बडिगाड आधारभूत अस्पतालमा ‘डायलाइसिस’ सेवा

गलकोट ।
यहाँको आधारभूत अस्पतालमा डायलाइसिस सेवा दिने तयारी थालिएको छ । यसका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत बडिगाड गाउँपालिकालाई रु एक करोड एक लाख ४४ हजार ८२० बराबरको पाँचवटा डायलाइसिस उपकरण प्राप्त भएको छ ।
यही साउन १ गतेबाट बडिगाड गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पतालले सेवा सुरुआत गरेको थियो । जिल्ला अस्पतालबाट दिइरहेको डायलाइसिस सेवा अब गाउँपालिकाबाट दिने तयारीका साथ उपकरण अस्पतालमा आएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् ।
उनका अनुसार गाउँपालिकाको आधारभूत अस्पतालमा डायलाइसिस सेवा सम्भवतः देशभरमै पहिलो भएको बताइन् । बागलुङको बडिगाड गाउँपालिकाले पश्चिम बागलुङका मिर्गौलाको बिरामीका लागि डायलाइसिस सेवा सुरु गर्न उपकरण भित्र्याएको हो । बडिगाड –५ ग्वालीचौरमा हालै सम्पन्न रु १८ करोड लागतको भवनमा १५ शय्याको अस्पताल निर्माण भएको थियो ।
गाउँपालिकाले आगामी कात्तिकभित्र डायलाइसिस सेवा दिनेगरी स्वास्थ्यकर्मीलाई तालिम दिने तयारीमा जुटेको अध्यक्ष थापा अधिकारीले जानकारी दिइन् । मध्यपहाडी पुष्पलाल लोकमार्गको नजिकै रहेको अस्पतालले राजर्मागमा हुने दुर्घटनाका बिरामीलाई समेत सहजता प्रदान गर्ने छ ।
धवलागिरि अस्पतालमा मात्र सो सुविधा रहेकामा बडिगाडमा पनि डायलाइसिस सेवा सञ्चालनसम्बन्धी एक वर्षअघि बडिगाड गाउँपालिका र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच सम्झौता भएअनुसार अहिले उपकरण प्राप्त भएको हो । केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीबीच डायलाइसिस सेवा दिने विषयमा सम्झौता भएअनुसार उपकरण गाउँपालिकामा आएको हो ।
उपकरण आएपछि जनशक्तिको विषयमा थप तयारी भइरहेको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जनशक्ति पठाउने विषयमा अध्ययन गरिने बताएको अध्यक्ष थापाले जानकारी दिइन् । पालिकाका एक मेडिकल अधिकृत र तीन स्टाफ नर्सलाई तालिमका लागि पठाउने तयारी छ । बडिगाडको आधारभूत अस्पताललाई स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुका रुपमा समेत सूचीकृत गरेको छ । गण्डकी प्रदेशबाट थप एक मेडिकल अधिकृत तथा सङ्घीय सरकारबाट दुई चिकित्सक र तीन स्टाफ नर्ससहितको उपकण दिने देशभरको ४८ सूचीमा समेत यस गाउँपालिकाको आधारभूत अस्पताल परेको छ ।
यसबाट बागलुङ पश्चिमका साथै गुल्मी, रुकुम र रोल्पाका जनताले सहज सेवा पाउने बडिगाड गाउँपालिका अध्यक्ष अधिकारीले बताइन् । बडिगाडले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उपचार गर्दै आएको छ ।








ढोरपाटनमा फस्टायो घोडचढी
दूरसञ्चार बिना विकास असम्भवः मन्त्री थापा
सिंजालीलाई केशर पुरस्कार
८ देशका नागरिक अमेरिका यात्रामा प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया