प्रदेशका आधा डेंगी संक्रमित पोखरामा

पोखरा ।
पछिल्ला दुई सातामा पोखरा महानगरपालिकामा १ सय २९ जना डेंगी संक्रमणका बिरामी थपिएका छन् । यही साउन १० गतेसम्ममा ३ सय ३ जनामा डेंगी संक्रमण पुष्टि भएकोमा आइतबार उक्त सङ्ख्या वृद्धि भइ ४ सय ३२ पुगेको हो ।
जुन यस वर्ष गण्डकी प्रदेशभरमा पुष्टि भएका संक्रमितमध्ये आधा भन्दा बढी संख्या हो । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गत पुसयता मनाङबाहेक प्रदेशका १० जिल्लामा कुल ८ सय ११ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
प्रदेश राजधानी पोखरा गत वर्ष डेंगीको ‘हट स्पट’ बनेको थियो । उक्त वर्ष पोखरा महानगरपालिकामा मात्र ८ हजार ६ सय जनाभन्दा बढीमा डेंगी संक्रमण भएको थियो । डेंगी संक्रमणबाट पोखराका ३ जनाको मृत्यु भएको थियो । साउनदेखि कात्तिकसम्म डेंगी संक्रमणको जोखिम उच्च रहने भएकाले आगामी दिनमा संक्रणको दर बढ्न सक्ने अनुमान गरिएको छ ।
गत वर्ष जस्तो संक्रमण व्यापक हुन नदिन उच्च सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले डेंगी संक्रमणको न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि मन्त्रालय मातहतका सबै निकाय तयारी अवस्थामा रहेको बताउनुभयो । वर्षायाम सुरु भएपछि डेंगी संक्रमणको दर बढ्दै गएको हो ।
गण्डकी प्रदेशमा हालसम्म सबैभन्दा बढी कास्कीमा ४ सय ४१, तनहुँमा १ सय २०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर ४ र मुस्ताङमा एक जनामा डेंगी संक्रमण पुष्टि भएको हो । कास्कीमा संक्रमण पुष्टि भएका ४ सय ४१ मध्ये ४ सय ३२ जना पोखरा महानगरपालिकाका हुन् ।
पोखरा महानगरलगायत प्रदेशका स्थानीय तहहरूले समुदायस्तरमा डेंगी फैलनबाट रोक्न डेङ्गी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् । उक्त लामखुट्टेको टोकाइबाट बच्न सचेतना जगाउने र अभिमुखीकरण गर्ने काम भइरहेको पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।
लामखट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु भएपनि डेङ्गी रोकथाम चुनौतीपूर्ण बन्दै गएको छ । हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेङ्गी रोकथाम र नियन्त्रण गर्न कठिन हुने स्वास्थ्यकर्मी बताउँछन् ।
डेङ्गी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको वासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको छ । सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गी नियन्त्रणको उत्तम उपाय मानिन्छ ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया