वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधन क्षति
समाधान संवाददाता
२०८२ साउन २७ गते १७:०५

मनाङ ।
हिमाली जिल्ला मनाङमा वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति बढ्दै गएको छ । वन्यजन्तुको आक्रमणबाट आर्थिक वर्ष २०८१/८२ मा ८७ पशुधनमा क्षति भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ कार्यालय (एक्याप) ले जनाएको छ ।
यस वर्ष वन्यजन्तुको आक्रमणबाट याकचौरी ५८, बाख्रा, खसी र च्याङ्ग्रा २२, घोडा एक र गाई, गोरु छ गरी ८७ पशुचौपायको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ कार्यालय (एक्याप) का प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार हिउँ चितुवा, चितुवा र भालुलगायत जंगली जनावरको आक्रमणबाट यहाँका किसानले पशुधनमा क्षति व्यहोर्नुपरेको छ ।
गतवर्षको तुलनामा यसवर्ष वन्यजन्तुको आक्रमणबाट याकचौरी बढी मरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा याकचौरी १७, बाख्रा, खसी र च्याङ्ग्रा ३७ र घोडा एक मरेका प्रमुख भुजेलले बताए । आहारको अभावले वन्यजन्तुले घरपालुवा पशुलाई आक्रमण गर्ने क्रम बढ्दै गएको उनले बताए । उनले भने, “मांसाहारी वन्यजन्तुको आहार वनजङ्गलमा पाउन मुस्किल भएपछि घरपालुवा पशुलाई आक्रमण गर्ने क्रम बढ्दै गएको हो ।”
याकचौरी खुला आकाशमा पाल्ने प्रचलन छ । एकै किसानले धेरै सङ्ख्यामा याकचौरी पालन गर्छन् । जसले गर्दा जोगाउन मुस्किल हुने गरेको छ । उनले भने, “याकचौरीका बाच्छाबाच्छीको सुरक्षाका लागि अहिले भने तारबार लगाएर सुरक्षित बनाइन्छ । तर, ठूला भएका याकचौरी खुला चौरमा नै राख्ने गरिन्छ । जसले गर्दा वन्यजन्तुको आक्रमणमा पर्ने गरेको अध्ययनले देखाउँछ ।”
साना चौरी भाग्न सक्दैनन् । जसले गर्दा बढी आक्रमणमा पर्ने गरेका छन् । तर, ठूला याकचौरी भाग्ने गर्दछन् र आक्रमणमा पर्दैनन् । विगतमा चरण क्षेत्र (खर्क) मावन बस्ती नजिकै हुने र अहिले तापक्रम वृद्धि हुँदै गएपछि खर्कमाथि सर्दै जाँदा वन्यजन्तुको आक्रमण बढ्दै गएको प्रमुख भुजेलको अनुमान छ ।
उनले भने, “जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हिमाली क्षेत्रको खर्कमा परेको छ । यसको प्रभावले तापक्रम वृद्धि भई खर्क माथि सर्दै गएको छ । खर्क माथि सरेर पशुको चरण क्षेत्र वनजङ्गलको नजिक हुँदा वन्यजन्तुको आक्रमणमा पर्ने सम्भाव्यता बढेको छ ।” पानीको मुहान भएका क्षेत्रमा घाँसे मैदान (खर्क) हुने भएकाले वन्यजन्तुको आक्रमणको जोखिम कम हुने गरेकामा अहिले परिवर्तन भएको पाइन्छ ।
पशुपालक किसान एवं याकचौरी कृषक महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थाकालीले भने, “विगतमा वन्यजन्तुको आक्रमण हुन्थ्यो । तर, कम हुने गर्दथ्यो । अहिले बढ्दै गएको छ ।” पहिला पशु मरे भने क्षतिपूर्ति पाउने प्रावधान थिएन । जसले किसान मर्कामा पर्ने गरेका उनले बताए ।
पशुधनमा क्षति भए सरकारले किसानलाई प्रोत्साहन र सहयोग पुर्याउने उद्देश्यले क्षतिपूर्तिको व्यावस्था गरेको छ । जसले पशुपालक किसानलाई राहत महसुस भएको अध्यक्ष थकालीको भनाइ छ । पानीका मुहान सुक्ने र समयमा हिमपात नहुँदा तल्लो क्षेत्रमा घाँसेमैदान हराउँदै गएकाले जङ्गल क्षेत्रमै चरण क्षेत्र बन्ने गरेको छ । जसले गर्दा वन्यजन्तुको आक्रमण बढ्दै गएको आँकलन गर्न सकिने एक्यापले जनाएको छ । पानीको अभावले घाँसेमैदानको ठाउँ नै फेरिदा यहाँका पशुपालक किसानलाई समस्या हुनुका साथै जोखिममा पर्ने गरेका छन् ।
सम्बन्धित







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया