कृष्ण भजन प्रतियोगितामा १६ टिम

समाधान संवाददाता २०८२ साउन २९ गते १६:१७

पोखरा ।
पोखराको बाटुलेचौरमा हुने छब्बिसौँ संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा साउन ३१ गते शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गर्ने प्रतियोगिताको आन्तरिक बाहेकका अन्य तयारी लगभग पूरा भएको प्रचार–प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिए ।


मंगलबारसम्म १६ वटा टिम दर्ता भएका छन् । महेश्वर खनाल भजन समूह तनहुँ, भद्रकाली खैंजडी भजन समूह धादिङ, हरिहर भजन कीर्तन समूह स्याङ्जा, सहित कास्कीका विभिन्न भजन टोली र विद्यालयका सानासाना विद्यार्थी सहभागी भजन टोली पनि सहभागी हुने बताइएको छ । बाटुलेचौर ऐतिहासिक मैदानमा हुने प्रतियोगिताका लागि प्रतिष्ठानले बुधबार गोलाप्रथाबाट टाइसिट समेत सार्वजनिक गरेको छ । प्रतियोगितालाई व्यवस्थित गर्न गठित विभिन्न २३ वटा उपसमितिले तयारी पूरा गरेको र केही आन्तरिक काम मात्रै बाँकी रहेको प्रतिष्ठानका सचिव रामप्रसाद पौडेलले बताए ।


प्रतियोगिताको व्यापक प्रचार–प्रसार गरेको, विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थासँग समन्वय भएको र दर्शकको चापलाई मध्यनजर गरी व्यवस्थित मञ्च निर्माण र सजावट गरिएको सचिव पौडेलले जानकारी दिए । कार्यक्रममा यस क्षेत्रका आमा समूह, टोल विकास संस्था र विभिन्न जातीय तथा धार्मिक संस्था आ–आफ्नो पहिचान झल्कने पोसाकमा सहभागी हुने प्रतिष्ठानले जनाएको छ ।

Advertisement


प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख र प्रमाणपत्र, दोस्रो हुनेले नगद ७५ हजार र प्रमाणपत्र, तेस्रो हुनेले नगद ५० हजार र प्रमाणपत्र तथा सान्त्वना हुनेले नगद २५ हजार र प्रमाणपत्र तथा सहभागी टिमलाई प्रोत्साहन स्वरूप जनही ५ हजार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले बताइन् । विगतका भन्दा यसपटकको कार्यक्रम थप व्यवस्थित र भव्य हुने उनको भनाइ छ । कार्यक्रम सफल बनाउन चारवटै स्थानीय तहसँग समन्वय गरिएको उपाध्यक्ष दीपेन्द्र बानियाँले जानकारी दिए ।


निरन्तर रूपमा कृष्ण जन्माष्टमी पर्व विशेष रूपमा मनाइने भएकाले यस क्षेत्रलाई गोकुल धामका रूपमा विकास गरिनुपर्नेमा समेत जोड दिइएको छ । कार्यक्रम सम्पन्न गर्न करिब १६ लाख खर्च लाग्ने बताइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया