
पोखरा ।
पोखराका गल्लीमा देखिने यी द्दश्य नौला होइनन् । टोल टोल, चोक—चोकमा देखिन्छः बेसाहारा कुकरहरु, भोक/तीर्खा, पीडा र बेवास्ताबीच बाँच्न संघर्ष गरिरहेका । सडकको छेउमा खाना खोज्दै, चिसो रातसँग जुध्दै, अस्तित्वको लडाइँमा तल्लीन । कुकुरहरुको दयनीय अवस्था पोखरेली चूपचाप नियालिरहेका छन् ।
पोखरा १७ छोरेपाटन स्थित तिब्बतियन क्याम्पको पछाडिको भिरालो पाखामा एउटा सानो घर छ । बाहिरबाट हेर्दा सामान्य लाग्ने यो घरभित्र कुकुर र बिरालोको पृथक संसार छ । यहाँ छिर्नासाथ हर्षित अनुहार लिएर झुम्मिने कुकुर, बिरालोलाई देख्दा लाग्छः ती त्यहाँ सुरक्षित छन् । यिनै जनावरका लागि समर्पित छः चाँदनी एनिमल केयर एन्ड रेस्क्यु सेन्टर ।
सेन्टरकी धड्कन हुन् २८ वर्षीया चाँदनी थापामगर । सानैदेखि जनावरप्रतिको स्नेहले उनले ४ वर्षअघि एनिमल केयर सेन्टर खोलेकी थिइन् । बाल्य कालबाटै आएको बाटाका कुकुरलाई खाना खुवाउने बानी नै पछि उनको जीवनशैली बन्यो । जागिर गर्ने समयमा उनी बाटोमा भेटिएका भोकाएका, घाइते, बेवारिसे जनावरलाई खुवाउँदै हिँड्थिन् ।

उनले सकडमा भेटिने पीडित जनावरका लागि सुरक्षित ठाउँको खाँचो देखिन् । त्यसपछि उनको जीवनको दिशा नै मोडियो । सेन्टर खोल्ने सपनालाई मूर्त रुप दिन पैसा चाहिन्थ्यो । उनी भन्छिन्, ‘काम गर्ने ठाउँबाट ७ लाख रुपैयाँ ऋण लिएर एनिमल केयर सेन्टर खोलेकी हुँ । भाइको सहयोगमा ढुंगा, बालुवा आफैँ बोकेर घर बनाएको हो । तर योजना अनुसार चल्न सकेन । खर्च तथा जिम्मेवारी बढ्दै गयो ।’
यहाँका हरेक कुकुर, बिरालोका आफ्नै पीडादायी कथा छन् । सडकबाट उद्धार गरिएका उनीहरुले यहाँ नयाँ जीवन पाएका छन् ।
उनको योजनाभन्दा खर्च दोब्बर भएर १४ लाख रुपैयाँ पुग्यो । तर उनी हतोत्साही भइनन्, उनले फेरि ऋण लिएर पशु सेवा गृह सञ्चालन गरेरै छोडिन् । परिवारको राम्रो साथ भए पनि आफन्त तथा छिमेकीले भने कुकुरपछि किन लागेको उनी उडाउने गरेको उनले सुनाइन् ।
बेसाहारा बनेका यी कुकुर घरमै हुर्किएर, बिरामी वा अशक्त भएपछि सडकमा फालिएका हुन्छन् । गाडीको ठक्करले घाइते भएका, कसैको खुट्टा चल्दैन, कसैले आँखा देख्दैन, रोग लागेपछि उपचार गर्न ‘झन्झट’ लागेपछि सडकमा छोडिएका कुकुर, बिरालोहरु सेन्टरमा माया र सुरक्षाबिच बाँचिरहेका छन् ।
अहिले रेस्क्यु सेन्टरमा १३ वटा बिराला र १९ वटा कुकुर छन् । यी सबै उद्धार गरेर ल्याइएका हुन् । बिरालाहरुको अवस्था राम्रो छ र तर कुकुरहरु कसैको खुट्टा छैन, कोही आँखा देख्दैनन् । उनीहरुलाई यहाँ ल्याइएपछि विशेषता अनुसार नामकरण गरिन्छ । खैरो भए गोल्डी, मोटो भए भक्कु !
सेल्टर बनाउदा लागेको ऋण तिर्न चाँदनी अहिले विदेशमा छिन् । उनी ऋण तिर्न बाध्य भएर विदेसिनु पर्यो । विदेशमा भए पनि सिसिटिभीबाट जनावरको निगरानी गर्ने गरेको उनले बताइन् । थापाले भनिन् ‘सहयोग नपाउँदा समस्या परेको छ । जनावरकै लागि भनेर विदेश आएकी हुँ । केही जनावरलाई भए पनि सहयोग गर्न सके भनेर मनमा शान्ति छ । अवस्था बिजोक छ तर म हतोत्साही हुने छैन । जति गाह्रो भए पनि जनावरलाई कहिल्यै भोको राखेकी छैन ।’
उद्धार गरिएका जनावरको स्वास्थ अवस्था सुधार हुँदा खुसी लाग्ने तथा मृत्यु हुँदा अथाह पीडा थापाले सुनाइन् । घरकै कुकुर उद्धार गर्नका लागि आउने फोनले उनी हैरान छिन् । ‘घरमा एउटा कुकुर त पाल्न कति गाह्रो हुन्छ । सेल्टरमा त्यत्रा कुकुरलाई व्यवस्थापन गर्न हम्मेहम्मे छ । घरमा भएको कुकुर बाटोमा नछोडी दिए हुन्थ्यो,’ उनले दिक्क मान्दै भनिन् ।
ऋण लिएर चाँदनी एनिमल केयर एन्ड रेस्क्यु सेन्टर खोलेकी चाँदनी कुकुर, बिरालालाई पाल्नकै लागि विदेशमा श्रम गर्छिन् ।
चाँदनीलाई ऋणले पीर परेको छ । आर्थिक अवस्था निकै कमजोर भएको छ । सहयोगका लागि उनले अपिल गरेकी छन् । आउने दिनमा अझै बढी जनावरलाई उद्धार गर्ने उनको योजना छ तर आर्थिक व्यवस्थापन बाधक बनेको छ ।
उनको काम देखेर नातेदार स्नेहा आलेमगरले कामलाई निरन्तरता दिइरहेकी छिन् । खाना, औषधी उपचार र कर्मचारी गरी १ महिनामा १ लाखभन्दा बढी खर्च हुने स्नेहाले बताइन् । सहयोग कहिले आउँछ, कहिले आउँदैन । अझै पनि सेन्टर सञ्चालन व्यक्तिगत खर्चबाटै हुँदै छ ।
पोखरा महानगर तथा वडाबाट सहयोग नपाएको उनको गुनासो छ । चुनौतिका बिच चाँदनी केयर सेन्टर जनावरको उद्दार र स्याहार लागेको छ । कुकर, बिराला यहाँबाट निशुल्क लैजान पनि पाइन्छ । ‘नयाँ सदस्य आउँदा रमाइलो लाग्छ । घुलमिल हुन सजिलो होस् भनेर विशेष ध्यान दिन्छौं । उनीहरुलाई घुलमिल हुन पनि समय लाग्छ । विभिन्न उमेर समूहका कुकुर, बिराला छन्,’ उनले भनिन् ।

यहाँका हरेक कुकुर बिरालोका आफ्नै पीडादायी कथा छ । हरेकका दर्दले भावुक बनाउँछ । सडकबाट सेल्टर ल्याइएका उनीहरुले यहाँ नयाँ जीवन पाएका छन् । यी जीवको अवस्थाले आँखा रसाउँछ । स्याहार, माया र उपचार पाएपछि घाउ भरिदै छ, चोट मेटिँदै छ । स्वास्थ्य अवस्था र दिनचर्या फेरिँदै जाँदा उनीहरुको आँखामा नयाँ आशा झल्किएको छ ।
गोल्डी बिरालो म¥यो भनेर डस्टबिनमा फालिएको थियो । डस्टबिनबाट उद्धार गरिएको गोल्डी ल्याउने बेलामा हड्डी र छालामात्र थियो । उपचार, स्याहार र माया पाएपछि अहिले यो रहरलाग्दो भएको छ । कोही बिरालो अझै पनि मानिसको नजिक पर्दैनन् । दुव्र्यवहारमा परेका कारण मान्छेको नजिक आउन मान्दैनन् ।
यहाँ कुकुर, बिरालालाई दिनको ३ पटक खाना खुवाइन्छ । कुकुर र बिरालोका लागि छुट्टाछुट्टै खाना बन्छ । कहिले मान्छेले खाने खाना, दूध पनि दिइन्छ । कुकुरलाई बाहिर हिँडडुल गर्न मन पर्ने भएकाले बाहिर डुल्न पठाइन्छ । उनीहरु घुमेर फर्किन्छन् । बिरालोलाई भने आफैंले लैजानुपर्छ । कुकुर पाल्नु भनेको बच्चा हुर्काउनु जस्तै हो । कुकुर लिन आउनेहरुको घरमा पाल्ने वातावरण छ कि छैन कुकुर, बिरालोप्रति रुचि छ कि छैन जाँचेरमात्र दिइन्छ ।
कोही कोहीले औषधी, खाना र पैसा सहयोग गर्ने मगरले सुनाइन् । छिटफुट सहयोगले केही राहत मिलेको छ । भोलेन्टियरका लागि आउने, जनावरको स्याहारमा सघाउनेहरुका कारण थोरै हौसला थपिएको उनले सुनाइन् ।





प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।








समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना, मन्त्रीहरूद्वारा बजेट र कानुनको सुनिश्चितता
चरक हस्पिटल १४ औं वर्षमा : उत्कृष्ट कर्मचारी सम्मानित, बटुकलाई सहयोग
जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया