मुक्तिनाथको खातामा साढे १० करोड

सुन्दरकुमार थकाली २०८२ साउन ३० गते ९:३७

जोमसोम ।
मुक्तिनाथ विकास समितिको खातामा अहिले १० करोड ३९ लाख ९८ हजार आर्थिक मौज्यात छ । मुक्तिनाथ दर्शन गर्ने भक्तजनले चढाएको दान, रसिद काटेको र नगद भेटी गरी उक्त रकम जम्मा भएको हो ।


मुक्तिनाथ विकास समितिका ५ वटा बैंक तथा वित्तीय संस्थामा ७ वटा बैंक खाता सञ्चालनमा छन् । बर्सेनि मुक्तिनाथ दर्शन गर्न आउने भक्तजनले चढाएको भेटी यहाँको नेपाल बैंक लिमिटेड, प्रभु बैंक, माछापुच्छ्रे बैंक, कृषि विकास बैंक लिमिटेड र सांग्रिला विकास बैंक लिमिटेडमा जम्मा हुने गरेको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।


समितिको बैठकले सार्वजनिक गरेको आर्थिक प्रतिवेदन अनुसार यहाँको नेपाल बैंक लिमिटेडमा १२ लाख १६ हजार ६ सय ४८ रुपैयाँ, प्रभु बैंक लिमिटेडमा ९५ लाख ५९ हजार ८ सय ७३ रुपैयाँ, माछापुच्छ्रे बैंक लिमिटेडको खाता एकमा २ हजार १ सय १९ रुपैयाँ र खाता नं. दुईमा १५ हजार ४ सय ३१ रुपैयाँ छ ।

Advertisement


कृषि विकास बैंक लिमिटेडमा ५ करोड ४५ लाख ६ हजार ७ सय २५ रुपैयाँ, सांग्रिला विकास बैंकको पहिलो खातामा २ लाख ९८ हजार ५९ रुपैयाँ र सोही बैंकको दोस्रो खातामा ३ करोड ८४ लाख रकम रहेको भुसालले उल्लेख गरे । मुक्तिनाथ दर्शन गर्न आउने भारतीय तथा अन्य विदेशी पर्यटकले चढाएको विदेशी मुद्रा मालपोत कार्यायल मुस्ताङ र जिल्ला प्रहरी कार्यालय मुस्ताङमा सुरक्षित रुपमा व्यवस्थापन गरिएको छ ।


यहाँ विदेशी भक्तजनले चढाएको दान, भेटी सहज रुपमा सटही हुन नसक्दा मालपोत कार्यालय र प्रहरीको जिम्मा लगाइएको समितिले जनाएको छ । विदेशी मुद्रा सटही हुन बाँकी रहेकोमा अमेरिकी डलर ९ सय १८, मलेसियन रिङ्केट १ सय ५०, क्यानेडियन डलर १ सय, सिंगापुर डलर १५, अस्ट्रेलियन डलर २ सय र भारतीय मुद्रा १७ लाख १ हजार ५ सय ४८ रुपैयाँ मालपोत कार्यालय मुस्ताङले जिम्मा लिएको छ ।

Advertisement

५ बैंकका ७ खातामा रहेका मौज्दातबाट मन्दिर सञ्चालनसहित विविध पूर्वाधारका काम गर्ने गरिएको छ


सटही हुन नसकेको भारतीय मुद्रा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा जिम्मा लगाइएको समितिले जनाएको छ । मुक्तिनाथ विकास समितिले २०८१÷०८२ मा २२ लाख ६७ हजार ५८२ रुपैयाँ खर्च भएको जनाएको छ । उक्त खर्च कर्मचारीको तलब, कम्प्युटर तथा स्टेसनरी, कर दाखिला लगायत विभिन्न २१ शीर्षकमा भएको समितिले उल्लेख गरेको छ । समितिले २०८१÷०८२ मा भुक्तानी दिन बाँकी २० लाख ६७ हजार ३ सय २१ रुपैया रहेको जनाएको छ ।


समितिले भौतिक व्यवस्थापन र दर्शनार्थीमैत्री पूर्वाधार निर्माणका लागि उक्त बजेट खर्च भएको गरेको हो । मुक्तिनाथ विकास समितिले मुक्तिनाथ क्षेत्र तथा मुक्तिनाथ मन्दिरसँग आवद्ध धार्मिक स्थल एवं दर्शनार्थी मैत्री पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको समितिका अध्यक्ष एवं प्रजिअ भुसालले जानकारी दिए । समितिले सम्बन्धित स्थानीय तहसँग लागत साझेदारी गर्ने गरी आवश्यक बजेट विनियोजन गरेको थियो ।


मन्दिर परिसरमा सञ्चालित स्वास्थ्य सेवालाई थप गुणस्तरीय र भदपर्दो बनाउन, नेपाली सेनाद्वारा मन्दिर जाने सिंढी बाटोनेर बनाइएको हाइ अल्टिच्युड उपचार केन्द्र र रानीपौवा नजिक बनेको अस्पताल भवनमा स्वास्थ्य सेवा सञ्चालन गर्न, मुक्तिनाथ मन्दिरको फोहोरमैला व्यवस्थापन गर्न, कागबेनीधाममा नदी नियन्त्रण तथा श्राद्ध स्थल निर्माण गर्न यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकासँग १ करोड बजेट लागत साझेदारी गर्ने गरी बजेट विनियोजन गरेको समितिका कोषाध्यक्ष एवं वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।


समितिको कार्यक्षेत्र भित्र पर्ने प्रसिद्ध धार्मिक स्थल दामोदरकुण्डमा सुविधायुक्त धर्मशाला र पदमार्गमा आवश्यकता अनुसार धर्मशाला, प्रतीक्षालय लगायतका पूर्वाधार निर्माण गर्न लोघेकर दामोदरकुण्ड गाउँपालिकासँग १ करोड बजेट लागत साझेदारी गर्ने गरी बजेट विनियोजन गरिएको समितिका कोषाध्यक्ष गुरुङले उल्लेख गरे ।


मुक्तिनाथ प्रवेशद्वारबाट रानीपौवा बजार क्षेत्रमा छपनी ढुंगा बिच्छ्याउन वारागुङ मुक्तिक्षेत्र र स्थानीय समुदायसँग लागत साझेदारी गर्ने गरी १ करोड २० लाख बजेट विनियोजन गरिएको छ । समितिले मुक्तिनाथ मन्दिर दर्शन गर्न आउने पर्यटक तथा भक्तजनलाई लक्षित गरी हाइ अल्टिच्युड अर्थात लेक लाग्ने समस्याका कारण मृत्युसमेत हुने गरेकाले यसबाट जोगाउन लेक लाग्ने कारण र सर्तकता अपनाउने उपायबारे जनचेतना जगाउने भएको छ ।


यसका लागि ५ लाख प्रति सूचनामूलक ब्रोसर र केही थान हाडिङ बोर्ड निर्माण गर्ने जनाइएको छ । होडिङ बोर्ड म्याग्दी र मुस्ताङको सीमा घासामा स्थापना गरिनेछ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया