नागभैरवलाई ५१ केजीको घन्ट

समाधान संवाददाता २०८२ साउन २८ गते १५:३१

लमजुङ ।
मध्यनेपाल नगरपालिका ५ पोखरीथोकका गिरबहादुर गुरुङले तान्द्राङकोटमा अवस्थित नागैभरव थानमा पूजाअर्चनासहित घन्ट चढाएका छन् । गुरुङले पुण्य लाभको कामना हित पारिवारिक शान्ति, समृृद्वि र आफ्ना कुलपितृको स्मरणमा नागैभरवमा ५१ केजी ७ सय ग्रामको घन्ट दान गरेका हुन् ।


जनैपूर्णिमामा परिवारले विधिवत् पूजाअर्चना गरी सो घन्ट चढाएको गुरुङले बताए । वर्षौंदेखि मन्दिरमा घन्ट चढाउने सपना लिएको र अहिले पूरा भएकोमा आत्मसन्तोष मिलेको उनले बताए । पोखरामा स्थायी बसोबास गर्दै आएका गुरुङसँगै आमा सेती गुरुङ, श्रीमती हस्तमाया, दाजु कमल, भाउजू युमाया, भाइ मेखबहादुर, बुहारी बिष्णुमाया, दिदीहरु देशीमाया घले, सुकुन्धरा घोताने, ईन्द्राकुमारी लामा लगायत सो अवसरमा सहभागी थिए ।


मन्दिर परिसरमा फलामे खम्बा गाढेर घन्ट झुण्याइएको छ । पूजा गर्न जाने भक्तजन र दर्शनार्थीले सो घण्ट पुजा गर्नुका साथै बजाउन सक्ने गुरुङ परिवारले जनाएको छ । वैदेशिक रोजगारीका क्रममा गुरुङ दम्पती डेढ दशकदेखि जापानको टोकियोमा बसोबास गर्छन् । आफ्ना जिजुबाजेको पालादेखि सो मन्दिरमा पूजाअर्चना गर्दै आएकाले कुलपितृ र नागभैरवको आशीर्वादले आफुलाई सुख, सन्तोष र सफलता प्राप्त भएको गुरुङको भनाइ छ ।

Advertisement


नेपालकै मध्यभागमा अवस्थित मध्यनेपाल नगरपालिकाको तान्द्राङटक्सार, सूर्यपाल, रम्घा र समिभन्ज्याङकै शीरमा रहेको तान्द्राङकोट स्थित नागभैरव मन्दिरमा पूजा आजा गरे मनोकांक्षा पूरा हुने मान्यता छ । धार्मिक तथा ऐतिहासिक स्थल हुँदै पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा समेत विकास भएकाले स्थानीयदेखि धेरै ठाउँबाट पूजाआज र घुमफिरको लागि मानिस त्यहाँ पुग्ने गरेका छन् ।


चौबिसे राज्य कालअघि नै घले राजाहरुले शासन गरेको बताइन्छ । तान्द्राङकोटमा प्रथम घलेराजा सुनचङ् राजाका सन्ततिसँग कुल, कुटुम्ब जोडिएका मन्त्री गणका सन्तान आसु र वासु लाम्छाने गुरुङका सन्तति साँढे गुरुङ हुँदै दामु गुरुङका पनाति, गुञ्जमानका नाति र चूडाबहादुर गुरुङका माइला छोरा गिरबहादुरले घन्ट अर्पण गरेका हुन् ।

Advertisement


मध्यनेपाल नगरपालिका ५ मा अवस्थित तान्द्राङकोट १५ औं शताब्दीको सुरुवाततिरै अन्तिम घलेराजा ताञ्चङको पतनपछि स्थापित शाहवंशीय राज्यकालको अल्पकालीन दरबार भएको बताइन्छ । । सोही बेलादेखि नै कोटको थान वा नागभैरव थानको रुपमा त्यहाँ पूजा हुन थालेको हो । सुरुवातमा वाग्ले थरका ब्राम्हणले पूजा गर्ने र आफ्ना पुर्खाहरु वीरमान गुरुङको परिवार पूजा व्यवस्थापकका रुपमा काम गरेको गिरबहादुर बताउँछन् ।


गुरुङले आफ्नो जन्मस्थल पोखरीथोकमा रहेको गुम्बालाई समेत आर्थिक सहयोग गरेका छन् । उनले गुम्बाका दैनिक पूजा र अन्य व्यवस्थापकीय पाटोमा टेवा पु¥याउन १० हजार १ सय रुपैयाँ प्रदान गरेका हुन् ।

तपाईको प्रतिक्रिया