सुरक्षित गन्तव्यका लागि ‘ह्यासल–फ्री’ मोडल

समाधान संवाददाता २०८२ साउन २९ गते १०:३१

पोखरा ।
‘पोखरा भिजिट वर्ष २०२५’ लाई सफल बनाउने लक्ष्यका साथ बुधबार पर्यटन सुरक्षाका सफल अन्तर्राष्ट्रिय मोडलहरु प्रस्तुत गरियो । पर्यटन प्रवद्र्धनको मुख्य आधार सुरक्षा व्यवस्था भएकाले दुबई, थाइल्यान्ड, आइसल्यान्ड जस्ता देशका सफल अभ्यासलाई नेपालका लागि अनुकरणीय उदाहरणका रुपमा प्रस्तुत गरिएको हो ।


कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्वसदस्य तथा पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष टीकाराम सापकोटाले ‘सुरक्षित पर्यटन’ शीर्षकमा प्रस्तुति गरे । उनले अन्तर्राष्ट्रिय स्तरमा अपनाइएका सफल सुरक्षा नीतिबारे जानकारी गराएका थिए । ‘आज दुबईमा किन यति धेरै पर्यटक पुग्छन् किनभने त्यहाँको सुरक्षा नीति र व्यवस्थापन उत्कृष्ट छ । त्यहाँको प्रहरीले अत्याधुनिक निगरानी प्रणाली, कृत्रिम स्मार्ट गस्ती र स्वचालित प्रहरी चौकीमार्फत अपराधलाई न्यूनतम स्तरमा झारेको छ,’ उनले भने ।


पर्यटक–मैत्री सेवा, बहुभाषिक सञ्चार क्षमता र प्राथमिक उपचारमा दक्ष प्रहरी बलका कारण पर्यटक दिनरात निर्धक्क भएर घुम्न सक्ने वातावरण बनेको उनको भनाइ छ । प्रि–कोभिड समयमा दुबईमा मात्रै १७ मिलियनभन्दा बढी पर्यटक पुगेको तथ्यांकले पनि त्यहाँको सुरक्षा प्रभावकारितालाई पुष्टि गर्छ ।

Advertisement


सापकोटाले थाइल्यान्डको पर्यटक प्रहरीलाई पनि उदाहरणीय माने । त्यहाँ छुट्टै पर्यटक प्रहरी इकाइ रहेको र ती अधिकारी बहुभाषिक भएर विमानस्थल, होटल तथा महोत्सव स्थलहरूमा प्रत्यक्ष उपस्थित भई पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिने गरेको उनले उल्लेख गरे ।

नेपालमा पर्यटकको संख्या उल्लेख्य रूपमा बढाउनका लागि ५९ औं स्थानमा रहेको नेपालको ट्राभल सेफ्टी–इन्डेक्स घटाएर उत्कृष्ट बनाउनुपर्ने सुझाव

Advertisement


नेपालमा पर्यटकको संख्या उल्लेख्य रूपमा बढाउनका लागि हाल ५९ औं स्थानमा रहेको नेपालको ट्राभल सेफ्टी–इन्डेक्सलाई घटाएर उत्कृष्ट स्थानमा ल्याउनुपर्नेमा उनले जोड दिए । ‘जबसम्म हामी सुरक्षा सूचकांकमा सुधार गर्दैनौं, तबसम्म पर्यटकको संख्या वृद्धि गर्न कठिन छ,’ उनले भने ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले पोखरामा पर्यटन सुरक्षाका व्यावहारिक पक्षबारे प्रकाश पारे । डिएसपी बस्नेतले यौनजन्य अपराधमा भएको वृद्धि, सरोकारवाला निकायबीच समन्वय अभाव, अव्यवस्थित सडक व्यवसाय, सडक बालबालिकाको समस्या, र बालश्रमको प्रयोग जस्ता विषयलाई प्रमुख चुनौतीका रूपमा औंल्याए ।


उनले कतिपय व्यवसायीले ग्राहकको अभिलेख र परिचयपत्र नराख्ने तथा सिसिटिभी जडान नगर्दा अनुसन्धानमा समस्या आउने गरेको जनाए । प्रहरीले गरेका कारबाहीका केही उदाहरण प्रस्तुत गर्दै उनले मानव बेचबिखन तथा ओसारपसार, जबर्जस्ती करणी र बाल श्रम शोषण जस्ता गम्भीर अपराधमा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको बताए ।


बस्नेतले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि जारी गरिएको मापदण्ड, व्यवसाय दर्ताको अनिवार्यता र कर्मचारीको हकहितका विषयमा प्रहरीले निरन्तर अनुगमन गरिरहेको जानकारी दिए । आर्थिक वर्ष २०८१/८२ मा मात्रै विदेशी पर्यटकसँग सम्बन्धित विभिन्न घटना दर्ता भएका छन्, जसमा यौनजन्य हिंसा, अपहरण र ठगीका घटना सामेल छन् ।


प्रहरीले यस्ता घटनामा तत्काल कारबाही गर्दै पीडितलाई उद्धार र पीडकलाई पक्राउ गरी मुद्दा चलाएको उनले जानकारी दिए । बस्नेतले रात्रिकालीन व्यवसाय गर्न कार्यविधि र मापदण्डको कडाइका साथ कार्यान्वयन गर्ने, अनिवार्य अभिलेख र सिसीटिभी अनिवार्य गर्न आग्रह गरेका हुन् ।


गण्डकी प्रदेशमा हाल करिब ७ सय पर्यटक–स्तरीय होटल, ३ सय ४१ होमस्टे, ५ सय २ डुंगा सेवा र ६५ प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन् । यी पूर्वाधारले पोखरालाई पर्यटकीय हब बनाएको छ तर यिनको सुरक्षित र व्यवस्थित सञ्चालन अपरिहार्य भएको उनले औल्याए ।


कार्यक्रममा ‘सुरक्षित पर्यटक नै खुसी पर्यटक’ भन्ने सन्देशलाई आत्मसात् गर्दै पोखरालाई ‘ह्यासल–फ्री’ गन्तव्यका रूपमा विकास गर्न सरकार, प्रहरी र निजी क्षेत्रबीच अझ बलियो सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ । ‘पोखरा भिजिट वर्ष २०२५’ मा २० लाख पर्यटक भिœयाउने लक्ष्य राखिएको पोखरा भिजिट वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराईले बताए ।


उनले सबै निकायसँग समन्यय गरी अगाडि बढ्ने प्रतिवद्धता जाहेर गरेका छन् । त्यसका लागि पर्यटन व्यवसायी, सुरक्षा निकाय मिलेर अघि बढ्ने उनले बताए । कार्यक्रममा कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले व्यवसाय गर्नेले अनिवार्य सिसिटिभी राखिदिएमात्र आधा समस्याको समाधान हुने बताए ।


‘राज्यले सिसिटिभी राखेको छ । तर, ती कतिपय बिग्रिसकेका छन् । त्यस कारण व्यवसायीले नै त्यसको सुरक्षा गर्न सिसिटिभी जोडेर सुरक्षित हुन र अपराध नियन्त्रण गर्न सिसिटिभी अनिवार्य जोड्न आग्रह गदर्छु,’ उनले भने । गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दिनेशकुमार आचार्यले सुरक्षा भनेको अनुभूती भएको बताए । जुनसुकै व्यक्तिले आफू सुरक्षित छु भनेर परिकल्पना गर्ने गरी सुरक्षा निकायले सेवा दिनुपर्ने उनको भनाइ छ ।


कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संसारमा भौतिक विकासकै कारणले पर्यटन भित्रयाएको बेला नेपाल प्रकृतिको अनुपम उपहार भएको बताइन् । उनले नेपालमा व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न सकेको दिन पर्यटकको संख्या वृद्धि हुने बताइन् । कार्यक्रम पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले सञ्चाल गरेका थिए ।

तपाईको प्रतिक्रिया