पानी पर्‍यो कि पहिरो झर्‍यो

सुन्दरकुमार थकाली २०८२ साउन २८ गते ८:५३

जोमसोम । उत्तरी दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसोम सडकमा वर्षात्का बेला सधैं सास्ती हुने गरेको छ । ७४ किमीको यो सडकमा म्याग्दीको कमजोर भूबनोटका कारण सडक माथिबाट पहिरो खस्दा बाटो पटक पटक अवरुद्ध हुने गर्छ ।

उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाका जोड्ने बेनी जोमसोम सडकमा वर्षातका कारण नदी कटान, बाढी, पहिरोले बर्सेनि बर्खायाममा मुस्ताङ आवतजावत गर्ने पर्यटक तथा सर्वसाधारणलाई निकै दुःख दिने गरेको छ । यहाँको कोरला नाका जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसोम सडक ४ खण्डमा निर्माण गर्ने गरी २०७३/०७४ सालमा ठेक्का सम्झौता भएको थियो ।

जसमध्ये मुस्ताङको कैकुदेखि खन्तीसम्मको सडक सम्पन्न भई आयोजनालाई हस्तान्तरण हुँदा बाँकी ३ खन्ड निर्माणाधीन अवस्थामै छ । म्याग्दीको कमजोर धरातलका कारण सडक निर्माण कार्य चुनौतीपूर्ण छ । बर्खा याममा म्याग्दीका दर्जनौं स्थानमा पहिरो खस्दा मुस्ताङ यात्रा गर्ने पर्यटकले निकै ठूलो सास्ती पाउने गरेको मुस्ताङका स्थानीय निरज थकाली बताउँछन् ।

Advertisement

बेनी जोमसोम सडकको म्याग्दी खण्डमा कमजोर भूगोलका कारण आधा दर्जनभन्दा बढी ठाउँमा पहिरोले बारम्बार सडक अवरुद्ध हुन्छ

विगतको तुलनामा सडक संरचना सुधार हुँदै गए पनि मनसुनको समयमा म्याग्दी क्षेत्रमा पहिरो खस्ने क्रममा निरन्तर रहँदा यहाँ चल्ने सवारी तथा यात्रुबर्गलाई निकै ठूलो समस्या हुने गरेको छ । आयोजन प्रमुख ध्रुव झाले बेनी जोमसोम सडकमा पहिरोका कारण समस्या उत्पन्न हुने गरेको बताए ।

Advertisement

म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम, सडक स्तरोन्नति लगायतका कार्य बाँकी रहेकाले क्रमश सुधार हुँदै जाने आयोजना प्रमुख झाको भनाइ छ । ‘म्याग्दीको गुइठे भीर, खाम भित्ता र बैसरीमा पहिरो रोकथामका लागि एङ्करेज ब्लक निर्माण भएको छ, त्यहाँ अझै केही पहिरो रोकथामका आशिंक काम गर्न बाँकी रहेको छ,’ आयोजना प्रमुख झाले भने, ‘म्याग्दीको सिरुबारी, सुकेबगर लगायतका स्थानमा पहिरो रोकथाम गर्न टेन्डर लगाइएको थियो, तर टेन्डर कसैले हालेनन् ।’

राष्ट्रिय गौरवको कोरला सडक अन्तर्गत पर्वतको मालढुंगादेखि बेनीसम्मको १३ किमी सडकका २ स्थानमा पहिरो खस्ने समस्या छ । त्यहाँ पनि पहिरो रोकथामका लागि नयाँ ठेक्का लगाउने तयारी भएको छ । कोरला सडक अन्तर्गत बेनी जोमसोमको म्याग्दी खण्डमा पर्ने रघुगंगा गाउँपालिका २ को बैसरी र अन्नपूर्ण गाउँपालिका ३ सुकेबगरमा जारी मनसुनमा तीन/चार पटकसम्म पहिरो गएको आयोजनाका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।
म्याग्दी खण्डको अन्नपूर्ण ६ भीरकाटे, अन्नपूर्ण ३ रुप्से, अन्नपूर्ण २ तातोपानी, अन्नपूर्ण ३ गुईठे लगायतका आधा दर्जन स्थानमा पहिरोले सडक अवरुद्ध हुने गरेका छ । मनसुनका कारण म्याग्दी खण्डमा पहिरो सफा गरी सडक सञ्चालनमा आएको भए पनि मंगलबार पनि मुस्ताङको थासाङ ४ को घाँसा पुछारमा पहिरो खस्दा सडक बेनी—जोमसोम सडक अवरुद्ध भएको थियो ।

मुस्ताङ स्थित जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले मनसुनजन्य प्रभावका कारण बाढी, पहिरोको जोखिम कायमै रहेकाले रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ । मुस्ताङका सिडिओ विष्णुप्रसाद भुसालले अर्को सूचना नभएसम्म दैनिक साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म घाँसा बेनी सडकमा सवारी नलचाउन निर्देशन दिइएको जनाए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया