लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्षको घोडा बन्यो च्याम्पियन

जोमसोम ।
यार्तुङ मेला २०८२ अन्तर्गत शुक्रबार सञ्चालन भएको कदम घोडा दौड प्रतियोगितामा मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको ङाङ्पा नामको घोडा च्याम्पियन बनेको छ ।
कदम घोडा दौड प्रतियोगितामा सहभागी १९ वटा घोडामध्ये बिष्टको घोडा सर्वाधिक अंक जोड्दै च्याम्पियन बनेको हो । जनप्रिय युवा क्लब पुराङ रानीपौवा बजारको करिब ३ सय मिटरमाआयोजना भएको कदम घोडा दौड प्रतियोगितामा गाउँपालिका अध्यक्ष बिष्टको घोडाले ५० पूर्णाङकमा ३८ अंक प्राप्त गर्दै च्याम्पियन बनेको हो ।
प्रतियोगिताको च्याम्पियन घोडाका मालिक विष्टले नगद १ लाख ५० हजार पुरस्कारसहित सिल्ड, मेडल, ट्रफी र प्रमणपत्र हात पारे । मनाङका फुन्जोक गुरुङको घोडाले ३७ दशमलव ५ अंक जोड्दै दोस्रो हुँदा मुस्ताङका खुसी तामाङको (सक्पा) घोडा तेस्रो ठहरियो । दोस्रो हुनेले नगद ८० हजार र तेस्रो हुनेले नगद ५० हजारसहित मेडल र प्रमाणपत्र पायो ।
प्रतियोगितामा उत्कृष्ट घोडाको साजसज्जा विधातर्फ वारागुङ ५ तिरीका नोर्बु गुरुङ प्रथम, लोघेकर दामोदरकुण्ड २ घमीका राजु विष्ट दोस्रो र घरपझोङ—५ ढुम्बा चिम्लेका कर्म गुरुङ तेस्रो भए ।
घोडा चालकको उत्कृष्ट वेशभूषातर्फ मनाङका तेन्जिङ गुरुङ प्रथम बने । उत्कृष्ट घोडा सजावट र उत्कृष्ट घोडा चालक वेशभूषाका विजेतालाई नगद २५ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यसअघि यहाँ आयोजित कदम घोडा दौड प्रतियोगितामा आयोजक जनप्रिय युवा क्लबले ५ जनाको निर्णायक टोली खटाएको थियो ।
प्रतियोगिताका निर्णायकमा छिरिङ धोर्जे लामा (मनाङ), किमी छोठेन गुरुङ (उपल्लो मुस्ताङ), सन्डुक गुरुङ (खिङ्गा), बाबु ठकुरी (झारकोट) र पाल्गने गुरुङ (पुराङ रानीपौवा)ले जिम्मा पाएको क्लब अध्यक्ष कैसाङ ठोक्या ठकुरीले जानकारी दिए । सहभागी घोडाहरुलाई समूह चरण, क्वाटर फाइनल, सेमीफाइनल र फाईनल गरी ४ चरणमा प्रतियोगिता गराइएको निर्णायक मण्डलका छिरिङ धोर्जे लामाले जानकारी दिए ।
कदम घोडा दौडमा आफ्नो घोडा च्याम्पियन बनेपछि अध्यक्ष बिष्टले प्रतियोगितामा आफ्नो घोडा च्याम्पियन हुँदा निकै उत्साहित तुल्याएको सुनाए । ‘सानैदेखि घोडाको संगत र घोडा पाल्ने सौख नै थियो । बर्सेनि यस प्रकारका हिमाली चाडपर्वमा घोडाले सक्रिय सहभागिता जनाउँदै आएको थियो,’ अध्यक्ष बिष्टले भने, ‘यहाँ प्रतियोगिता जित्नु भन्दा पनि सहभागिता महत्वपूर्ण हो, यार्तुङ लगायतका यहाँका धार्मिक चाडपर्व र संस्कति जोगाउनुपर्छ भन्ने मेरो मान्यता हो ।’
उनले यार्तुङ पर्वलाई जीवन्त राख्नुपर्नेमा जोड दिए । यार्तुङ मेला २०८२ अन्तर्गत शुक्रबार भएको लामो दूरीको घोडा दौड प्रतियोगितामा वारागुङ मुक्तिक्षेत्र १ झारकोटका नम्डुक गुरुङको सिन्की नामक घोडा च्याम्पियन बनेको छ । वारागुङ मुक्तिक्षेत्रको मुक्तिनाथ स्थित खन्चोक डाँडाबाट रानीपौवा बजारसम्मको करिब ४ किमीमा भएको दौडमा १८ घोडालाई पछि पार्दै नम्डुकको सिन्की घोडा च्याम्पियन बनेको छ ।
च्याम्पियन बनेको सिन्कीले ८ मिनेट २२ सेकेन्डमा दूरी तय गरेको थियो । झारकोटको नम्डुक गुरुङको सिन्की घोडा इजल सुनारले हाँकेका थिए । प्रतियोगिता अन्तर्गत वारागुङ १ खिङ्गाका धोर्जे गुरुङको निमा नामक घोडा दोस्रो भयो । उक्त घोडा वीरेन्द्र सुनारले हाँकेका थिए । घोडाले ८ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गरेको थियो ।
पुनम मगरको लक्की घोडा तेस्रो बन्न निर्धारित दूरी ८ मिनेट ४६ सेकेन्ड पार ग¥यो । यार्तुङ मेला घोडा दौडको च्याम्पियन नम्डुक गुरुङले नगद ७० हजार पुरस्कारसहित सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन् । प्रतियोगिताको उपविजेताले नगद ४० हजार र तेस्रो हुनेले नगद ३० हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र पाए ।
यार्तुङ पर्व हिमाली क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व हो । यार्तुङ लगायतका चाडपर्वमा घोडाको उपस्थित महत्वपूर्ण हुन्छ । यसैका खातिर यहाँको जनप्रिय युवा क्लब पुराङ रानीपौवाले पर्वको संरक्षण, सम्वद्धन र पुस्तान्तरण गर्ने उद्देश्यले युवालाई विभिन्न सांस्कृतिक खेलकुदमा जोड्दै आएको क्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले बताए । विजेतालाई संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली, जिल्ला खेलकुद विकास समिति अध्यक्ष अमित तुलाचन, गाउँपालिका उपाध्यक्ष दिकी गुरुङ, वडाध्यक्ष प्रमेश गुरुङ, क्लब अध्यक्ष कैसाङ ठोक्या ठकुरी लगायतले पुरस्कार वितरण गरे ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया