प्रतिभा माविद्वारा कक्षा १२ का उत्कृष्ट विद्यार्थी सम्मानित

समाधान संवाददाता २०८२ साउन २५ गते १४:२४

पोखरा

राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै प्रकाशित कक्षा १२ को परीक्षामा उत्तीर्ण विद्यार्थीलाई पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयले आइतबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ। कार्यक्रममा व्यवस्थापन, होटल व्यवस्थापन र विज्ञान संकायमा उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै उनीहरुको आगामी शैक्षिक यात्राबारे जानकारी समेत दिइएको थियो।

Advertisement

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कार्यक्रमको उद्घाटन गरे। सो अवसरमा उनले कक्षा १२ को परिणामले सिंगो पोखरालाई गर्वको अनुभूति गराएको बताए। विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावकको मेहनतले उत्कृष्ट परिणाम आएको र त्यसको हकदार महानगरपालिका पनि भएको उनको भनाइ थियो।

कक्षा १२ मा असफल हुँदैमा वा कम अंक आउँदैमा कुनै पनि विद्यार्थी आत्तिन नहुने उनले बताए। ‘विद्यालय तहमा बारम्बार असफल भएका विद्यार्थीले पनि विश्वविद्यालय तहमा उत्कृष्ट अंक ल्याउने गरेका छन्। त्यसैले अहिले कम अंक आउँदैमा वा असफल हुँदैमा हरेस खानु हुँदैन,’ मेयर आचार्यले भने।

Advertisement

उत्तीर्ण विद्यार्थीलाई अबको पढाइकाबारेमा सुझाउँदै मेयर आचार्यले अध्ययनका लागि पर्याप्त विकल्प रहेको र आफ्नो इच्छा, आकांक्षा तथा रुचिअनुसार विषय छनोट गर्नुपर्ने बताए। ‘मनले जे भन्छ, त्यही विषय पढौँ, बुबाआमा वा छिमेकीका लागि पढ्ने होइन। आफ्नो चाहनाअनुसारको विषय पढ्दा पक्कै सफल भइन्छ,’ उनले भने, ‘आफैले आफैलाई सोधेर पढौँ। अहिले पढेको पढाइले कम्तीमा राज्यलाई केही न केही योगदान दिनुपर्छ।’

उनले विद्यार्थीलाई स्नातक तह पूरा नगरी विदेश नजान सुझाव दिए। विदेशमा अध्ययनसँगै काम गर्दा निकै सकस हुने भन्दै उनले भने, ‘कम्तीमा स्वदेशमा स्नातक तह पढेर जानुहोस्। १२ कक्षापछि नेपालको सिमाना नै नदेख्ने गरी पर्दा लगाउने अवस्था नहोस्।’

प्रतिभा माविका प्राचार्य किरण सापकोटाले यस पटकको नतिजाले विद्यालयको इतिहास रचेको बताए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा देशकै सर्वाधिक ३.९६ जीपीए ल्याउने नौ जना विद्यार्थी प्रतिभाकै रहेको जानकारी दिँदै उनले यसले विद्यालयको इतिहास रचेको उल्लेख गरे। ‘समग्रमा पोखराको १२ कक्षाको परिणाम अध्ययन गर्ने हो भने प्रतिभाको नतिजाले यो पटक निकै नै फड्को मारेको छ। यो समग्रमा पोखराका लागि पनि गर्वको कुरा हो,’ उनले भने, ‘प्रतिभाले बारम्बार फरक फरक क्षेत्रमा इतिहास रचेको थियो। यो पटक देशकै उत्कृष्ट नतिजामा आफूलाई हकदार साबित गरेको छ।’

प्रतिभाबाट १२ कक्षा उत्तीर्ण गरेर गएका विद्यार्थीले विभिन्न प्रवेश परीक्षामा आफूलाई अब्बल साबित गराएको पनि उनले बताए। ‘अहिले प्रतिभाको सपनामा अझ अर्को इँटा थपिएको छ। प्रतिभामा सिकेको आत्मविश्वासले सबै विद्यार्थीको भविष्य उज्ज्वल बन्नेछ,’ उनले भने।

प्रतिभा माविका सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले प्रतिभाले हरेक वर्ष शैक्षिक क्षेत्रमा छुट्टै पहिचान कायम गर्दै आएकोमा यो पटक त्यसले थप निरन्तरता पाएको बताए। ‘प्रतिभाको इतिहासमा इँटा थप्न यो पटक विद्यार्थीले ठूलो योगदान दिएका छन्। विद्यार्थीले कोरेको यो इतिहासलाई आगामी दिनमा निरन्तरता दिन विद्यालय अझ लाग्नेछ,’ पौडेलले भने, ‘उत्कृष्ट शिक्षा प्रदान गर्नका लागि प्रतिभा सधैँ तयार छ।’

तपाईको प्रतिक्रिया