गण्डकीमा धान खेती घट्दो, यस वर्ष ९३ प्रतिशत रोपाइँ सम्पन्न

समाधान संवाददाता २०८२ भदौ ४ गते १३:२२

पोखरा ।

गण्डकी प्रदेशमा यस वर्ष धान रोपाइँ ९३ प्रतिशतभन्दा केही बढी क्षेत्रफलमा सीमित भएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार, बसाइँसराइ, वन्यजन्तुको बढ्दो प्रकोप र मौसमको प्रतिकूलता जस्ता कारणले प्रदेशमा धान खेती गरिने जमिनको क्षेत्रफल क्रमशः घट्दै गएको छ।

Advertisement

यस वर्ष प्रदेशभर कुल ९४ हजार १८२ हेक्टर जमिनमा रोपाइँ हुने अनुमान गरिएकामा हालसम्म ८७ हजार ८०९ हेक्टरमा मात्र रोपाइँ सकिएको छ, जुन कुल अनुमानित क्षेत्रफलको ९३.२३ प्रतिशत हो। मन्त्रालयका सचिव वासुदेव रेग्मीले गत वर्षको तुलनामा यस वर्ष धान खेतीको क्षेत्रफलमा कमी आएको पुष्टि गर्नुभयो।

जिल्लागत तथ्याङ्क हेर्दा रोपाइँको अवस्थामा भिन्नता देखिन्छ। कास्की र स्याङ्जा जस्ता जिल्लाहरूमा लगभग रोपाइँ सकिन लागेको छ भने नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा भने रोपाइँको गति सुस्त देखिएको छ। मन्त्रालयका अनुसार कास्कीमा ९९.५७ प्रतिशत (१६,१५० हेक्टर) र स्याङ्जामा ९९.३१ प्रतिशत (१४,२९० हेक्टर) रोपाइँ भएको छ। तर, नवलपुरमा भने जम्मा ८२.७० प्रतिशत (१५,४८१ हेक्टर) मात्र रोपाइँ सकिएको छ।

Advertisement

अन्य जिल्लाहरूको अवस्था पनि सन्तोषजनक नै छ। बागलुङमा ९६.८१ प्रतिशत, लमजुङमा ९६.७८ प्रतिशत, तनहुँमा ९५.९७ प्रतिशत, म्याग्दीमा ९५.२४ प्रतिशत र पर्वतमा ९४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। गोरखामा भने ८५.०१ प्रतिशत रोपाइँ भएको छ। प्रदेशका ११ जिल्लामध्ये हिमाली जिल्लाहरू मनाङ र मुस्ताङमा भने धान खेती हुँदैन।

धान खेतीको क्षेत्रफलमा आएको यो गिरावट नयाँ भने होइन। गत आर्थिक वर्ष २०८०/८१ मा पनि अघिल्लो वर्षको तुलनामा करिब १,७१६ हेक्टर कम जमिनमा धान लगाइएको थियो। गत वर्ष कुल ९६ हजार ५३ हेक्टरमा रोपाइँ भएकोमा यस वर्ष अहिलेसम्मको रोपाइँको अवस्था हेर्दा करिब ८.५८ प्रतिशतले कमी देखिएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया