कोषको लगानी अब संस्थापक सेयर र पूर्वाधारमा केन्द्रित हुने

सामाजिक सुरक्षा कोषको कुल कोष १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ

समाधान संवाददाता २०८२ साउन २० गते ११:५९

काठमाडौं ।
लगानीको दायरा फराकिलो बनाउने रणनीतिक योजनाअनुसार सामाजिक सुरक्षा कोषले संस्थापक सेयरमा लगानी गर्ने प्रस्ताव अगाडि बढाएको छ । निक्षेपमा ब्याजदर निरन्तर घट्दा प्रतिफलमा संकुचन आएपछि कोषले बैंक, वित्तीय संस्था तथा अन्य कम्पनीहरुको संस्थापक सेयरमा लगानी विस्तार गर्ने रणनीति लिएको हो । कोषसँग हाल कुल एक खर्ब १८ अर्ब रुपैयाँको व्यवस्थापनयोग्य रकम छ ।


वित्तीय प्रणालीमा अधिक तरलताका कारण निक्षेपको ब्याजदर घट्दा आम्दानीमा असर परेकाले संस्थापक सेयरमा लगानीका लागि कोषले आफ्नो सञ्चालक समितिमा प्रस्ताव पेस गरेको छ । सामाजिक सुरक्षा कोषका प्रवक्ता कृष्णराज अधिकारीले सञ्चालक समितिबाट स्वीकृति प्राप्त भएमा संस्थापक सेयरमा लगानी बढाइने जानकारी दिए ।


हाल कोषले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप, डिबेन्चर, सरकारी ट्रेजरी बिल्स, विकास ऋणपत्र, म्युचुअल फन्ड र योगदानकर्तालाई प्रदान गरिने सापटी गरी ६ वटा क्षेत्रमा लगानी गरिरहेको छ । प्रवक्ता अधिकारीले भने, ‘हाम्रो कुल लगानीको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको छ ।’

Advertisement


कोषको एक खर्ब १८ अर्बको कुल रकममध्ये ८३ अर्ब ९३ करोड रुपैयाँ मुद्दती निक्षेपमा छ । उनका अनुसार विगत दुई वर्षयता निक्षेपको ब्याजदरमा आएको गिरावट र बैंकहरुले मुद्दती निक्षेपका लागि न्यून मात्रामा मात्र आह्वान गर्ने गरेकाले लगानीको क्षेत्र विस्तार आवश्यक परेको हो ।


यही कारणले लगानीको दायरा फराकिलो बनाउन संस्थापक सेयरमा लगानीको प्रस्ताव सञ्चालक समितिमा पठाइएको तर त्यो पारित हुन भने बाँकी रहेको अधिकारीले स्पष्ट पारे । संस्थापक सेयरमा लगानी गर्दा केही जोखिम भए तापनि लगानी विविधीकरण अनिवार्य भइसकेको उनको तर्क छ । उनले पूर्वाधार र सरकारी प्रत्याभूति भएका क्षेत्रको लगानीलाई पनि प्राथमिकतामा राखिने बताए ।

Advertisement


उनका अनुसार लगानी विस्तार गर्दा सुरक्षित प्रतिफलका लागि सरकारी सुरक्षणपत्रहरुमा पनि लगानी केन्द्रित गरिएको छ । सरकारको जमानतमा जारी हुने ऋणपत्रमा पनि कोषको लगानी केन्द्रित हुनेछ ।


हालसम्म सामाजिक सुरक्षा कोषको कुल कोष एक खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये कोषले विभिन्न क्षेत्रमा गरी कुल ९९ अर्ब १८ करोड रुपैयाँ लगानी प्रवाह गरेको छ । लगानीको क्षेत्रगत विवरण हेर्दा, सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ८३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।

यसैगरी डिबेन्चरमा तीन अर्ब ७१ करोड, ट्रेजरी बिल्समा पाँच अर्ब ४४ करोड, विकास ऋणपत्रमा एक अर्ब ९८ करोड र म्युचुअल फन्डमा ४१ करोड रुपैयाँ लगानी भएको छ । कोषले आफ्ना योगदानकर्ताहरुलाई सापटीबापत तीन अर्ब ६८ करोड रुपैयाँ उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया