पोखराको बिरौटाबाट लागुऔषधसहित ३ जना पक्राउ

समाधान संवाददाता २०८२ साउन २१ गते १६:३२


पोखरा, २० साउन
पोखराबाट ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित दुई महिला र एक पुरुष गरी तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार स्याङ्जा घर भई हाल पोखरा–१७ बिरौटा घारीकुलो बस्ने ३२ वर्षीया रिना थापा मगर, स्याङ्जाकै फेदीखोला गाउँपालिका–४ घर भई हाल बिरौटा बस्ने ३४ वर्षीय विश्वास गुरुङ र पर्वत घर भई हाल बिरौटा बस्ने ३९ वर्षीया मिना थापा मल्ल पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले पोखरा महानगरपालिका–१७ बिरौटाबाट उनीहरुलाई ५०१ एम्पुल लागुऔषध र तीन थान मोबाइलसहित मंगलबार साँझ पक्राउ गरेको हो ।


बिरौटा क्षेत्रमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरोको पोखरा शाखा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार साँझ करिब पौने ८ बजे उनीहरु बस्ने कोठामा खानतलासी गरेको थियो । खानतलासीका क्रममा लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement


प्रहरीका अनुसार उनीहरुको कोठाबाट डाइजापाम १६६ एम्पुल, फेनेरागन १६९ एम्पुल र नुर्फिन १६६ एम्पुल गरी जम्मा ५०१ एम्पुल लागूऔषध बरामद भएको हो । प्रहरीले उनीहरुको साथबाट कारोबारमा प्रयोग भएको आशंकामा तीन थान मोबाइल पनि नियन्त्रणमा लिएको छ ।


पक्राउ परेका तीनैजनालाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरुलाई कास्की जिल्ला अदालतबाट थप अनुसन्धानका लागि १० दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरु र लागुऔषधको स्रोतबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया