लेखनाथ उद्योग वाणिज्य संघ चुनावका लागि राजेन्द्र समूहको प्रतिवद्धता पत्र सार्वजनिक

समाधान संवाददाता २०८२ भदौ ६ गते १२:१८

पोखरा ।

लेखनाथ उद्योग वाणिज्य संघको २९ औं साधारणसभा तथा १५ औं अधिवेशनमा राजेन्द्र ओझा समूहमा आबद्ध उम्मेद्वार र प्रतिबद्धतापत्र बिहीबार सार्वजनिक गरिएको छ । संघको यही भदौ २० र २१ गते हुने निर्वाचनलाई केन्द्रित गरी प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो ।

संघका वर्तमान वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका उम्मेद्वार ओझाले समूहको बुँदे ५ प्रतिबद्धता र ६ विशेष योजना सार्वजनिक गरे । उनले स्थानीय उत्पादन प्रवद्र्धन र बजार विस्तार, कृषि, पर्यटन प्रबद्र्धनमामार्फत लेखनाथलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउन योगदान दिने सुनाए । ओझाले स्थानीय कृषिका उत्पादन, हस्तकला र घरलु तथा साना उद्योगबाट उत्पादित सामग्रीको प्रत्यक्ष बिक्री, डिजिटल भुक्तानी र गुणस्तरीय बजार पूर्वाधार विकासमा ध्यान दिने योजना सुनाए ।

Advertisement

‘उद्योगी, व्यवसायीका समस्या समाधान गर्नुका साथै डिजिटल साक्षरता र प्रविधिमैत्री व्यवसायिक वातारण निर्माणमा ध्यान दिइनेछ,’ उनले भने, ‘व्यवसाय सहयोग कक्ष र समस्या समाधानका लागि हेल्प डेस्क स्थापनाका अलवा अत्याधुनिक प्रविधिमैत्री उद्योग वाणिज्य संघ बनाइनेछ ।’ उनले सबै उद्योगी, व्यवसायीको डिजिटल प्रोफाइल, नेटवर्किङ प्लेटफर्म, अनलाइन रजिष्ट्रेसन र ई–पेमेन्ट सजिलै उपलब्ध गराउने वाचा गरे ।

संघका वर्तनमा प्रथम उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार उपेन्द्रराज सुवेदी (राजु)ले अनुभवी र योग्य ओझाको समूह ‘धैर्यता, निरन्तरता, क्रमागत, उद्यमशीलता, विधिको नेतृत्व हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ चुनावी अभियानमा होमिएको जनाए । उनले हरेक वर्ष हुने महोत्सवलाई अबदेखि १ कार्यकाल १ ऐतिहासिक महोत्सव गर्ने प्रस्ताव गरे ।

Advertisement

सुवेदीले महोत्सव गर्दा लेखनाथको व्यवसायलाई प्राथमिकता, स्थानीय उत्पादनको प्रबद्र्धन र व्यवसाय प्रवद्र्धनमुखी कार्यक्रम गर्ने योजना सुनाए । पहिले भएका छुटसम्बन्धी सम्झौतालाई निरन्तरता दिने जानकारी दिँदै उनले आगामी कार्यकालमा बिमा, यातायात, होटल, शिक्षा, स्वास्थ्य र व्यवसायसम्बन्धी थप सम्झौता गर्ने स्पष्ट पारे ।

संघका महासचिवका उम्मेद्वार जीवन तिवारीले डिजिटल/वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत संघमा आबद्धमा व्यवसायीलाई ई–कमर्स, अनलाइन बैकिङ, कर तथा राजस्व डिजिटल प्रणालीमा दक्षता बनाइने बताए । उनले रुपा र मादी गाउँपालिकासँग सहकार्य गरी स्थानीय उत्पादन, पर्यटन, र होम स्टे प्रबद्र्धनमा ध्यान दिने जनाए । तिवारीले संघको स्थापना दिवस (असार २०)लाई व्यवसायीको उत्सवको रुपमा मनाउँदै उत्कृष्ट व्यवसायी सम्मान, प्रेरणादायी सत्रको आयोजना गर्ने योजना सुनाए ।

संघका पूर्वअध्यक्ष बलराम ढकालले सामूहिक नेतृत्व र संस्थागत विकासमा काम गर्न सुझाव दिए । उनले आर्थिक संकटका कारण उद्योगी, व्यवसायीको गिरेको मनोबल उकास्ने योजना आवश्यक भएको औंल्याए ।

लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र महासचिव जानुका पराजुली अधिकारी प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । दुबै समूहले मतदाता भेटघाटलाई तीव्रता दिएका छन् । ‘उद्योग व्यवसायको बलियो आधार, सक्षम नेतृत्व, खुल्लापन, नवप्रवद्र्धन, र व्यावसायिक व्यवहार’ भन्ने नाराका साथ ओझाको समूहले चुनाव केन्द्रित अभियान गरेको छ ।

महासचिव अधिकारीको समूह स्थानीय उत्पादन (जेठोबुढा चामल, मह कफी, उखु)को प्याकेजिङ, ब्रान्डिङ र बजारीकरण गर्ने योजनाका साथ चुनावी अभियानमा होमिएको छ । ‘इमान्दारिता, पारदर्शिता र लगनशीलता व्यवसायिक क्षेत्रमा सक्षम नेतृत्व आजको आवश्यकता’ भन्ने नाराका साथ सो समूहले लेखनाथका साना, ठूला उद्योगी, व्यवसायीको हक हितमा आवाज उठाउनुका साथै निजी क्षेत्रको नीतिगत सुधारमा ध्यान दिने योजना सार्वजनिक गरेको छ ।

बेगनास लगायतका ७ तालमा पर्यटनको आकर्षण गराउन सक्ने खालका गतिविधि गर्न ३ तहका सरकारसँग समन्वय र सहकार्य गर्नुका साथै धर्म, संस्कृतिको संरक्षण र जगेर्नाका लागि बाराह मन्दिर लगायतका धार्मिक क्षेत्रमा धार्मिक पर्यटन भिœयाउने खालका गतिविधि गर्ने भएको छ ।

पोखरा महानगरपालिका (साविक लेखनाथ)का ८ वडा र कास्कीका रुपा र मादी गाउँपालिका लेखनाथ उद्योग वाणिज्य संघको कार्यक्षेत्रमा पर्छन् । लेखनाथ उद्योग वाणिज्य संघमा २ हजार १९ मतदाता छन् ।

तपाईको प्रतिक्रिया