धम्पुस सत्लेमा तीज मेला हुने

समाधान संवाददाता २०८२ साउन २९ गते १२:२८

पोखरा ।
हरितालिका तीजको अवसरमा हिमशिखर युवा क्लब धम्पुसले ९ औं हरितालिका तीज मेला तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम भदौ ९ गतेदेखि ११ गतेसम्म धम्पुस ७ सत्लेमा हुनेछ ।


‘विकासका लागि युवा’ भन्ने मूल मन्त्रका साथ स्थापित क्लबले स्थापना कालदेखि नै खेलकुद, पर्यटन, संस्कृति र सामाजिक चेतनामूलक गतिविधिहरू सञ्चालन गर्दै आएको छ । यो वर्षको तीज मेला, अघिल्ला वर्षहरुभन्दा झन भव्य, व्यवस्थित र समावेशी हुने आयोजक भनाइ छ ।

आयोजकका अनुसार मेलामा स्थानीय भलिबल खेलाडीहरूको भिडन्तदेखि लिएर, नाचगान, लोक गीत र झाँकीहरु प्रस्तुत हुनेछन् । मेलाको आकर्षणका रुपमा महिला भलिबल, पुरुष भलिबल, रस्सी तान्ने, ठेलो हान्ने, एकल र सामूहिक नृत्यजस्ता प्रतिस्पर्धात्मक कार्यक्रमहरू रहेको क्लवका सचिव अनिल सुनारले जानकारी दिए ।

Advertisement


‘मेलालाई थप आर्कषण गर्नको लागि मञ्चलाई ग्रामीण संस्कृति र सौन्दर्यले सजाइनेछ, जहाँ धम्पुसको लोकसंस्कृति, हस्तकला, कृषि उत्पादन र कला–साहित्यले विशेष स्थान पाउनेछ ।

‘मेलाले मनोरञ्जन मात्र होइन, समुदायको आर्थिक गतिशीलता र सामाजिक समावेशितामा समेत महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ,’ उनले भने । उनले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया