पोखरामा ३१औं विश्व आदिवासी दिवस मनाइयो

समाधान संवाददाता २०८२ साउन २५ गते ६:२१

पोखरा ।

कास्कीका आदिवासी जनजातिहरूले ३१औं विश्व आदिवासी दिवस मनाएका छन् । ‘प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, आदिवासी अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र (युएनड्रिप) र आदिवासी अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) महासन्धि १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ मूल नाराका साथ तमु धिं नेपालको सभाहलमा मूल समारोहको आयोजना गरी कास्कीमा विश्व आदिवासी दिवस मनाइएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले नेपालको हरेक राजनीतिक परिवर्तनमा आदिवासी जनजाति समुदायले महत्वपूर्ण भूमिका खेलेको बताए । आदिवासी जनजातिको अधिकार सम्बन्धमा संविधानमा उल्लेखित कुरालाई कानुन बनाएर लागू गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले प्राप्त अधिकारलाई प्रयोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

Advertisement

आदिवासी जनजाति भाषिक, सांस्कृतिक हिसाबले अत्यन्त समृद्ध समुदाय भएको भन्दै सभामुख धितालले राजनीतिक रुपमा समेत सचेत हुन आवश्यक भएको उल्लेख गरे । हालै मात्र गण्डकी प्रदेशसभाले गण्डकी प्रदेशमा मगर भाषा र गुरुङ भाषालाई सरकारी कामकाजको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको र प्रदेश प्रमुखले त्यसलाई प्रमाणिकरण समेत गरिसकेको भन्दै सभामुख धितालले संविधान कार्यान्वयनको प्रक्रियामा यो एउटा महत्वपूर्ण कदम भएको बताए ।

नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद्का उपाध्यक्ष क्षेत्रबहादुर थकालीले आदिवासी जनजातिको हक, अधिकार स्थापित गर्न एकताबद्ध हुन आवश्यक रहेको भन्दै संविधानमा भएका कुरालाई लागू गर्दै जानुपर्ने र नभएका कुरा प्राप्तिका लागि संघर्ष गर्न आवश्यक रहेको बताए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समन्वय परिषद्का अध्यक्ष धर्म गुरुङ, नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालकृष्ण काउछामगर, तमु धिं नेपालका केन्द्रीय अध्यक्ष हुमबहादुर गुरुङलगायतले आदिवासी जनजातिका प्राप्त अधिकारलाई कार्यान्वयन गर्दै बाँकी अधिकार प्राप्तिको दिशामा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

Advertisement

सो अवसरमा आदिवासी जनजाति र अधिकारबारे वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले प्रशिक्षणमूलक सहजीकरण गरेका थिए । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष विजेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गमबहादुर गुरुङ, सचिव भीमकुमारी पुनमगरले पनि बोले ।


तपाईको प्रतिक्रिया