पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय कुरेर बस्दै शिक्षक

पर्वत । बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँहरू रित्तिँदै जाँदा पर्वतमा ३१ वटा सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका छन् ।
जिल्लाका सातवटै पालिकामा रहेका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन बनेका हुन् । शून्य विद्यार्थी हुने अधिकांश विद्यालय आधारभूत र प्राथमिक तहका रहेका छन् । लामो समयदेखि विद्यार्थी संख्या शून्य भइसक्दा पनि विद्यालयहरू समायोजन गर्ने प्रक्रिया समेत थालिएको छैन ।
जिल्लाका सात स्थानीय तहमा २७२ सामुदायिक विद्यालय रहेका छन् । विद्यार्थी शून्य हुनेमा एक माध्यमिक तहको विद्यालय समेत रहेको छ । जिल्ला शिक्षा समन्वय एकाइ पर्वतले दिएको जानकारीअनुसार विहादी गाउँपालिकामा दुई सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या शून्य रहेको छ । मोदी गाउँपालिकामा नौ विद्यालयमा विद्यार्थी संख्या शून्य भएको छ ।
यसैगरी फलेवास नगरपालिकामा छ वटा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य पुगेको हो भने कुश्मा नगरपालिकामा विद्यार्थी संख्या शून्य भएका आठ सामुदायिक विद्यालय रहेका एकाइले जानकारी दिएको छ ।
यस्तै जलजला गाउँपालिकामा चार सामुदायिक विद्यालयमा विद्यार्थी शून्य रहेका छन् भने दक्षिण पर्वतको पैयुँ गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य रहेको जिल्ला शिक्षा समन्वय एकाइ पर्वतका प्रमुख मतिलाल चपाईले जानकारी दिए । उनका अनुसार फलेवास नगरपालिका–५ मा रहेको ध्रुवनमुना माध्यमिक विद्यालयसहित ३१ सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य रहेको भए पनि स्थानीय तहहरूले समायोजन गर्ने वा शिक्षकलाई विद्यार्थी भएको विद्यालयमा खटाउने काम नगरेको बताए ।
शून्य विद्यार्थी संख्या हुँदा पनि सञ्चालनमै रहने विद्यालयहरूमा कुश्मा नगरपालिकाभित्रका हर्राचौर प्रावि, जनजागृति प्रावि, जनकल्याण प्रावि, मरांगसिंह प्रावि, सहिद शुक्र प्रावि ठुलीपोखरी, धौलागिरि प्रावि, जनता प्रावि रहेका छन् । जलजला गाउँपालिकामा शून्य विद्यार्थी हुने विद्यालयहरूमा जनचेतना प्रावि शालिजा, सर्वोदय आधारभूत विद्यालय शालिजा, सरस्वती आधारभूत विद्यालय धाइरिङ रहेका हुन् ।
यसैगरी फलेवास नगरपालिकामा शून्य विद्यार्थी हुनेमा वाल प्रावि, ध्रुव नमूना मावि, सूर्योदय प्रावि, जनता प्रावि लिमिठाना, तीनधारे प्रावि, मनकामना प्रावि, बेतेयानी प्रावि, देउराली प्रावि र भवानी प्रावि रहेका छन् । यसैगरी दक्षिण पर्वतको पैयुँ गाउँपालिकामा शून्य विद्यार्थी हुनेमा वालनयन प्रावि, बालज्योति प्रावि हुन् । मोदी गाउँपालिकामा शून्य विद्यार्थी हुनेमा सिद्ध आधारभूत विद्यालय, कृष्ण आधारभूत विद्यालय, जनप्रकाश आधारभूत विद्यालय, हरि आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, वालकल्याण प्राथमिक विद्यालय, भूमे आधारभूत विद्यालय, लक्ष्मी आधारभूत विद्यालय, दुर्गाभवानी आधारभूत विद्यालय र सिद्धबराह आधारभूत विद्यालय रहेका छन् ।
यता विहादी गाउँपालिकामा जनसेवा प्रावि वहाकीठाँटी र बालज्योति प्रावि रानीपानीमा विद्यार्थी संख्या शून्य रहेको जिल्ला शिक्षा समन्वय एकाइ पर्वतले जनाएको छ । यसरी विद्यार्थी नै नभएका विद्यालयको संख्या ३१ पुगिसक्दा पनि पर्वतका स्थानीय सरकारहरूले विद्यालय समायोजन गराउन कुनै चासो नदिएको फलेवासका स्थानीय धर्म पौडेलले बताए ।
शिक्षकहरूलाई विद्यार्थी नै नभएका विद्यालयमा राखेर तलब सुविधा दिलाउने गरिएको छ । राज्यको बजेटको दुरुपयोग हुने भए पनि बाध्यतामा परेर शिक्षकहरू राख्नुपरेको फलेवास नगरपालिका–२ थापाठानाका वडाध्यक्ष गंगानारायण श्रेष्ठले बताए ।
अहिले विद्यार्थी नभए पनि आगामी दिनमा विद्यार्थी आउन सक्ने भन्दै विद्यालयलाई समायोजन नगरिएको बुझिएको उनको भनाइ छ । शिक्षकहरूलाई सरुवा गर्नुको सट्टा रित्ता विद्यालय रुँगाएर जनप्रतिनिधिले राजनीतिक संरक्षण गरिरहेको पाइएको छ । करार, राहत शिक्षक र कार्यालय सहयोगीको रोजगारी जाने भएका कारण पनि कतिपय विद्यालय समायोजन नगरिएको कतिपय जनप्रतिनिधिले नै बताउने गरेका छन् । रासस









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया