कनेक्ट आइपीएसको नाममा ठगी, सचेत रहन टेलिकमको आग्रह

काठमाडौं, ४ भदौ
नेपाल टेलिकमले ‘कनेक्ट आइपीएस’ को खाता बन्द भएको भन्दै आएका झुटा म्यासेज र लिंकहरुबाट सचेत रहन आफ्ना सम्पूर्ण ग्राहकहरुलाई अनुरोध गरेको छ । पछिल्ला केही दिनयता विभिन्न ‘अलर्ट आइडी’ हरुमार्फत ग्राहकको मोबाइलमा ठगी गर्ने उद्देश्यले म्यासेज पठाइएको पाइएपछि टेलिकमले मंगलबार एक प्रेस नोट जारी गर्दै सचेत गराएको हो ।
टेलिकमले उपलब्ध गराएको जानकारी अनुसार, ठगहरुले ग्राहकको मोबाइलमा ‘डियर भ्यालुड कस्टमर, योर कनेक्ट आइपीएस अकाउन्ट ह्याज बिन लक्ड । प्लिज भेरिफाइ (डिफरेन्ट युआरएल एड्रेसेस) टु लगइन एन्ड सेक्युर इट’ व्यहोराको सन्देश पठाइरहेका छन् । यस्तो सन्देशमा विभिन्न शंकास्पद युआरएल ठेगानाहरु राखेर लिंक खोल्न लगाउने र प्रयोगकर्ताको कनेक्ट आइपीएसको युजरनेम र पासवर्ड मागेर ठगी गर्ने गरेको पाइएको टेलिकमले जनाएको छ ।
टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जारी गरेको प्रेस नोटमा त्यसरी ठगी गर्न प्रयोग भएका केही युआरएल ठेगाना समेत सार्वजनिक गरिएको छ । जसमा ‘एचटिटिपिएस://सर्टयुआरएल.एफएम/केसिक्सएक्सकेएच’ र ‘एचटिटिपिएस://सर्टयुआरएल.एफएम/एक्सएमडब्लुएचसिक्स’ जस्ता लिंकहरु छन् । टेलिकमले यस्ता कुनै पनि लिंकहरु नखोल्न र आफ्नो कुनै पनि व्यक्तिगत विवरण तथा पासवर्ड कसैलाई पनि नदिन सबैमा आग्रह गरेको छ ।
कम्पनीले आफ्ना सेवाहरुबारे अद्यावधिक जानकारी लिनका लागि आधिकारिक स्रोतमा मात्र भर पर्न अनुरोध गरेको छ । कम्पनीको आधिकारिक वेबसाइट तथा ब्लु टिकसहितको फेसबुक र एक्स (पहिलेको ट्विटर) लगायतका सामाजिक सञ्जालमा प्रकाशित सूचनालाई मात्र आधार मान्न कम्पनीले सबैमा अनुरोध गरेको छ । अनाधिकारिक स्रोतबाट आएका कुनै पनि सूचना र जानकारीबाट भ्रममा नपर्न र सचेत रहन टेलिकमले आग्रह गरेको छ ।







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया