यातायात कार्यालय पोखराका सहयोगीविरुद्ध घुस अभियोगको मुद्दा दायर

समाधान संवाददाता २०८२ साउन २१ गते १९:४१

पोखरा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ हजार रुपैयाँ घुस लिएको आरोपमा यातायात व्यवस्था कार्यालय, कास्कीका एक कार्यालय सहयोगीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सवारी चालक अनुमतिपत्र शाखामा करारमा कार्यरत कार्यालय सहयोगी दीपक पौडेलविरुद्ध अख्तियारले मंगलबार काठमाडौंस्थित विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो।

अख्तियारका अनुसार पौडेलले सवारी चालक अनुमति पत्र बनाउन आएका एक सेवाग्राहीसँग घुस रकम माग गरेका थिए। उनले अनुमति पत्रका लागि अनलाइन फाराम भरिदिने, लिखित परीक्षा उत्तीर्ण गराइदिने र ट्रायल परीक्षामा समेत पास गराइदिने आश्वासन दिएर सेवाग्राहीसँग रकम मागेको अख्तियारले जनाएको छ। सोही सूचनाका आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले पौडेललाई सेवाग्राहीबाट सात हजार रुपैयाँ लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो।

Advertisement

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जारी गरेको विज्ञप्तिअनुसार अनुसन्धानका क्रममा कार्यालय सहयोगी पौडेलले बदनियतपूर्वक घुस लिएको पुष्टि भएको छ। ‘सवारी चालक अनुमति पत्रको अवधि नपुगी अनलाइन फाराम भरिदिने, लिखित परीक्षामा पास गराइदिने र ट्रायलमा समेत सहयोग गर्ने भनी बदनियत राखी सेवाग्राहीबाट सात हजार रुपैयाँ घुस रिसवत माग गरी लिएको पुष्टि हुन आएको छ,’ अख्तियारको आरोप-पत्रमा उल्लेख छ।

अख्तियारले पौडेलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा सात हजार रुपैयाँ बिगो कायम गरेको छ। अख्तियारले बिगोबमोजिम जरिवाना र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजायको मागदावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

Advertisement

तपाईको प्रतिक्रिया