यमलाल देवकोटाको स्मृतिमा शैक्षिक बहस

समाधान संवाददाता २०८२ साउन २४ गते १८:५५

पोखरा । यमलाल देवकोटा स्मृति शैक्षिक प्रतिष्ठान अन्नपूर्ण ६ कास्कीले सामुदायिक शिक्षाको बारेमा बहस गरेको छ । शिक्षासेवी यमलाल देवकोटाको ६० औं जन्म जयन्तीको सन्दर्भमा प्रतिष्ठानले उनकै जन्मस्थल लुम्लेमा बहसको अलवा अन्नपूर्ण गाउँपालिका स्तरीय निबन्ध प्रतियोगिता विजेता विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयको व्यवस्थापनमा भएको कार्यक्रममा राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्मृति दीप स्मारिकाको विमोचन गरे । उनले शिक्षाको क्षेत्रमा लगानी बढाएर सामुदायिक शिक्षाको सवलीकरण गर्नुपर्ने बताए । उनले सामुदायिक विद्यालय सवल र सक्षम भएमा शैक्षिक गुणस्तर कायम गर्न सहयोग पुग्ने बताए ।

‘शिक्षामा समर्पित जीवनः यमलाल देवकोटाको प्रेरणा’ शीर्षकमा भएको निबन्ध प्रतियोगितामा माछापुच्छ्रे माविकी मनिषा सुनार प्रथम भएकी थिइन् । प्रतियोगितामा शितला माविकी मनिषा पौडेल द्वितीय, माछापुच्छ्रे माविकै अंकित अधिकारी तृतीय र सिर्जना माविकी प्रज्ञा सुवेदीले सान्त्वना पुरस्कार पाएका छन् । संगम मावि लुम्लेमा भएको प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाका ११ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

Advertisement

प्रतिनिधि सभाका सदस्य तथा प्रतिष्ठानका अध्यक्ष दामोदर बैरागीले प्रतिष्ठानले शिक्षासेवी देवकोटाको स्मरणमा शैक्षिक गतिविधि गर्ने जानकारी दिए । कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, एमाले कास्कीका कार्यालय सचिव रामप्रसाद खनाल, एमाले जिल्ला सल्लाहकार परिषद्का सदस्य केशवप्रसाद आचार्य, प्रतिष्ठानका उपाध्यक्ष किर्तिनाथ देवकोटा, कोषाध्यक्ष लिला अधिकारी देवकोटा, सदस्य विवेक देवकोटा, स्मृति दीप स्मारिकाका भाषा सम्पादक विष्णुहरि त्रिपाठी, जगन्नाथ अधिकारी,नेत्र चापागाईं लगायतले सामुदायिक शिक्षाको सवलीकरणमा जोड दिए ।

Advertisement

तपाईको प्रतिक्रिया