गैंडाकोटका कांग्रेसी नेता गोकुल सापकोटा रास्वपामा, कांग्रेसले गर्यो पार्टीबाटै निष्कासन

पोखरा ।
नेपाली कांग्रेसका महासमिति सदस्य तथा गैंडाकोटका प्रभावशाली नेता गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि नवलपुरको राजनीतिमा नयाँ तरंग पैदा भएको छ। यो घटनाक्रमले गैंडाकोटमा अझ बढी चर्चा पाएको छ किनकि गोकुल सापकोटा नेपाली कांग्रेस गैंडाकोट नगर समितिका वर्तमान सभापति बद्री सापकोटाका सहोदर भाइ हुन्। भाइले पार्टी त्यागेको दुई दिन नबित्दै दाइ सभापति रहेको नगरको सिफारिसमा जिल्ला समितिले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका सापकोटा शुक्रबार रास्वपामा प्रवेश गरेका थिए। रास्वपाले उनलाई केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभागको प्रमुख जस्तो महत्त्वपूर्ण जिम्मेवारी दिएको छ। नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा थालेका सापकोटा कांग्रेसको महासमिति सदस्यसम्म बनेका थिए। उनलाई आगामी स्थानीय तह निर्वाचनमा गैंडाकोट नगरपालिकाको मेयरको सम्भावित उम्मेदवारका रूपमा समेत हेरिएको थियो।
सापकोटाले सामाजिक सञ्जालमार्फत कांग्रेस परित्यागको घोषणा गर्दै पुराना दलहरू देशका समस्या समाधान गर्न असफल भएको र आफू आशाको राजनीति स्थापित गर्न रास्वपामा जोडिएको बताएका थिए। उनले भनेका छन्, “समस्याले गाँजिएको देशलाई समाधानको बाटोमा लैजान, निराशाको राजनीतिभन्दा आशाको राजनीति स्थापित गर्न म रास्वपाको नीति, दृष्टिकोण र संस्कारसँग जोडिएको छु।”
एउटै घरभित्र दुई फरक राजनीतिक धारले गैंडाकोटको आगामी स्थानीय निर्वाचन थप रोचक बन्ने अनुमान गरिएको छ। रास्वपाले उनलाई २०८४ को स्थानीय निर्वाचनमा मेयरको उम्मेदवार बनाउने बलियो सम्भावना रहेको चर्चा छ।
सापकोटाले पार्टी परित्याग गरेपछि नेपाली कांग्रेस जिल्ला कार्यसमिति, नवलपुर (ब.सु.पूर्व) ले उनलाई कारबाही गरेको छ। साउन २५ गते जिल्ला कार्यवाहक सभापति चन्द्रबहादुर रानाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सापकोटालाई पार्टीबाट निष्कासन गरिएको उल्लेख छ।
विज्ञप्तिअनुसार, सापकोटाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (१) बमोजिमको आचरण अनुशासन उल्लंघन गरी पार्टीको हितविपरीत गतिविधि गरेको सूचनाका आधारमा जिल्ला अनुशासन समितिको साउन २३ गते बसेको बैठकले कारबाहीका लागि सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा नेपाली कांग्रेसको नियमावली २०७६ को धारा २९, १ (क) बमोजिम उनलाई महासमिति सदस्यसहित साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको हो।
यो कारबाहीको पत्र नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिदेखि गैंडाकोट नगर कार्यसमितिसम्मलाई बोधार्थ दिइएको छ, जसले पार्टीले यस घटनालाई गम्भीर रूपमा लिएको देखाउँछ। सापकोटाको बहिर्गमन र कांग्रेसको तत्काल कारबाहीले गैंडाकोटको स्थानीय राजनीतिमा नयाँ ध्रुवीकरण सिर्जना गरेको छ।








पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया