पोखरा १३ मा निःशुल्क स्वास्थ्य जाँच

समाधान संवाददाता २०८२ साउन २१ गते १२:१०

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १३ ले वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आएका लाभग्राहीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


वडाले आगामी २०८२ साल साउन महिनामा वडा कार्यालय परिसरमै कार्यक्रम आयोजना गर्ने वडाध्यक्ष किरण बरालले जानकारी दिए । ‘वडाले एक जना फिजिसियनबाट स्वास्थ्य परीक्षण गराइरहेको छ । साथै डेंगुको जोखिम बढिरहेकाले डेंगु परीक्षणका लागि छुट्टै प्राविधिक समेत खटाइएको छ,’ बरालले भने ।


कार्यक्रममा स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधि पनि निःशुल्क वितरण गरिनेछ । वडा कार्यालयका अनुसार डेंगु परीक्षणका लागि विशेष व्यवस्था गरिएको छ भने अन्य रगतसम्बन्धी परीक्षणका लागि पनि छुट्टै एक स्वास्थ्यकर्मी तोकिएका छन् ।

Advertisement


सहयोगी संस्थाको रूपमा कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कमलपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कार्यक्रम सञ्चालनमा साथ दिएका छन् । वडाले सामाजिक सुरक्षा भत्ता नवीकरण र स्वास्थ्य सेवा एकै ठाउँमा उपलब्ध गराउन यो कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया