गण्डकीमा महिला उद्यमी संघ गठन, प्रदेशभर उद्यमशीलता विस्तार गर्ने प्रतिबद्धता

समाधान संवाददाता २०८२ भदौ ४ गते १३:४०

पोखरा

गण्डकी प्रदेशका महिला उद्यमीहरूलाई संगठित गर्दै उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा महिला उद्यमी संघ, नेपालको प्रदेश शाखा स्थापना भएको छ । सोमबार आयोजित महिला उद्यमीहरूको भेलाले पार्वती पौडेल रेग्मीको नेतृत्वमा महिला उद्यमी संघ गण्डकीको सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

Advertisement

नयाँ कार्यसमितिको उपाध्यक्षमा निर्मला मल्ल, सचिवमा रिता रेग्मी अर्याल र कोषाध्यक्षमा खगिसरा लामिछाने (पुनम) चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा शारदा बराल (सरु), चन्द्रकला राना, भीमा कोईराला, सुकुन रसाईली विक र विनिता अधिकारी रहेका छन् । नेतृत्व सम्हालेसँगै नवनिर्वाचित अध्यक्ष रेग्मीले गण्डकी प्रदेशका सबै जिल्ला, पालिका र टोलसम्म पुगेर महिला उद्यमशीलता विकासका लागि आफ्नो क्षमताले भ्याएसम्म काम गर्ने वाचा गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महिला उद्यमशीलताको विकासका लागि प्रदेश सरकार निजी क्षेत्र, विशेषगरी महिला उद्यमी महासंघसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए । सरकारको भूमिका उद्यमशीलताका लागि सहज वातावरण र नीति निर्माण गर्नु रहेको स्पष्ट पार्दै उनले भने, “सरकारले सहजीकरण गर्ने हो, तर उद्यमशीलताको मुख्य संवाहक निजी क्षेत्र नै हो ।” उनले प्रदेश सरकारले महिला उद्यमीहरूलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र उनीहरूकै आग्रहमा ‘कोशेली घर’ सञ्चालनमा ल्याएको उदाहरण दिए । मुख्यमन्त्री पाण्डेले गण्डकी आउने पर्यटकले यहाँकै उत्पादन कोशेलीको रूपमा लैजाने वातावरण बनाउन सरकारले आगामी दिनमा पनि नीतिगत र कार्यक्रमिक सहयोगलाई निरन्तरता दिने आश्वासन दिए ।

Advertisement

सो अवसरमा महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले महासंघले महिलाहरूको क्षमता अभिवृद्धि, सीप विकासदेखि उत्पादित वस्तुको बजारीकरणसम्मका काममा निरन्तर सहयोग गर्दै आएको जानकारी दिइन् । उनले वार्षिक रूपमा आयोजना गरिने अन्तर्राष्ट्रिय महिला उद्योग व्यापार मेलालाई केवल किनबेचको थलोमा सीमित नराखी अनुभव आदानप्रदान, नेटवर्किङ र सिकाइको मञ्चको रूपमा विकास गरिएको बताइन् । ज्ञवालीले भनिन्, “मेलामा हामी महिला उद्यमशीलताका चुनौती, बजारको माग, उत्पादनको गुणस्तर, वित्तीय पहुँच र जलवायु परिवर्तनले पारेको असर जस्ता गम्भीर विषयमा बहस गरेर समाधान खोज्ने प्रयास गर्छौं ।”

अध्यक्ष ज्ञवालीले पछिल्ला वर्षहरूमा मेलामा विदेशी कूटनीतिज्ञहरूलाई नेपाली भेषभूषामा सजाएर अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिको प्रचार गर्ने जस्ता नवीन प्रयास गरिएको पनि उल्लेख गरिन् । यद्यपि, उनले राष्ट्रिय स्तरमा नीति निर्माणमा सरकारले महासंघसँग सहकार्य गरे पनि प्रदेश र स्थानीय तहमा भने त्यस्तो सहकार्यको अभाव खड्किएको गुनासो गरिन् । उनले भनिन्, “सङ्घीय सरकारले हामीलाई नीतिगत बहसमा बोलाउँछ, तर प्रदेश र जिल्लामा त्यो अभ्यास छैन । अब यसतर्फ पनि ध्यान जाओस् भन्ने हाम्रो आग्रह हो ।”

तपाईको प्रतिक्रिया