पहिले देशभक्त कर्मचारी अनि युनियन बन्नुस् : मुख्यमन्त्री पाण्डे

समाधान संवाददाता २०८२ साउन २२ गते २०:३१

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारी सेवामा लागेकाहरुलाई पहिला सच्चा देशभक्त कर्मचारी अनि पछि कर्मचारी युनियनको चिनारी दिन आग्रह गरे ।

नेपाली कांग्रेस निकट सरकारी कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियन, कास्कीको नवौं तथा पहिलो प्रदेश विभागीय अधिवेशन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पाण्डेले कर्मचारीहरु नागरिकमैत्री हुनुपर्नेमा जोड दिए । ‘पहिला म राष्ट्रसेवक कर्मचारी हुँ अनि म ट्रेड युनियनकर्मी हुँ भन्ने बुझेका साथीहरु कर्मचारी युनियनको नेतृत्वमा आउनुस्,’ उनले भने । कर्मचारी समाजको ऐन भएकाले सोही अनुसार व्यवहार र काम गर्न उनको सुझाव थियो । ‘हामीले सबैभन्दा बढि कुरा गर्ने सुशासन व्यक्ति आफैबाट सुरु हुनुपर्छ ।

हामीले दिने डेलिभरी चाहे राजनीतिक हवस वा कर्मचारीतन्त्र जुनसुकै ठाउँमा सुशासन देखिनुपर्छ,’ उनले भने, ‘राजनीति र कर्मचारीतन्त्रबाट सुशासनमा कमी भएकाले जनताले हाम्रा कार्यशैलीप्रति प्रश्न उठाएका हुन की? यसमा हामी अलि गम्भिर हुनुपर्छ ।’

Advertisement

कर्मचारीहरुको क्षमता वृद्धिविकास र अधिकारका सम्बन्धमा प्रदेश सरकार र पार्टीको केन्द्रीय सदस्यका नाताले नेपाली कांग्रेस पार्टीले पहल गरिरहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए । त्यसमा संघले ८ वर्षसम्म पनि संघीय निजामती ऐन नल्याएका कारण केही समस्य भएको उनले सुनाए । जसले गर्दा प्रदेशले बनाउने ऐन बनाउने र अन्य सन्दर्भमा असर परिरहेको उनको भनाइ थियो । ‘संघीय निजामती ऐन आउनै नसक्ने गरी प्रसव पिडामा बस्छ भनेर मलाई पनि लागेको थिएन्,’ उनले भने, ‘त्यो ऐन आएपछि त्योसँग बाझिने केही प्रावधान भएमा हामीले सच्याउनुपर्छ । त्यो बेला नै तपाईहरुका कुरा पनि संसोधनका माध्यमबाट अगाडि बढाउँला भनेर मैले ट्रेड युनियनकर्मी साथीहरुलाई भनेको थिए । तर यो धेरै ढिला भएको छ ।’

कर्मचारी सरुवाको विषयलाई व्यवस्थित बनाउन कर्मचारी सरुवा सम्बन्धी मापदण्ड निर्माण भइरहेको उनले जानकारी दिए । अबको मन्त्रिपरिषद्को बैठकले त्यो मादण्ड पास एउटै जिल्ला मात्र, एउटै कार्यालय मात्र बस्नुनपर्ने गरी समन्यायिक ढंगबाट अघि बढ्ने उनले बताए । त्यस्तै पालिकाबाट अवकासपछि कर्मचारीलाई दिइने उपदान वा सेवाका लागि कोष बनाउने गरी कानुन बनाउन लागि रहेको उनले सुनाए ।

Advertisement

प्रदेश संरचनामा खर्च बढि भयो भन्ने जनताको गुनासो सम्बोधन गर्दै बनेको प्रशाननिक पुर्नसंरचना समितिको रिपोर्ट आइसकेकाले सोही अनुसार चरणवद्ध रुपमा काम गर्दै जाने निर्णय भइसकेको मुख्यमन्त्री पाण्डेले बताए । रिपोर्ट अनुसार कोही पनि स्थायी कर्मचारीको जागिर नजाने गरी कार्यान्वयन गरिने भएकाले कर्मचारीहरुलाई भ्रमित नहुन उनको आग्रह छ । ‘कर्मचारीहरुको वृतिविकासमा केही असर नपर्ने गरी हामी यसलाई पुनसंरचना गर्दैछौं । कुनै कार्यालयहरु मर्ज हुन सक्छन्,’ उनले भने, ‘त्यो लागू हुँदा केही कर्मचारी संख्या कटौती हुन्छ र केही कार्यालय समायोजन हुन्छन् । जसले गर्दा प्रदेश सरकारले गर्नुपर्ने काम र कर्मचारीको वृतिविकासमा पनि बाधा पर्दैन् ।’ समितिको रिपोर्ट अनुसार प्रशासनीक खर्च घटाउन सकियो भने वार्षिक ५० करोड खर्च घट्ने अनुमान गरिएको उनले बताए । यसमा कर्मचारीहरुले साथ दिनुपर्ने उनले सुनाए ।

कार्यक्रममा नेपाली कांग्रेस, गण्डकीका सभापति शुक्रराज शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य पौडेल, गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललागयतले कर्मचारी नेपाल निजामती कर्मचारी युनियनका सदस्यहरुले कांग्रेसको कर्मचारीले राम्रो राम्रो काम मात्र गर्छ भन्ने सन्देश दिनेगरी सेवा दिनुपर्नेमा जोड दिएका थिए ।

शुक्रबारसम्म चल्ने अधिवेशनमा नेपाल निजामती कर्मचारी युनियन, कास्की अध्यक्ष सुरेशकुमार श्रेष्ठले ३ वर्षमा कार्यसमितिले गरेको प्रगति विवरण सुनाएका थिए । बिहीबार नै बन्दसत्र सक्ने र सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने नभए शुक्रबार बिहानदेखि निर्वाचनका प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन, कास्कीलाई ३ वर्षे कार्यकालमा सहयोग गर्ने मुकुन्दराज पौडेल, राजेन्द्रप्रसाद पौडेल, डालाराम बसौला, मुक्ति गिरी, काशिराम पौडेल, डार्बिन लम्साल, राजेन्द्रप्रसाद पौडेल, अर्जुन गुरुङ, लक्ष्मीभद्र वाग्ले, मधु अधिकारी, प्रकाश ढकाल, रमेश पौडेल, नविन सिग्देल र सुरेन्द्रप्रसाद अधिकारीलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया