बागलुङ–पोखरा मगर समाजको १९औं वार्षिक साधारणसभा

समाधान संवाददाता २०८२ साउन २५ गते ६:२९

पोखरा ।

बागलुङ–पोखरा मगर समाजको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सचिव कृष्ण पुनमगरले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष नरमाया पुनमगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

यसअघि, साधारणसभाको उद्घाटन गर्दै समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार क्या. मीनबहादुर पुनमगरले समाजको स्थापनामा अग्रजहरूले महत्वपूर्ण भूमिका खेलेको बताए । १९ वर्षसम्म आइपुग्दा समाजले धेरै काम गर्न सफल भएको भन्दै उनले एकताबद्ध भएर अघि बढ्दा धेरै कुरामा सफलता पाउन सकिने धारणा व्यक्त गरे । समाजले अहिलेको अवस्थामा आफ्नै सभाहल निर्माण गर्न सफल भएको भन्दै क्या. पुनमगरले भाषा र संस्कृति संरक्षणका लागि समेत थुप्रै गतिविधि गरेको उल्लेख गरे ।

Advertisement

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक दीपक थापामगरले समाजलाई कानुनी रुपमा सचेत बनाउन आवश्यक रहेको भन्दै कानुनी अनभिज्ञताका कारण कैयन् मानिसले दुःख पाइरहेको उल्लेख गरे । समाजमा हुने अपराध नियन्त्रण गर्न यस्ता समाजले महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै प्रहरी निरीक्षक थापामगरले मगर समाजलाई शिक्षित र सचेत बनाउन आवश्यक रहेको बताए ।

त्यस्तै, समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार भीमबहादुर श्रीसमगरले मगर समुदायलाई राजनीतिक रुपमा सचेत बनाउन आवश्यक रहेको बताए । राजनीतिक रुपमा अघि नबढेसम्म मगर समुदाय सधैं पछि परिरहने भन्दै उनले समुदायको विकासका लागि राजनीति नै मुख्य कुरा रहेको उल्लेख गरे । अर्का पूर्व अध्यक्ष एवं सल्लाहकार रामबहादुर पुनमगरले समाजलाई सबै वर्गका मगरको साझा संस्था बनाउन आवश्यक रहेकोमा जोड दिँदै पोखरामा बसोबास गर्ने सम्पूर्ण बागलुङे मगरलाई समाजमा संगठित गर्न आवश्यक रहेको बताए ।

Advertisement

समाजका अध्यक्ष सुबेदार मेजर चन्द्रबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रूद्रबहादुर श्रीसमगर, सचिव कृष्ण पुनमगर, कार्यसमिति सदस्य एवं खेलकुद संयोजक राकेश थापामगर र महिला संयोजक डिलमाया रानामगरले पनि बोलेका थिए । कार्यक्रममा प्रमुख अतिथि क्या. मीनबहादुर पुनमगर, प्रहरी निरीक्षक दीपक थापामगर, पूर्व सल्लाहकार दानबहादुर श्रीसमगर, माया पुनमगर, धनराज सुनारलगायतलाई सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया