पर्यटन क्षेत्रमा बाराहीको फड्को: वार्षिक कारोबार ६५ करोड नजिक

समाधान संवाददाता २०८२ भदौ ५ गते १२:२८

पोखरा । सन् १९९२ मा स्थापना भएको चारतारे होटल बाराहीले पर्यटन व्यवसायमा आफूलाई एक अब्बल ब्राण्डको रुपमा स्थापित गरेको छ। पोखरामा १०२ र काठमाडौंको ठमेलमा १०० कोठासहित सञ्चालनमा रहेको यो होटलले चितवनमा समेत आफ्नो सेवा विस्तार गरिसकेको छ।

Advertisement

पछिल्ला केही वर्षमा होटलको आम्दानीमा उल्लेख्य वृद्धि देखिएको छ। आर्थिक वर्ष २०२१ मा केवल एक करोड ७० लाख रुपैयाँको व्यापार गरेको बाराहीले त्यसपछिका वर्षहरूमा तीव्र गतिमा फड्को मारेको हो। तथ्यांकअनुसार, आव २०२२ मा ११ करोड ७० लाख, आव २०२३ मा २२ करोड ९० लाख र आव २०२४ मा ५३ करोड ९० लाख रुपैयाँको कारोबार गर्न होटल सफल भयो। यो वृद्धि यात्रालाई निरन्तरता दिँदै होटलले चालू आर्थिक वर्ष २०२४/२५ मा आफ्नो व्यापार ६५ करोड रुपैयाँ पुर्‍याएको छ, जुन आफैँमा एक महत्वपूर्ण उपलब्धि हो।

होटलको यो वित्तीय सफलताको पछाडि यसको उत्कृष्ट सञ्चालन पक्ष पनि जोडिएको छ। सन् २०२४ मा ७८ प्रतिशत रहेको होटलको अकुपेन्सी दर सन् २०२५ मा पनि ७५ प्रतिशतको हाराहारीमा छ। विशेषगरी, कोठा भाडाबाट हुने आम्दानीले होटलको कुल आयमा बलियो टेवा पुर्‍याएको छ। एकै वर्षमा कोठा भाडाबाट हुने आय ३१ प्रतिशतले बढेको छ भने यसले होटलको कुल आम्दानीको करिब ४१ प्रतिशत हिस्सा ओगटेको छ।

Advertisement

आफ्नो बढ्दो व्यापार र बलियो वित्तीय अवस्थाकै कारण होटलले बैंकिङ कर्जाका लागि राम्रो रेटिङ प्राप्त गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले होटलका लागि कुल एक अर्ब ३२ करोड रुपैयाँको कर्जा सीमा स्वीकृत गरेको छ। यसअन्तर्गत, एक अर्ब २९ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘एनबिबि माइनस’ र तीन करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि ‘एफोर’ रेटिङ प्रदान गरिएको छ। इक्रा नेपालका अनुसार यो रेटिङले होटल आफ्नो वित्तीय दायित्व समयमै भुक्तानी गर्न सक्षम रहेको संकेत गर्दछ।

होटल बाराहीको अध्यक्षता हरिप्रसाद पौडेलले सम्हालेका छन्। यसमा मुख्य लगानी पौडेल परिवारको रहेको छ भने बाराही हाउजिङ एन्ड लिजिङको पनि १० प्रतिशत सेयर स्वामित्व रहेको छ।

Advertisement

तपाईको प्रतिक्रिया