मुक्तिक्षेत्रमा लुलु गाईपालन

सुन्दरकुमार थकाली २०८२ भदौ ४ गते १०:२६

जोमसोम ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा लुलु गाईपालन फस्टाउँदै गएको छ । यहाँका १९ वटै गाउँका किसानले परम्परागत रुपमा पालन गर्दै आएका लोपोन्मुख लुलु गाई पालन व्यवसायलाई पछ्याइरहेका छन् ।


सबै गाउँमा गाई पालन व्यवसाय फस्टाउन थालेको थालेको वारागुङ मुक्तिक्षेत्र १ का वडाध्यक्ष प्रमेश गुरुङले बताए । गाउँपालिकाले लुलु गाई पालनलाई लोपोन्मुख अवस्थाबाट जोगाउन बर्सेनि बजेट विनियोजन गर्ने गरेको छ । ‘हामी यहाँको लुलु गाईलाई विस्थापित हुने अवस्थाबाट जोगाउन संरक्षण, सम्र्वद्धन र प्रर्वद्धन गर्न लागिपरेका छौं,’ वडाध्यक्ष गुरुङले भने, ‘यसका लागि गाँउपालिकाले वर्षैपिच्छे बजेट छुट्याउने गरेको छ । यसले किसानलाई केही हदसम्म राहत भएको छ ।’


वारागुङ मुक्तिक्षेत्रमा प्रत्येक वडाको गावैपिच्छे लुलु गाई रेखदेख गर्ने गोठालाहरु व्यवस्थापन गरिएको छ । गाउँका सबै घरधुरीका लुलु गाई चरन क्षेत्रमा लैजादै सामूहिक रुपमा गोठालोको व्यवस्था गर्ने गरिएको वडाध्यक्ष गुरुङले बताए । बर्खा यामको गर्मी समयमा चरन क्षेत्रमा घाँस पलाउने भएकाले सबै लुलु गाई जम्मा गरेर दुई÷नीन जना गोठालालाई वार्षिक तलब दिएर खटाउने गरिएको छ ।

Advertisement


हिउँद यामको जाडोमा घरकै गोठमा दानपानी र सुकुटी घाँसा दिएर लुलु गाई पालन गरिन्छ । मुस्ताङसहित मनाङ र डोल्पामा लुलु गाई पाल्ने प्रचलन छ । समुन्द्री सतहको २ हजारदेखि ५ हजार मिटरसम्मको उचाईमा लुलु गाई पालन गरिन्छ । नेपालमा पालन गरिने अन्य गाईको तुलनामा यहाँ पालन गरिने लोपोन्मुख लुलु गाईको कद केही होचो हुन्छ ।

वारागुङ मुक्तिक्षेत्रमा प्रत्येक वडाको गावैपिच्छे लुलु गाई रेखदेख गर्ने गोठालाहरु व्यवस्थापन

Advertisement


यो लोपोन्मुख हिमाली गाईले पारिस्थितिक प्रणालीमा समेत योगदान पु¥याउने जानकारहरु बताउँछन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका १९ वटै गाउँमा १ हजार ९ सय १२ लुलु गाई रहेको गाउँपालिकाका पशु शाखा प्रमुख मुकेश बोहराले जानकारी दिए । वडा नं १ मा ५ सय २८, वडा नं. २ मा १ सय ४७ वटा, वडा नं. ३ मा ४ सय ४८, वडा नं. ४ मा ४ सय १० र वडा नं. ५ मा ३ सय ७९ वटा लुलु गाई छन् ।


गाउँपालिकाले हालै लुुलु गाईको तथ्यांक संकलन गरेको हो । यहाँ सबैभन्दा बढी वडा नं. १ मा लुल गाई पालन भएको देखिन्छ । वडा नम्बर १ अन्तर्गतका खिङ्गा, झारकोट, पुराङ रानीपौवा र लुप्रा गाउँका अधिकांश किसानले लुलु गाई पालेका छन् । यहाँ सबैभन्दा कम छुसाङ, तेताङ, ताङ्वे र समर गाउँमा लुलु गाई छन् ।


पशु शाखा अधिकृत बोहोराले चालु आर्थिक वर्षमा लुुलु गाई संरक्षण कार्यक्रम अन्तर्गत एक लाख बजेट विनियोजन भएको जानकारी दिए । यहाँको वारागुङ मुक्तिक्षेत्रमा लुलु गाई पालनको संख्या बर्सेनि वृद्धि भइरहेको वारागुङ मुक्तिक्षेत्रको पशु शाखाले जनाएको छ । गाउँपालिका र जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले यहाँ लुलु गाई पालन कार्यक्रम अन्तर्गत अनुदान उपलब्ध गराउने हुँदा किसान उत्साहित छन् ।

हिमाली क्षेत्रमा पालन गरिने लुलु गाई मुख्य गरी कृषि प्रयोजनमा केन्द्रित छ । लुलु गाईको मलमूत्र कृषि उत्पादनमा प्रयोग हुने हुन्छ । जिल्लाको थासाङ, घरपझोङ, लोमान्थाङ र लोघेकरमा लुलु गाई पालन वारागुङ मुक्तिक्षेत्रमा भन्दा निकै कम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा लालमणि अर्यालले बताए ।


यहाँ परम्परागत संस्कृतिका रुपमा रहेको लुल गाई पालन छोडेर विकासे जर्सी गाई पालनतर्फ किसान अग्रसर देखिएका छन् । ‘लुलु गाईले सीमित दूध दिने तर जुर्सी गाईले पर्याप्त दूध दिन्छ,’ उनी भन्छन्, ‘यसैले किसान संस्कृति जोगाउनुभन्दा व्यवसायिक फाइदातर्फ अघि बढेकाले यहाँ लुलु गाई पालन संस्कृति लोप हुने अवस्थामा छ ।’ वारागुङ मुक्तिक्षेत्रका स्थानीय रमेश गुरुङले लुलु गाईको दूधबाट किसानले दूधसहित दही, घ्यु र छुर्पी लगायतका परिकार बनाएर बिक्री गर्ने गरेको सुनाए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया