स्वान्तसुखाय प्रतिष्ठानमा बाटाजू

समाधान संवाददाता २०८२ भदौ १ गते १६:५७

पोखरा ।
स्वान्तसुखाय परोपकार प्रतिष्ठान पोखराले आफ्नो स्थापना दिवसको दशौँ वर्ष प्रवेशको पुनित अवसर पारेर संस्थाद्वारा प्रकाशित स्मारिका ‘समर्पण’को विमोचन तथा तेस्रो अधिवेशन गरेको छ ।


अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको छ । अध्यक्ष विष्णु बाटाजू निर्वाचित भएका छन् । राजेन्द्र बाटाजू उपाध्यक्ष, दिलीप शर्मा सचिव, सुशीला प्रधानांग सह–सचिव, डा. हिमलाल गौतम कोषाध्यक्ष लगायत बाबुराम पन्त, श्रीकृष्ण अधिकारी, रीता तिवारी, प्रेमनारायण पोख्रेल, गीता ज्ञवाली र नेत्र ज्ञवाली सदस्य छन् ।


कार्यक्रममा बोल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. भरत खत्रीले सेवा, समर्पण र स्मृति नै मानव जीवनका लागि पूर्ण रहेको बताए । शिक्षासेवी जोर्ज जोनले शिक्षा, परोपकार र मानव जीवनका बिचमा तालमेल मिलेमा मात्र समाज समुन्नत बन्न सक्ने धारणा राख्दै संस्थाको प्रगतिको कामना गरे ।

Advertisement

कार्यक्रमका सभाध्यक्ष प्राडा कृष्णकुमार श्रेष्ठले संस्थाको विगतदेखि वर्तमानसम्मको अवस्था, मोड, चरण र घुम्तीको स्मरण गर्दै हरेक सानो कार्यले समाजमा ठूलो भूमिका खेल्न सक्ने धारणा राखेर पहिलो सत्रको अन्त्य गरी कार्यसमिति भंग भएको घोषणा गरे । कोषाध्यक्ष विष्णु बाटाजूले संस्थाको आर्थिक वर्ष २०८१/२०८२ को आयव्यय विवरण प्रस्तुत गरे । सचिव डा. हिमलाल गौतमले प्रस्तावित तीन धारा विधान परिवर्तन प्रस्तावद्वारा सुरु गरेका थिए ।


स्मारिकामा समाविष्ट पद्मा पौडेलद्वारा रचित ‘परोपकार’ कविताको वाचन सिकाइ केन्द्रका भाइबहिनीहरूले गरेका थिए । ‘समर्पण’ स्मारिकाको विमोचन मञ्चासीन व्यक्तित्वहरूद्वारा सामूहिक रूपमा गरिएको थियो । पुस्तकका विषय र वस्तुमा केन्द्रित रही समीक्षामा जोडिएका यदुनन्दन ढकालले किताबमा रहेका राम्रा पक्षको प्रशंसा गरी केही विषय र प्रसंगमा ध्यान दिन नसकेको जानकारी गराए ।

Advertisement


सम्पादन मण्डलको तर्फबाट भाषिक सम्पादनलाई नजिकबाट नियालेका हरिप्रसाद पौडेलले स्मारिकाले समेटेको विषय क्षेत्र तथा पुस्तक ज्ञानको मात्र नभएर अनुभव र अनुभूतिको संग्रह भएको धारणा व्यक्त गरे । धर्मस्थली आधारभूत विद्यालयमा अध्ययनरत सन्तोषी कला मगरले आफूले रचेको कविता ‘मेरो लक्ष्य’ वाचन गरी सबैलाई प्रभावित बनाएकी थिइन् ।

सहारा आधारभूत विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारीले संस्थाले आफ्नो विद्यालयमा गरेको सहयोगको स्मरण गरी आउने दिनमा संस्थाप्रति सहयोगको अपेक्षा रहेको धारणा व्यक्त गरिन् । कार्यक्रमका बिचमा निश्चल बाँस्तोलाद्वारा डिजाइन गरिएको संस्थाको वेबसाइटको उद्घाटन पनि गरियो ।

तपाईको प्रतिक्रिया