विधान महाधिवेशनका लागि राय संकलन गरिने

पोखरा ।
नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले पार्टीको दोस्रो विधान महाधिवेशनका लागि राय, सुझाव संकलन गरी पठाउने निर्णय गरेको छ । अन्तर पार्टी निर्देशन १२ अनुसार विधान संशोधन प्रस्तावलाई जिल्ला कमिटी लगायत मातहतका कमिटी बैठक बसेर आगामी भदौ १२ गतेसम्म केन्द्रीय कमिटीमा सुझाव पेश गर्ने अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए ।
एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी स्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदै छ । महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधन प्रस्तावका लागि एमालेले सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफल गरी अन्तिम रुप दिएर सुझावका लागि मातहतका कमिटीमा पठाएको छ ।
देशभरिबाट प्राप्त सुझावका आधारमा विधान मस्यौदा समितिले विधान संशोधन प्रस्ताव प्रतिवेदनलाई अन्तिम रुप दिने एमालेले जनाएको छ । पार्टीका स्थायी कमिटीका सदस्य तथा गण्डकी प्रदेशका इन्चार्ज किरण गुरुङले विधान महाधिवेशनले पार्टीको नीति, विधि र भावी नेतृत्वका बारेमा ठोस निर्णय गर्ने जानकारी दिए । उनले ११ औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीको विकल्प नभएको बताए ।
‘नेतृत्व छान्ने महाधिवेशन र नीति बनाउने महाधिवेशन एकै पटक हुँदा नेतृत्वका बारेमा मात्र बहस र प्रतिष्पर्धाले नीतिका कुरा ओझेलमा परे,’ उनले भने, ‘नीति र विधिलाई व्यवस्थित रुपमा बनाउन एमालेले विधान महाधिवेशनको छुट्टै व्यवस्था गरेको छ ।’ उनले विधान महाधिवेशनको लागि १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि स्वतः प्रतिनिधि हुने व्यवस्था गरेको जानकारी दिए । एमालेले २०७८ सालमा पहिलो प्रथम विधान महाधिवेशन गरेको थियो ।
विधान महाधिवेशनको लागि राय सुझाव पेश गर्न पार्टी सदस्यलाई बराबर अधिकार हुने जानकारी दिँदै उनले महाधिवेशनले अर्को ५ वर्षको लागि नीति र विधि तय गर्ने बताए । पाटीको नीति र विधिलाई खाने खट्टे जस्तो बनाउन नहुने तर्क गर्दै नेता गुरुङले नीति र विधिलाई पटक पटक संशोधन गर्न नपर्ने दीर्घकालीन बनाउने जानकारी दिए । दीघकालीन नीतिले राजनीतिक क्षेत्रले स्थायित्व प्राप्त गर्ने विश्वास व्यक्त गरे । विधान महाधिवेशनपछि पार्टीलाई नीति र विधिमा चलाएर मिसन ८४ लाई सफल बनाउने दाबी गरे ।
अहिलेको नेतृत्व केपी ओलीको भएकोले कुनै शंका नगर्न कार्यकर्तालाई आग्रह गर्दै उनले केपी ओलीलाई नेता मानेपछि गुटबन्दी गर्ने छुट कसैलाई नभएको बताए । उनले नेता तथा कार्यकर्ता संस्थापन पक्षको निर्णयमा चल्न पर्ने उल्लेख गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु कृष्ण थापा, भीम कार्की, चूडामणि जंगली, प्रभा कोइराला, गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, जिल्ला कमिटी कास्कीका अध्यक्ष अधिकारी क्षत्री उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामा, सुकुम्बासी समस्या समाधान आयोग कास्की अध्यक्ष बैनबहादुर गुरुङ लगायतले बोलेका थिए ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया