गोरखाका कुसुन्डा: नाम मात्रको पहिचान, संरक्षणको आस

समाधान संवाददाता २०८२ साउन २९ गते ९:११

प्रतीक्षा आले /गोखा

अचेल किसानलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धान रोपाइँमा व्यस्त छन्, कोही कोदो गोड्दै छन् त कोही मकै भित्र्याउँदै । तर, गोरखा नगरपालिका–११, तेह्रकिलो बजारभन्दा दुई कान्ला तलको सानो टहरोमा बस्ने ५५ वर्षीय चेतबहादुर कुसुन्डालाई भने न रोपाइँको ध्याउन्न छ, न त बारीमा मकै सुक्ला भन्ने पीर । उनको दैनिकी आफूजस्तै दिनरात श्रम गरेर खाने दौँतरीसँगै बित्छ ।

लोपोन्मुख भनेर चिनिने कुसुन्डा जातिको गोरखामा एउटा मात्रै घर छ, चेतबहादुरको । छिमेकीले दिएको तीन आना जग्गामा सरकारले बनाइदिएको एकपाखे घरमा उनी आफ्ना दुई छोरा, बुहारी र नातिनातिनीसँग बस्छन् । उनको सम्पत्तिको नाममा त्यही घरले चर्चेको जमिनबाहेक केही छैन ।

Advertisement

‘योभन्दा बाहेक टेक्ने जग्गा पनि छैन । सम्पत्ति भने पनि जे भने पनि यही अरूले दिएको जग्गा हो’, चेतबहादुर भन्छन्, ‘यसैमा सरकारले बनाइदिएको सानो घर र दुईचारवटा कुखुरा छन् । कुखुरा पनि थुनेर पाल्छौँ, नत्र अरूको जग्गामा गइहाल्छन् ।’

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा समुदायको जनसंख्या २५६ मात्रै छ, जसमा चेतबहादुरको आठ सदस्यीय परिवार पनि पर्छ । उनको परिवार विगत ४५ वर्षदेखि यही क्षेत्रमा बसोबास गर्दै आएको हो । विसं २०३८ मा ११ वर्षको छँदा आमा सुमित्रा वनकिरानी कुसुन्डासँग पालुङटारको खोप्लाङबाट झिटीझाम्टो बोकेर तेह्रकिलो आएको उनलाई हिजै जस्तो लाग्छ ।

Advertisement

‘१० वर्षको हुँदा बा बिते, भोकले लखतरान हुँदै जुठो बारेको याद छ’, उनी आफ्नो कष्टकर विगत सम्झिन्छन्, ‘बा’को काजकिरिया सकेपछि आमाले खोप्लाङमा भएको झिटी आठ हजारमा बेचेर यहाँ आएका हौँ । यहाँ पनि बिरालोले बच्चा सारेजस्तो, कहिले यता, कहिले उता । सायद यो तेह्रकिलो बजारमा हामी नबसेको घरै छैन ।’

चेतबहादुर २०-२२ वर्षको उमेरमा कमला घर्तीसँग बिहे बन्धनमा बाँधिए । उनका दुई छोरा र एक छोरी छन्, तर कसैले पनि ४-५ कक्षाभन्दा माथि पढेनन् । जेठो छोरा अनिल ड्राइभर छन् भने कान्छो छोरा अशोक वैदेशिक रोजगारीमा छन् । श्रीमतीको चार वर्षअघि र आमाको गत चैतमा निधन भयो ।

विडम्बना, चेतबहादुरलाई आफ्नो कुसुन्डा भाषा, रीतिरिवाज वा वेशभूषाबारे केही पनि थाहा छैन । उनलाई १० वर्षको उमेरमा बितेका आफ्ना बुबा गनबहादुर कुसुन्डा को थिए र कहाँबाट आएका थिए भन्ने पनि जानकारी छैन । अन्यत्रका कुसुन्डा समुदायसँग उनको कुनै चिनजान वा आवतजावत छैन ।

‘अन्ततिरको कुसुन्डाहरूले त आफ्नै भाषा बोल्छन् रे भन्ने सुनेको छु । अब हामीलाई त केही थाहा छैन’, उनी भन्छन्, ‘बाउबाजेसँग संगत भएको भए पो आफ्नो जात, धर्म, संस्कृतिबारे केही थाहा हुन्थ्यो होला !’ उनीहरू दसैँ, तिहारजस्ता हिन्दु पर्वहरू नै मनाउँछन् र कुलपूजा गर्दा भाले चढाउँछन् । गोरखा दरबार संग्रहालयमा आफ्नो जातिको डमी देख्दा भने उनी खुसी हुन्छन् ।

सरकारले उनको आठ जनाको परिवारलाई प्रतिव्यक्ति मासिक चार हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । उनी बसिरहेको घर पनि जनता आवास कार्यक्रमअन्तर्गत बनेको हो । तर, यतिले मात्रै आफ्नो जातिको संरक्षण नहुने उनको चिन्ता छ । उनी सरकारले आफ्नो लोपोन्मुख जातिको उत्थान र संरक्षणका लागि विशेष कार्यक्रम ल्याओस् र उचित बासस्थानको व्यवस्था मिलाइदेओस् भन्ने आशामा छन् ।रासस

तपाईको प्रतिक्रिया