबार शिवालयहरूमा बिहानैदेखि भक्तजनको भिड देखिएको छ । सेती नदीमा स्नान गरी शिवलिङ्गमा गाईको दूध र बेलपत्र चढाउँदा मनोकांक्षा पूरा हुने विश्वासले भक्तजनले शिवालयमा दर्शन गर्ने प्रचलन छ ।


त्यस्तै पोखरा १७ सीतापाइलास्थित सदाशिव सिद्धेश्वर हरिहर मन्दिर पनि एउटा ऐतिहासिक, पुरातात्त्विक एवम् धार्मिक स्थल हो । यस मन्दिरमा साउनका प्रत्येक सोमबार भक्तजनहरूको भिड लाग्ने गरेको छ ।


सेती नदीको सीताघाटबाट स्नान गरी भक्तजनले ल्याएको जल मन्दिर परिसरमा निर्मित एक सय आठ शिवलिङ्गमा चढाउनुका साथै हरिहरको दर्शन गरेर दिनभरि उपवास बस्ने प्रचलन रहेको छ । सेती नदी र मन्दिरको दूरी लगभग एक सय मिटर मात्र छ ।

Advertisement


उक्त मन्दिर परिसरमा २२ लाखभन्दा बढीको लागतमा निर्मित १०८ शिवलिंग र १०८ गौमुखे धारा निर्माणले यस क्षेत्रको धार्मिक महत्त्व बढ्नुका साथै साउन महिनामा भक्तजनको उल्लेखनीय सहभागिता रहँदै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले जानकारी दिए ।


साउन महिनाको अन्तिम सोमबार मन्दिरमा महाआरती र लाखेनाच समेत प्रदर्शन गरिने तयारी भइरहेको बताउँदै उनले भने, ‘यस क्षेत्रमा हुने प्रत्येक क्रियाकलापले धार्मिक गतिविधि बढ्नुका साथै मन्दिरको आम्दानी बढेको छ ।’ भक्तजनले स्वस्फूर्त सहयोग गरेको रसिदबाट साउन महिनामा ६८ हजार आम्दानी भएको थियो । दानबाकस र मन्दिर शिवलिंगमा चढाएको दान गणना भएको छैन ।

Advertisement


उनले भने, ‘तत्कालीन कास्कीकोटका राजा कुलमण्डल शाहलाई सेती नदीस्थित सीताघाटमा स्नान गर्ने क्रममा हरिहरको दर्शन प्राप्त भई सो क्षेत्र देवदेवीको बासस्थान भएको र आफू शिलाको रूपमा रहेको दिव्यवाणी भएपछि खोज्ने क्रममा काप्ली गाईले दूध चढाइरहेको शिला भेटिएपछि उक्त पुण्यभूमिमा मन्दिर निर्माण गरी नित्य पूजा सञ्चालन हुँदै आएको किंवदन्ती रहेको छ ।’


मन्दिर निर्माण गरिएसँगै नित्य पूजा सञ्चालनका लागि पोखरा महानगरपालिका वडा नम्बर १७ पार्दी बिरौटामा २९ रोपनी १२ आना गुठी जग्गाको व्यवस्था गरिएको विसं १८६४ मा प्राप्त लालमोहरले पुष्टि गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले जानकारी दिए ।


हरिहरको दर्शन गर्दा आफूले सोचेको पुग्ने हुँदा प्रत्येक वर्ष माघे संक्रान्तिका दिन लाग्ने ढुंगेसाँघु मेला, शिवरात्रि, रामनवमी लगायतका विभिन्न पर्वको अवसरमा दर्शनार्थीको भिड लाग्ने गर्दछ । उक्त धार्मिक क्षेत्रमा १०८ शिवलिंग र १०८ गौमुखे पानीका धारा निर्माणले थप आकर्षण बढेको उनको भनाइ छ ।


अध्यक्ष भण्डारीले भने, ’सीताघाटमा स्नान गरी हरिहर मन्दिर, अकाला देवी, सीताको पाइला, राम मन्दिर, सिद्धेश्वर लगायतका देवदेवीको वासस्थान रहेको यस पवित्र भूमिमा मानव फाउन्डेसन नेपालले लगाएको शतकुण्डीय कोटिहोमको मुख्य होमनकुण्ड मन्दिर परिसरमा रहेको छ, जुन कुण्डमा अहिले पनि नित्य होमन भइरहेको छ ।’


विश्व जडीबुटी दिवसमा वृक्षारोपण
विश्व जडीबुटी दिवसको अवसरमा विभिन्न जातका बिरुवा रोपिएको छ । आचार्य गुरु बालकृष्णको जन्मदिनको अवसर पारेर पतञ्जलि योग युवा समिति कास्कीद्वारा मन्दिर परिसरमा राजवृक्ष, गुलमोहर, चाँप, धुपी, पैंयु लगायतका १५ वटा बिरुवा रोपिएको हो ।


सो अवसरमा पतञ्जलि योग महिला तथा पुरुष समितिका पदाधिकारी तथा सदस्यहरू, मन्दिर व्यवस्थापन समिति लगायत सोमबार मन्दिरमा दर्शन गर्न आएका भक्तजनको समेत सहभागिता थियो ।

तपाईको प्रतिक्रिया