बिजुली किन्छौं, उडान भर्छौं तर बाटो र नीति सहज छैन: बंगलादेशी राजदूत

पोखरा ।
बंगलादेश नेपालको बिजुली किन्न र पोखरामा सिधा हवाई उडान भर्न तयार भए पनि भारतीय भूमि हुँदै आउने व्यापारिक मार्ग र नेपालको असहज नीतिका कारण सहकार्यमा बाधा पुगेको बंगलादेशका राजदूत मोहम्मद सापिकुर रहमानले बताएका छन् । पोखरा उद्योग वाणिज्य संघसँगको अन्तरक्रियामा उनले उपभोगले नभई औद्योगिकीकरणले मात्र देशको अर्थतन्त्र उकासिने भन्दै उत्पादन र व्यापार सहजीकरणमा जोड दिए ।
राजदूत रहमानले काँकडभिट्टा-फूलबारी-बंगलाबन्द व्यापारिक मार्ग सञ्चालनमा आए पनि त्यसबाट पूर्ण लाभ लिन नसकिएको बताए । ‘क्रस बोर्डर भौतिक पूर्वाधार निर्माण तथा भन्सार शुल्कलगायतका विषयमा धेरै सुधार गर्न बाँकी छ,’ भारतीय भूभागको असहजताप्रति संकेत गर्दै उनले भने, ‘व्यापारलाई भू-राजनीतिक मामिलाबाट टाढा राख्नुपर्छ ।’ उनले बंगलादेशको औषधि उद्योग नेपाल आउन खोज्दा सहज वातावरण नपाएको गुनासो समेत गरे ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले राखेको पोखरा–ढाका सिधा उडानको प्रस्तावमा राजदूत रहमानले सकारात्मक जवाफ दिए । ‘बंगलादेशका हवाई कम्पनीहरू पोखराबाट उडान भर्न तयार छन् र यसको प्रक्रिया सुरु भइसकेको छ,’ उनले भने । उनले पोखराजस्तो पर्यटकीय सहरमा ‘हलाल फुड’ को राम्रो सम्भावना रहेको र त्यसमा बंगलादेशले सघाउन सक्ने धारणा राखे ।
कार्यक्रममा संघका अध्यक्ष कार्कीले बंगलादेशले नेपाली चिया, अदुवा, अलैँचीलगायत कृषिजन्य वस्तुको निर्यातमा सहजीकरण गरिदिन आग्रह गरे । उनले सन् २०२६ मा दुवै देश विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुँदा आउने चुनौती सामना गर्न व्यापारिक सहकार्य आवश्यक रहेको बताए । ‘बंगलादेशी मुद्रालाई नेपालले परिवर्त्य मुद्राको मान्यता दिएसँगै पर्यटक आगमन बढेको छ,’ उनले भने, ‘सिधा उडानले पर्यटन र व्यापार दुवैलाई फाइदा पुग्छ ।’
छलफलमा राजदूत रहमानले नेपाल र बंगलादेशबीच कृषि, प्रविधि हस्तान्तरण र आयुर्वेदिक औषधिको क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको औँल्याए । उनले नेपाली पस्मिना र एलोभेराको बंगलादेशमा राम्रो बजार रहेको समेत बताए ।







हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
गृह र अध्यागमनको टोली कोरला नाकामा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया