पोखरामा ७० गाडीको प्रदूषण जाँच्दा ४० फेल

समाधान संवाददाता २०८२ भदौ ३ गते १५:१८

पोखरा ।
पर्यटन राजधानी पोखरामा चल्ने सार्वजनिक सवारी साधनले धुँवाको मुस्लो फाल्ने गरेको गुनासो बढेपछि सोमबार प्रदूषण जाँच गरिएको छ । यातायात व्यवस्था कार्यालय सवारी कास्कीले ७० सार्वजनिक बसको प्रदूषण जाँच गरेकोमा ४० बस मापदण्डविपरीत भेटिएका छन् ।


डिजेलबाट चल्ने ७० गाडीको प्रदूषण जाँच गर्दा ४० वटाले मापदण्ड पूरा गर्न असफल भएको यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख ढाकाप्रसाद शर्माले जानकारी दिए । गाडीको प्रदूषण ‘ओपासिटी’मा नापिन्छ । ओपासिटी १०० मा नेपालमा ६५ प्रतिशतसम्म आउँदा वातावरण अनुकूल मान्ने गरिएको छ ।


हरेक ६ महिनामा सवारी चाँचपास गर्दा प्रदूषण चेकजाँच अनिवार्य गर्नुपर्ने अवस्था भए पनि यातायात व्यवस्था कार्यालय कास्कीमा ठाउँको अभावका चेकजाँच गर्न समस्या हुने गरेको छ । मापदण्डभन्दा बढी प्रदूषण देखिएका सवारी साधनलाई मर्मतसंहार गरी चलाउन निर्देशन दिइएको छ । मर्मतपछि फेरि जाँच गरी मापदण्ड अनुरुप पाइएमात्र नियमित सञ्चालन गर्न दिइने कार्यालय प्रमुख शर्माले बताए ।

Advertisement


गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीसमेत प्रदूषण चेकजाँच निरीक्षण गर्न पुगेका थिए । यातायात मन्त्रालयले सार्वजनिक सवारीको प्रदूषण जाँचलाई निरन्तरता दिन निर्देशन दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया