स्वस्थ र मेधावी पुस्ता निर्माणको लक्ष्य: ‘स्वर्ण प्राशन’ राष्ट्रिय अभियानको सुरुवात

समाधान संवाददाता २०८२ भदौ ५ गते १२:३४

पोखरा ।

नेपालमा बालबालिकाको बौद्धिक तथा शारीरिक विकासलाई टेवा पुर्‍याउँदै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘राष्ट्रिय स्वर्णबिन्दु प्राशन’ अभियानको राष्ट्रिय स्तरमा सुरुवात गरिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको धनगढीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा आयोजित एक कार्यक्रममा बालबालिकालाई स्वर्ण प्राशन खुवाएर यस महत्वपूर्ण अभियानको शुभारम्भ गर्नुभयो।

के हो स्वर्ण प्राशन?

Advertisement

‘स्वर्ण बिन्दु प्राशन’ हजारौं वर्ष पुरानो आयुर्वेदिक चिकित्सा पद्धतिको एक महत्वपूर्ण विधि हो, जसको वर्णन करिब पाँच हजार वर्ष पुरानो ग्रन्थ ‘काश्यप संहिता’मा पाइन्छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार, यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई एक वैज्ञानिक आधारमा टिकेको छ।

यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो र सन्तुलित बनाउँछ। त्यसैगरी, मस्तिष्कको क्षमता बढाउने जडीबुटी ‘ब्राह्मी’ युक्त घिउले स्नायु कोषको रक्षा गर्दै स्मरण शक्ति तेजिलो बनाउन मद्दत गर्छ। प्राकृतिक जीवाणुरोधी गुण भएको शुद्ध महले बालबालिकालाई विभिन्न संक्रमणबाट जोगाउँछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख डा. पुष्पराज पौडेलले पनि यसको वैज्ञानिक पक्ष रहेको पुष्टि गर्नुभयो।

Advertisement

सरकारको प्राथमिकता: रोग लाग्नुभन्दा रोकथाम

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकारको प्राथमिकता रोग लागेपछिको उपचारभन्दा रोग लाग्नै नदिने स्वास्थ्य प्रणालीको विकास गर्नु रहेको बताउनुभयो। ‘स्वर्ण बिन्दु प्राशन हाम्रो हजारौं वर्ष पुरानो आयुर्वेद विज्ञानमा रहेको ज्ञान हो। यसलाई आधुनिक विज्ञान र जनस्वास्थ्यसँग जोड्न सक्यौं भने स्वस्थ र मेधावी पुस्ता निर्माण गर्ने हाम्रो अभियानमा यसले सहयोग पुर्‍याउनेछ,’ उहाँले भन्नुभयो, ‘हाम्रा बालबालिकालाई शारीरिक र बौद्धिक रूपमा अब्बल बनाउन स्वास्थ्य मन्त्रालयले निरन्तर कार्य गर्नेछ। आगामी पुस्ता निरोगी पुस्ता तयार पार्ने लक्ष्यअनुरुप प्रवर्द्धनात्मक र निरोधात्मक स्वास्थ्य प्रणालीको विकासका लागि आयुर्वेद क्षेत्रसँग जोडिएका यस्ता कार्यक्रमलाई देशैभर प्रभावकारी रूपमा सञ्चालन गरिनेछ।’

विश्वव्यापी अभ्यास र नेपालको कदम

परम्परागत चिकित्सालाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने अभ्यास विश्वभर बढ्दो छ। विश्व स्वास्थ्य संगठन (WHO) ले समेत आफ्नो ‘ट्रेडिसनल मेडिसिन स्ट्राटेजी २०१४/२०२३’ मार्फत प्रमाणमा आधारित परम्परागत उपचार विधिलाई राष्ट्रिय नीतिमा समावेश गर्न सदस्य राष्ट्रहरूलाई प्रोत्साहित गर्दै आएको छ।

छिमेकी देश भारतमा ‘स्वर्ण प्राशन संस्कार’ लाई राष्ट्रिय अभियानकै रूपमा वर्षौंदेखि सञ्चालन गरिँदै आएको छ, जहाँ सरकारी स्वास्थ्य केन्द्रहरूबाट यो निःशुल्क उपलब्ध हुन्छ। चीन, जर्मनी र अष्ट्रेलियाजस्ता विकसित मुलुकहरूमा पनि आयुर्वेदिक र परम्परागत चिकित्सामाथि वैज्ञानिक अनुसन्धान बढ्दै गएको छ र यसलाई पूरक स्वास्थ्य सेवाको रूपमा स्वीकार गरिएको छ।

यही विश्वव्यापी अभ्यासलाई पछ्याउँदै नेपालले पनि यस कार्यक्रमलाई व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गर्न ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका, २०८२’ स्वीकृत गरिसकेको छ। उक्त निर्देशिकाले मिश्रण तयार पार्ने विधि, मात्रा, गुणस्तर, भण्डारण र स्वास्थ्यकर्मीको भूमिकाबारे स्पष्ट पारेको डा. यादवले जानकारी दिनुभयो।

आयुर्वेद क्षेत्रमा मन्त्री पौडेलको पहल

मन्त्री पौडेलले आयुर्वेद क्षेत्रको विकासका लागि यसअघि पनि विभिन्न नीतिगत र संरचनागत सुधारको नेतृत्व गर्दै आउनुभएको छ। उहाँको अग्रसरतामा ‘राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति २०८१/२०९१’ स्वीकृत हुनु, सिंहदरबार वैद्यखानाको पुनर्संरचनाका लागि पञ्चवर्षीय रणनीतिक योजना ल्याइनु, स्वदेशी औषधी उत्पादन र निर्यात प्रवर्द्धनका लागि ‘औषधीको कुशल उत्पादन अभ्यास संहिता’ मा संशोधन गरिनुजस्ता कार्यहरू भएका छन्। साथै, बूढानीलकण्ठस्थित ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र’ मार्फत विशिष्टिकृत सेवा सञ्चालन र आयुर्वेदमा नयाँ जनशक्ति व्यवस्थापनका लागि नियमावली संशोधनजस्ता कार्यहरू पनि अघि बढेका छन्।

यो राष्ट्रिय अभियानले नेपालको परम्परागत चिकित्सालाई राष्ट्रिय स्वास्थ्य प्रणालीसँग जोड्दै नागरिकहरूलाई वैकल्पिक उपचार विधिमा पहुँच विस्तार गर्ने सरकारी नीतिलाई थप बल पुर्‍याउने विश्वास मन्त्रालयले लिएको छ।

तपाईको प्रतिक्रिया