गीता अध्ययन मण्डल रामघाटको अध्यक्षमा डा उलक चयन

समाधान संवाददाता २०८२ साउन २१ गते १६:५२

पोखरा ।
पोखराको प्रख्यात धार्मिक स्थल रामघाटमा अवस्थित गीता मन्दिर व्यवस्थापनका लागि गठित गीता अध्ययन मण्डलको ४६औं साधारण सभा तथा ३८औं अधिवेशन भएको छ ।


अधिवेशनबाट संस्थाका वरिष्ठ उपाध्यक्ष डा प्रेमप्रसाद उलक निर्विरोध अध्यक्ष चयन भएका छन् । अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा वजिरमान श्रेष्ठ, उपाध्यक्षमा प्रेमप्रसाद कर्माचार्य, सचिवमा शिवप्रसाद गौतम, सहसचिवमा पुष्प गौतम, कोषाध्यक्षमा शंकर गौतम र सदस्यमा ऋषिराम सापकोटा, रामबहादुर केसी, कृष्ण केसी, पवन गौतम, मीना गिरी, लक्ष्मी तिमल्सिना, प्रेमप्रसाद गौतम चयन भएको नवनिर्वाचित अध्यक्ष डा प्रेमप्रसाद उलकले जानकारी गराए ।


कार्यक्रममा नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले रामघाट क्षेत्र आफैँमा पवित्र स्थान रहेको र गीता झनै पवित्र रहेकाले सबैले त्यही रूपमा बुझ्नुपर्ने बताए ।

Advertisement


संस्थाका कार्यवाहक अध्यक्ष डा प्रेमप्रसाद उलकले संस्थाको वार्षिक प्रतिवेदन साथै भावी कार्ययोजना सभामा प्रस्तुत गरेका थिए । संस्थासँगै जोडिएको गण्डकी प्रदेशकै ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन आउने बिरामीका कुरुवाका साथै पोखरामा धार्मिक पर्यटनका रूपमा देशका विभिन्न स्थानलगायत भारतबाट समेत आउने धार्मिक तीर्थयात्रीलाई बास बस्न गीता आश्रमको परियोजना ल्याइएको र त्यसको डीपीआरसमेत तयार भइसकेको अध्यक्ष उलकले बताए ।


त्यसैगरी पोखरा महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्षसमेत रहेका संस्थाका कोषाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले गीता आश्रमका लागि आफूहरु स्थानीय तथा प्रदेश सरकारसम्म सहयोगका लागि प्रस्ताव लिएर गएको बताउँदै पोखरा महानगरपालिकाले सो परियोजनाका लागि रु. एक करोड बजेट विनियोजन गरिदिएको र प्रदेश सरकारले पनि अर्को वर्ष बजेट विनियोजनमा राखिदिने आश्वासन दिएको बताए ।

Advertisement


साथै शुभकामना मन्तव्य राख्दै करिब चार करोडको लागतमा तयार हुन लागेको सो गीता आश्रमका लागि गीता मन्दिरका संस्थापक डासु पण्डितका पुत्र कृष्णप्रसाद आचार्यले उक्त गीता आश्रमका लागि लाग्ने खर्चको २० प्रतिशत आफूले व्यहोर्ने बताए ।


संस्थाका कार्यवाहक अध्यक्ष डा प्रेमप्रसाद उलकको सभापतित्वमा आयोजित कार्यक्रम संस्थाका सचिव पवन गौतमले सञ्चालन गरेका थिए । संस्थाका कार्यसमिति सदस्य वजिरमान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।


कार्यक्रममा रवीन्द्र माकाजु, अनिता तिमल्सिना, दीपकबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थालाई विशेष योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो ।

सम्मानित हुनेहरुमा ज्योति गुरुङ, लीलाधर आचार्य र अध्यक्ष तोयानाथ गौतम थिए । सचिवको वार्षिक प्रगति प्रतिवेदन पवन गौतमले प्रस्तुत गरेका थिए । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन संयोजक शालिकराम भट्टराईले शपथ खुवाएका थिए ।

तपाईको प्रतिक्रिया