पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा ५ जना सर्टलिस्ट

समाधान संवाददाता २०८२ साउन २१ गते ११:३८

पोखरा ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति ३ महिनादेखि रोकिएको छ । सत्तारूढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच प्रतिष्ठानको नेतृत्वमा भागबन्डा मिल्न नसक्दा नियुक्ति प्रक्रियामा बिलम्ब गरिएको छ ।


राजनीतिक खिचातानीका कारण स्वास्थ्य मन्त्रालयले गठन गरेको सिफारिस समितिले मंगलबार ३ महिनादेखि रिक्त उपकुलपति पदमा आवेदन दिएका मध्येलाई सर्टलिस्टमा पर्नेहरुको नाम सार्वजनिक गरेको हो । गत चैतयता पोखरासहित थप ३ प्रतिष्ठान नेतृत्वविहीन छन् । गत चैत अन्त्यमा पोखरा, कर्णाली, बीपी कोइराला (धरान) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूको कार्यकाल सकिएको थियो । त्यसयता सरकारले असार पहिलो सातामात्र उपकुलपति चयन गर्न सर्च कमिटी गठन गरेको थियो ।


स्वास्थ्य मन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिमा स्वास्थ्य सचिव डा विकास देवकोटा र राष्ट्रिय योजना आयोगको स्वास्थ्य हेर्ने सदस्य डा आरपी बिच्छा सदस्य छन् । समितिले असार ४ गते ४ वटा प्रतिष्ठानमा उपकुलपति पदका लागि दरखास्त आह्वान गरेपछि इच्छुक चिकित्सकले आवेदन दिएका थिए । पोखरा प्रतिष्ठानमा मात्र १७ जनाले उपकुलपति बन्ने इच्छा व्यक्त गर्दै निवेदन दिएकामा ५ जनाको नाम सर्टलिष्टमा परेको छ ।

Advertisement


यसअघि अर्जुन आचार्य, प्रदीप घिमिरे, माया लामा, चण्डिका पण्डित, निमित्त उपकुलपति भरतबहादुर खत्री, राकेशकुमार वर्मा, राजेश अधिकारी, नारायणसिंह गुरुङ, प्रेमराज ज्ञवाली, विधाननिधि पौडेल, ईश्वर शर्मा कँडेल, दीपकराज पौडेल, श्रीकृष्ण श्रेष्ठ, कालु शर्मा सुवेदी, विष्णुप्रसाद शर्मा, रामेशराज कोइराला, लक्ष्मीनारायण सिंह गरेर १७ जनाले आवेदन दिएका थिए । ती मध्ये ५ जनाको नाम सर्टलिस्टमा परेको हो । सूचीमा अर्जुन आचार्य, चण्डिका पण्डित, नारायणसिंह गुरुङ, विधान निधि पौडेल, भरतबहादुर खत्रीको नाम छ ।


समितिले ३ जनाको नाम सर्टलिस्टमा सिफारिस गर्नुपर्नेमा अहिले ५ जनाको नाम राखेर सर्टलिष्ट सार्वजनिक गरिएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति रिक्त भएपछि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबिच भागबन्डा नमिल्दा उपकुलपति नियुक्तिमा बिलम्ब हुँदै आएको छ । स्रोतका अनुसार यसअघि धरानको बीपी कोइराला र कर्णाली स्वास्थ्य प्रतिष्ठान कांग्रेसको भागमा र पाटन तथा पोखरा एमालेको भागमा पर्नुपर्ने भनिएको थियो ।

Advertisement

राजनीतिक भागबन्डाले उपकुलपति नियुक्तिमा ढिलाइ भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा १७ जनाले निवेदन दिएका थिए ।


तर, स्वास्थ्य मन्त्री प्रदीप पौडेलले (कांग्रेस)ले पोखरा छाड्न नहुने अडान लिएपछि सहमति बिग्रिएको हो । ‘धरान कांग्रेसलाई र पाटन एमालेलाई भन्ने प्रारम्भिक सहमति थियो,’ स्रोतले भन्यो, ‘तर अहिले पोखरा कसको भन्ने टुंगो लाग्न नसक्दा अरु तीन वटामा पनि नियुक्ति रोकिएको छ ।’


स्वास्थ्य मन्त्री पौडेलका घर तनहुँ हो । यद्यपि उनी काठमाडौंबाट चुनावमा उठे । अहिले भने उनी अर्को चुनाव लक्षित गरेर गण्डकी प्रदेशमा आफ्नो पकड जमाउन कस्सिएका छन् । त्यसैको प्रतिक्रिया स्वरुप उनले अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति आफूले भनेको मान्छे नियुक्त गर्न चाहेको कांग्रेस स्रोत बताउँछ । मन्त्री पौडेल पोखरा लिएर धरानको बीपी कोइराला प्रतिष्ठान एमालेलाई दिन तयार छन् ।


अर्कोतर्फ एमालेका नेताहरुले पोखरा प्रतिष्ठान कुनै हालतमा छाड्न नहुने भन्दै प्रधानमन्त्री ओलीलाई गुहारेका छन् । ‘विगतमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान एमालेकै मान्छे नियुक्त भएका छन् । अहिले अर्को पार्टीबाट नियुक्त हुँदा त्यहाँ सबै माहोल बिग्रन्छ,’ एमाले स्रोत बताउँछ । राजनीतिक भागबन्डाको रस्साकस्सीले उपकुलपति नियुक्तिको संवैधानिक प्रक्रिया नै प्रभावित बनेको छ । सिफारिस समिति गठन भएको डेढ महिनासम्म कुनै औपचारिक निर्णय नभएको र सर्टलिस्टसमेत नबनेको स्वास्थ्य मन्त्रालयकै अधिकारीहरूले स्वीकार गरेका छन् ।


यसबिचमा, पोखरामा निमित्त उपकुलपति जिम्मा डा भरतबहादुर खत्रीले पाएका छन् । तर, स्थायी नियुक्ति नभएको अवस्थाले प्रतिष्ठानको नीति, योजना र शैक्षिक गतिविधिमा असर परेको छ । स्वास्थ्य क्षेत्र सुधार र प्राविधिक नेतृत्वमा पारदर्शी नियुक्तिको प्रतिबद्धता जनाउँदै आएको सरकारकै नेतृत्वमा राजनीतिक भागबन्डा आधार बनेर नियुक्ति प्रक्रिया लम्बिनु विडम्बनापूर्ण हो ।


स्वास्थ्य शिक्षा क्षेत्रका जानकारहरू भन्छन्, ‘राजनीतिक भागबन्डाका कारण योग्यता, अनुभव र समर्पणभन्दा बढी दलगत सिफारिस निर्णायक बन्नु दुर्भाग्यपूर्ण हो ।’ गठबन्धनभित्रको भागबन्डा विवाद मिल्न नसके उपकुलपति नियुक्तिको प्रक्रिया अझ लम्बिने देखिन्छ । राजनीतिक सहमतिमा नेतृत्व नटुंगिएसम्म पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व अन्योलमै रहने देखिन्छ ।

तपाईको प्रतिक्रिया