स्वास्थ्य बीमा सेवाका लागि २६ अस्पतालसँग सम्झौता

समाधान संवाददाता २०८२ भदौ १ गते १९:३९

काठमाडौं । देशभरिका २२ स्थानीय तह तथा २६ अस्पतालसँग स्वास्थ्य बीमा बोर्डले सेवा प्रदान गर्नेबारे सहमति गरेको छ ।

हरेक स्थानीय तहमा कम्तीमा एउटा स्वास्थ्य संस्थालाई पहिलो सेवा बिन्दुका रूपमा उपयोग गर्ने व्यवस्था स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ९ (६) मा उल्लेख छ । ऐनको त्यही प्रावधानलाई आधार मानेर बोर्डले गरेको आह्वानअनुसार स्थानीय तहका स्वास्थ्य निकायसँग यो सम्झौता गरिएको हो । यस किसिमले पहिलो सेवा बिन्दुका रूपमा काम गर्ने गरी बोर्डले सम्झौता गरेको यो पहिलो अवसर हो । यो प्रक्रियालाई स्वास्थ्य बीमा नियमावली, २०७५ बमोजिम कार्यान्वयनमा ल्याइएको हो ।

यो नयाँ सहमतिसँगै बोर्डमा आबद्ध प्रथम सेवा बिन्दुको संख्या ४१७ पुगेको छ भने प्रेषण केन्द्रसहित कुल सेवा प्रदायक स्वास्थ्य संस्था ५०२ भएका छन् । अहिलेसम्ममा पहिलो सेवा बिन्दु कायम भएका स्थानीय तहको जम्मा संख्या ३७६ पुगेको जानकारी छ । बोर्डले यो सम्झौताले गर्दा बीमितहरूले आफ्नै पालिकाका स्वास्थ्य संस्थाबाट सरल तरिकाले उपचार पाउने कुरा निश्चित भएको बताएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया