माझठानामा बास्तोला बन्धुको सामूहिक दर

समाधान संवाददाता २०८२ भदौ १ गते १९:३२

गण्डकी । नेपाली नारीहरूको महान् पर्व हरितालिका तिज पछिल्लो समय सामूहिकरूपमा मनाउन थालिएको छ । वेदनाका स्वरहरू गुन्जिने तिज पर्वमा पछिल्लो समय मुलुकमा आएको परिवर्तनसँगै सामूहिक दर खाने र महिला हक अधिकारका बारेमा चर्चा गर्ने प्रचलन बढेको हो ।

पोखरा महानगरपालिका वडा नम्बर २८ पहरेपानीस्थित बास्तोला कुल सेवा समितिको ट्रस्ट भवनमा बन्धु समाजले तिज पर्वको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा जम्मा भएका महिलाहरूले सामूहिक दर खाएर, नाचगान गर्दै पर्व मनाएका थिए ।

कार्यक्रममा आफन्त भएर पनि विवाह गरेर बाहिर गएका, कतिपय बसाइँसराइको कारण लामो समयसम्म भेटघाट नभएका हजुरआमादेखि नातिनीसम्म तीन पुस्ताको जमघट भएको थियो । सो अवसरमा दाजुभाइ मिलेर पुलाउ, सादा भात, पिँडालुको गाभा, तामा, पनीर जस्ता अर्गानिक तरकारीसहित दरमा समावेश गरिएको थियो ।

Advertisement

कुलसेवा समितिका सल्लाहकार एवं सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले तिज पर्वको सबैमा शुभकामना व्यक्त गर्दै सामूहिक तिज मनाउने संस्कार दिदीबहिनीबिच आपसमा भेटघाटको पर्वका रूपमा विकसित भएको बताए । ग्रामीण क्षेत्रमा हुने यस्ता कार्यक्रमले मौलिक र अर्गानिक खानाको स्वाद चखाउनुका साथै आपसमा आत्मीयता अभिवृद्धि हुनेमा उनको जोड थियो ।

कुलसेवा समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सुरेन्द्र बास्तोला र स्थानीय आमा समूहले शब्द र स्वागत गानद्वारा आगन्तुकलाई स्वागत गरेका थिए । कार्यक्रममा पोखरामा विभिन्न पेसा व्यवसायमा संलग्न बास्तोला बन्धु र आफन्तजनको उल्लेखनीय सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया